Comments Add Comment

‘शुक्रराज बुबा’ भर्सेस ‘जगतबाबु’: हार्दिक सम्बन्ध, शालीन प्रचार

शुक्रराज शर्मा (बायाँ) र जगत विश्वकर्मा ।

१५ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई टक्कर दिन वाम गठबन्धनले एमाले नेता जगत विश्वकर्मालाई उभ्याएको छ । ७२ वर्षीय शुक्रराज र ४३ वर्षीय जगतको उमेर अन्तर मात्र पनि २९ वर्ष छ । तर, प्रतिस्पर्धा रोचक छ ।

अधिकांश क्षेत्रमा दलका उम्मेदवारहरु एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिँदा शुक्रराज र जगत भने शालीनता प्रकट गरिरहेका छन् ।

एकअर्कालाई गाली नगरी दुवै उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । बरु शुक्रराज आफ्ना प्रतिस्पर्धीलाई ‘जगतबाबु’ भनेर छोराका रुपमा सम्बोधन गर्छन् भने जगतले शुक्रराजलाई ‘शुक्रराज बुबा’ भन्ने गरेका छन् ।

शुक्रराज शर्माले कास्की कांग्रेसको १७ वर्ष नेतृत्व गरे । कास्कीमा कांग्रेस भनेकै शुक्रराज शर्मा र शुक्रराज भनेकै कास्की कांग्रेसको पर्याय थियो, त्यो बेला । उनलाई कांग्रेस नेता कार्यकर्तामा मात्र होइन, बाहिर पनि ‘काका’ भनेर परिचित छन् ।

कास्की कांग्रेसलाई भवन, जग्गा जोडेर धनी बनाएका शुक्रराज कास्कीमा सधैं प्रभावशाली नेताका रुपमा रहे ।

तर, संसदीय चुनावमा भने कहिल्यै सफल भएनन् । उनले ०४८ र ०५१ कास्कीको तत्कालीन क्षेत्र नम्बर २ मा टिकट पाएका थिए तर, जित हासिल गर्न सकेनन् ।

७२ वर्षीय शुक्रराजलाई यो पटक कांग्रेसले कास्की ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

उनका प्रतिस्पर्धी एमाले वैकल्पिक पोलिटब्युरो सदस्य विश्वकर्मा युवा नेता हुन् । विद्यार्थी आन्दोलनबाट आएका उनी ०५४ सालमा लामाचौर गाविस उपाध्यक्ष चुनिएका थिए ।

एमाले प्रदेश ४ का सचिव समेत रहेका जगत शालीन र मिठो बोल्ने नेताको रुपमा परिचित छन् । दलित मुक्ति तथा अधिकारको आन्दोलनमा लागेका जगतलाई कांग्रेसका दलित परिवारबाट समेत सहानुभूतिको भोट प्राप्त हुन सक्ने चर्चा छ । त्यसैले कास्की ३ को चुनावमा बुबाको उमेरका शुक्रराज र छोरा जस्ता जगत विश्वकर्माबीच शालीन तर, कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

जीत हासिल गर्ने आ-आफ्नै दाबी

विकास र समृद्धिका लागि मतदाताले आफूलाई जिताउने दुवै उम्मेदवारको दाबी छ ।

दुबै उम्मेदवारको विकासे एजेन्डा पनि मिल्दाजुल्दा छन् । पर्यटन, कृषि, प्रविधि, जलविद्युत, सडक सञ्जाललाई दुवै उम्मेदवारले साझा एजेन्डा बनाएका छन्

‘व्यक्तिगत रुपमा जगत बाबुप्रति श्रद्धा छ । एक किसिमको माया छ । तर, अहिलेको अवस्थामा यो क्षेत्र नं. ३ मा शुक्रराजको आवश्यकता छ भनेर उहाँले आफ्नो भोट त मलाई दिन सक्नुहुन्न, आफैलाई हाल्नुपर्छ,’ कांग्रेस उम्मेदवार शर्मा भन्छन्, ‘मलाई भोट हाल्दा यो क्षेत्रका जनता र भावनाको अन्याय हुन्छ कि भन्ने भावनाका साथ भोट आफैलाई हाल्नुहोला । तर, अहिलेको आवश्यकता शुक्रराजको हो भन्ने जनताको मनमा मात्रै होइन, उहाँको मनमा पनि छ ।’

एमाले उम्मेदवार जगत विश्वकर्माले पनि शर्माप्रति सदभाव भए पनि जनताले आफूलाई जिताउने दाबी गरे । ‘कांग्रेस नेता शुक्रराज शर्माप्रति मेरो सदभाव छ । उहाँ मेरो अग्रज हुनुहुन्छ,’ उनले भने, ‘व्यक्तिको योगदानलाई सम्मान गर्दै दोसल्ला, तक्मा दिन सकिन्छ । तर, गाउँठाउँका चुनौतीको सामना गर्ने सामर्थ्य र क्षमता, भिजन भएको व्यक्तिलाई मत दिएर चुनाव जिताउनुपर्ने भएकाले हाम्रो भोट तपाईंलाई भयो भनेर मतदाताले भनेका छन् ।’

दुबै उम्मेदवारको विकासे एजेन्डा पनि मिल्दाजुल्दा छन् । पर्यटन, कृषि, प्रविधि, जलविद्युत, सडक सञ्जाललाई दुवै उम्मेदवारले साझा एजेन्डा बनाएका छन् । कास्की क्षेत्र नम्बर ३ विकट रहेको र त्यहाँको प्रचुर सम्भावनालाई विकासमा अगाडि बढाउन आफैंले जित्नुपर्ने दुवै नेताको दाबी छ ।

‘५२ वर्षदेखि त्यो क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छु । जनताहरु जुनसुकै पार्टीका, जुनसुकै धर्मका, जुनसुकै जातका भए पनि मैले सबैलाई कुनै न कुनै प्रकारले सेवा पुर्‍याउँदै आएको छु,’ शर्माले भने, ‘जनताकै सेवा गरेको, जेलनेल खाएको जनताले देखेका छन् । यसलाई केही हैसियत दिन पाए हामीले बढीभन्दा बढी सेवा पाउँथ्यौं, विकास हुन्थ्यो भन्ने जनताको भावना छ ।’

एकपटक जनप्रतिनिधि पनि भएर काम गरेको, सामाजिक तथा राजनीतिक अधिकारको लडाईं लडेको, विकास नेतृत्व गरेको युवाका कारण पनि मतदाताले आफूलाई जिताउने दाबी जगतको छ । ‘गाउँठाउँको विकास निर्माणको काममा सधैं अगुवाइ र नेतृत्व गरेका हिसाबले, जनताको बीचमा रहेर सुखदुःखमा रहेका हिसाबले पनि मलाई विजयी गराउनुहुनेछ,’ उनी भन्छन्, ‘समृद्धिको महाअभियानमा कास्की क्षेत्र नम्बर ३ बाट मलाई नै जिताउनेछन् ।’

हिमालदेखि तालसम्मको कठिन प्रतिस्पर्धा

यो निर्वाचन क्षेत्रमा कास्कीको उत्तरी र पश्चिमी भेक अर्थात हिमालदेखि फेवातालसम्म जोडिएको छ । अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा लेखनाथ महानगरपालिकाका ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।

स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो । तर, गाउँपालिकामा प्राप्त कुल मत चाहिँमा १ सय १३ मतले एमाले अगाडि छ । माछापुच्छ्रे गाउँपालिकामा सबै एमालेले कब्जा जमाएको थियो । यो गाउँपालिकामा १ हजार १ सय ३० मतले एमाले अगाडि छ ।

पोखरा लेखनाथ महानगपालिकाका ११ वडा समेटिएको सो क्षेत्रका ७ वटा वडामा एमाले र ४ वटामा कांग्रेसले जितेको थियो । ती वडाबाट एमाले १३ हजार ७ सय ३१ र कांग्रेसले १२ हजार ४ सय ५६ मत प्राप्त गरेका छन् ।

एमालेसँगै माओवादीले पनि प्राप्त गरेको मत जोड्दा वाम गठबन्धन धेरै अगाडि देखिन्छ । तर, दुबै उम्मेदवारका लागि सहज छैन । शुक्रराज पुराना, प्रभावशाली र जनतामाझ भिजेका उम्मेदवार हुन् भने जगत पनि युवा पुस्तामा लोकप्रिय छन् ।

पछिल्लो पटक थपिएका समेत गरी कास्की ३ मा ८८ हजार ७१७ मतदाता छन् । नयाँ मतदातालाई कसले बढी रिझाउन सक्छ, वाम र कांग्रेस बाहेकका मतदाताको मत जसले बढी तान्न सक्छ, त्यसले जित निर्धारण गर्नेछ । यो क्षेत्रमा नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा उम्मेदवार उठाएको छ भने विवेकशील साझा पार्टीका पनि यहाँ उम्मेदवार छन् ।

शर्माको अन्तिम अवसर

यो क्षेत्रको प्रतिस्पर्धा अर्को हिसाबले पनि रोचक छ । कांग्रेस उम्मेदवार शुक्रराज शर्मा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । ०४८ र ०५१ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट टिकट दिएर कांग्रेसले शर्मालाई मैदान उतारेको थियो । दुवै पटक एमाले तुलबहादुर गुरुङसँग पराजित भए ।

०५६ मा कांग्रेसले महादेव गुरुङलाई टिकट दिएको थियो । उनले सांसद पद मात्र जितेनन्, राज्यमन्त्री पनि बने । पहिलो र दोस्रो संविधानसभामा चुनावी मैदानमा नरहेका शर्माका लागि यो चुनाव अन्तिम अवसर पनि हुनेवाला छ । यसपटक पनि हारे उनले फेरि टिकट पाउने सम्भावना छैन भने उमेरका कारण पनि सक्रिय राजनीति गर्ने अवस्था नरहन सक्छ ।

जगत भने आफ्नो राजनीतिक सिँढी चढ्न चाहन्छन् । एमाले-माओवादी एक भएर चुनावी मैदानमा होमिएका बेला, आफ्नो शान र साख जोगाउनै पर्ने दबाव उनीमाथि छ ।

प्रदेशसभातर्फ ‘क’मा वाम गठबन्धनबाट माओवादी कास्की सहइञ्चार्ज रामजी बराल र कांग्रेस नेतृ तथा तथा पूर्वसांसद शारदा पौडेलबीच प्रतिस्पर्धा हुँदैछ भने ‘ख’मा वाम गठबन्धनका तर्फबाट युवा संघ अध्यक्ष राजीव पहारी र कांग्रेसका भोजबहादुर गुरुङ चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment