Comments Add Comment

पहाडे समुदाय र एमालेको मतले चुनाव जित्छुः राजकिशोर यादव

'जनताले नायकलाई यसपालि खलनायक बनाउँछन्'

१६ मंसिर, मिर्चैया (सिरहा) । धनुषाको गणेशमान चारनाथ गाउँपालिकाको सीमाना सकिनासाथ सिरहाको बन्दीपुरमा छाता चुनाव चिन्हअंकित झण्डाहरु फहराइरहेका थिए । पहाडे समुदायको उल्लेख्य बसोबास रहेको बन्दीपुरमा मधेसवादी दल राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको प्रभाव सहजरुपमा देख्न सकिन्थ्यो ।

बन्दीपुर र कर्जन्हा कटेर मिर्चैया पुग्दा त्यहाँको चोकमै भेटिए पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका सिरहा ४ का उम्मदेवार राजकिशोर यादव ।

माओवादी अध्यक्ष प्रचण्डले ०७० सालमा यो क्षेत्रबाट चुनाव जित्दा तत्कालीन फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर अर्को क्षेत्रबाट पराजित भएका थिए । यसपटक राजपाको शीर्षनेताका हैसियतमा उनले प्रचण्डले छाडेको क्षेत्रलाई नै रोजेर खतरा मोलेको चर्चा पनि भइरहेको छ । तर, यादव भने आफ्नो जितप्रति बढी नै विश्वस्त देखिए ।

राजकिशोरको प्रतिस्पर्धा वामपन्थी गठबन्धनका माओवादी उम्मेदवार अजयशंकर नायकसँग हुँदैछ, नायक पूर्वकानुनमन्त्री हुन् ।

राजकिशोरका समर्थकहरुले चुनाव जित्नका लागि अजयशंकर नायकका जनयुद्धकालीन क्रियाकलापलाई बढी नै उछालिरहेको भेटियो ।

राजकिशोर र अजयको उम्मेदवारीपछि सिरहा ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । पछिल्लोपटक बिहीवार मिर्चैैयाका व्यवसायीले आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रियामा माओवादी नेता नायकले आयोजकमध्येका एक सदस्यलाई गोलीले शरीर भरिदिने धम्की दिएको चर्चा शुक्रबार बिहानैदेखि बजारमा चलेको रहेछ । राजकिशोरका समर्थकले नायकको त्यही धम्कीलाई चुनावी मसलाका रुपमा प्रचार गर्न थालेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेस प्रतिस्पर्धामा धेरै पछाडि देखिन्छ । कांग्रेसका केही स्थानीय नेताहरुसमेत आफ्नो प्रचारमा लागेपछि उत्साहित भएका राजकिशोरले अनलाइनखरकर्मीसँगको कुराकानीको अधिकांश समय माओवादी र अजयशंकर नायकको आलोचनमा खर्च गरे । उनी एमाले र पहाडे समुदायका मतदातालाई आफूतिर तान्ने प्रयासमा लागेको कुराकानीका क्रममा सहजै अञ्दाज लगाउन सकिन्थ्यो ।

मिर्चैया चोकमा भेटिएका यादवसँग हामीले माओवादी गढमा उनको उम्मेदवारीको रहस्यबाट कुराकानी शुरु गर्‍यौं ।

प्रचण्डले चुनाव जितेको क्षेत्र, माओवादीको गढमा तपाईले उम्मेदवारी दिनुको रहस्य के हो ?

प्रचण्डजीको क्षेत्र भएर मलाई सजिलो भएको छ । प्रचण्डजीले जसरी जनतालाई सपना देखाएर भोट बटुलेर जानुभयो, त्यसपछि फर्किनुभएन, प्रचण्ड र माओवादीबाट ठगिएको महसुस जनताले गर्दैछन् । जनतालाई माओवादीप्रति वितृष्णा जागेको छ । यो क्षेत्रबाट दुईपटक माओवादीले जनताको मत पाएर जितेको हो । तर, जितेका मान्छेले केही गरेनन् । त्यसैले मलाई सजिलो भएको छ ।

तपाईले यही क्षेत्र रोज्नुको कारण चाहिँ के हो ?

यो मैले चुनौति मोलेकै हो । मेरो सबैभन्दा ठूलो विश्वास जनताप्रति नै हो । वास्तवमा यहाँका जनतामा एकप्रकारको त्रास फैलाएर, डरधम्की देखाएर माओवादीले बर्चश्व कायम गरेको थियो । यो क्षेत्रमा राम्रो मान्छे उम्मेदार होस् भन्ने जनताको चाहना थियो । त्यसैले यसपटक जनताले नै चाहेर म उम्मेदवार भएको हुँ ।

तर, तपाईलाई चुनौती त छ नि हैन र यहाँ ?

मेरो बानी नै चुनौति मोल्ने हो । म नेता हुँ । मेरा कार्यकर्ताको मनोबल उच्च राख्न पनि अरु जिल्ला वा क्षेत्र रोजेको भए कार्यकर्ता निराश हुने थिए । तर, म आएपछि उत्साह छाएको छ ।

भर्खरै सम्पन्न स्थानीय चुनावको मत जोड्ने हो भने वामपन्थी गठबन्धन धेरै बलियो देखिन्छ, तपाई कसरी चुनाव जित्ने दाबी गर्नुहुन्छ ?

यसको प्रमुख कारण मेरो व्यक्तित्व र मेरो प्रतिस्पर्धी अजयशंकर नायकको व्यक्तित्वको तुलना नै हो । जनताले मलाई कसरी हेर्छन् र उनलाई कसरी हेर्छन् भन्ने कुरा तपाई यसो आफैं बुझ्नुस् । डर र त्रासमा पारेर राजनीति सधैं चल्दैन । यसपटक नायकलाई जनताले खलनायकका रुपमा लिएका छन् ।

स्थानीय चुनावका बेला स्थानीय एजेण्डामा मतदान हुन्छ । अहिले भनेको राष्ट्रिय एजेण्डामा राष्ट्रिय व्यक्तित्व चुनाव लडेको अवस्था छ । हो, मैले नोमिनेशन गर्ने विहानसम्म पनि यहाँ वामपन्थी गठबन्धन धेरै बलियो थियो । तर, जुन दिन मेरो नोमिनेशन पर्‍यो, मलाई यो ठाउँबाट धेरै राम्रो रेस्पोन्स आएको छ ।

विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ता, समाजसेवी, उद्योगी व्यवसायी सबैले मलाई आफैंले फोन गरेर, भेटेर सघाउने बचन दिएका छन् । म साँच्चिकै उत्साहित भएको छु । मेरो प्रतिद्वन्द्वीले विगतमा गरेको गल्तीको सजायँ यसपटक जनताबाट पाउनेछन् ।

अजयशंकर नायकले विगतमा केके गरे, त्यसको एक-एक हिसाब त यसपटक जनताले लिनेवाला छन् । मैले त यो क्षेत्रमा कसैको केही बिगारेको छैन ।

अजयशंकरले चाहिँ के बिगारेका छन् त ?

तपाई आफैं यहाँका जनतालाई सोध्नुस् । वितगमा उनले के के गरे ? यहाँ महिलाहरु बिधवा बनाइएका छन् । मान्छेहरु त्रासमा बाँचेका छन् ।

खासगरी कर्जन्हा र मिर्चैया नगरपालिकाका जनताले माओवादीबाट मुक्ति चाहेका छन् । गुण्डागर्दी, डर धम्कीको राजनीतिबाट मुक्ति खोजेका छन्, त्यसका लागि म यसपटक यहाँबाट उम्मेदवार भएको हुँ । विगतमा भएका सबै अन्याय अत्याचारको बदला लिने गरी जनता तयार भएका छन् ।

तपाईले जनतालाई सोध्नुस् उहाँले के-के गर्नुभयो विगतमा जनतामाथि । नेतृत्वमा हुनुपर्ने गुण सर्वदा अभाव छ । विगतमा पनि, अहिले पनि जनताको मन जित्ने भन्दा पनि डर धम्की दिने उहाँको शैली फेरिएको छैन । हिजैमात्र पनि एउटा सार्वजनिक कार्यक्रममा उहाँले एक जनालाई गोलीले उडाइदिने धम्की दिनुभयो, यस्तो व्यक्ति नायक हो कि खलायनक, जनताले बुझिसके ।

तर, एमालेको समेत समर्थन भएकाले स्थानीय चुनावको फिगरका आधारमा त नायक निकै बलिया देखिन्छन् नि ?

जनता सधैं एक ठाउँमा हुँदैनन्, सिफ्ट भइरहन्छन् । जनताले उम्मेदवारको व्यक्तित्व र क्रियाकलाप हेर्छन् । स्थानीय चुनावलाई आधार बनाएर यो चुनावलाई आँकलन गर्न सकिन्न । म सजिलै चुनाव जित्छु भन्ने लागेको छ । माओवादीभित्रै यति धेरै द्वन्द्व छ, उनलाई माओवादीभित्रै धेरैले रुचाएका छैनन्, एमालेको त कुरै छाडौं ।

यहाँ एमाले र पहाडे समुदायको मत निर्णायक हुने देखिएको छ, तपाई त्यहाँभित्र खेल्न खोज्नुभएको हो ?

अधिकांश पहाडे समुदायका मतदाता मेरो पक्षमा छन् । मेरो आचरणबाट कसैलाई बिगारेको छैन । माओवादीले केही गर्न सकेन, यो राजपा भनेको नयाँ पनि हो । यसबाट राष्ट्रिय एकता गराउने भूमिका सिरहाका जनताले मबाट खोजेका छन् । पहाडे मतदाताले मबाट सुरक्षित महशुस गर्छन् । अजयशंकर नायकबाट पहाडे मतदाता सुरक्षित हुन सक्दैनन् ।

बन्दीपुर, भुल्कियाजस्ता पहाडे बस्तीमा जानुस् र सोध्नुस् मेरा बारेमा के भन्छन् । त्यहाँ त पहाडी मूलका साथीहरु छन्, मलाई सबैभन्दा राम्रो स्वागत नै उहाँहरुबाट भएको छ । म त एकदमै उत्साहित भएको छु, मैले पहाडे मतदाता र एमालेकै मतबाट चुनाव जित्छु ।

महन्थ ठाकुर र उपेन्द्र यादवलाई जस्तै तपाईलाई पनि यहाँबाट कांग्रेसले सघाउने सम्भावना सकिएको हो ?

त्यो सम्भावना अझै छ । उम्मेदवारी ब्याक गराउन सहमति गराउने प्रयास जारी छ । कांग्रेसले पनि मलाई सघाउनेछ अन्तिमसम्म ।

चुनावमा जनतालाई के भनेर मत मागिरहनुभएको छ ?

म राष्ट्रिय एकताको एजेण्डा बोकेर चुनावमा गएको छु । त्यस बाहेक केही स्थानीय एजेण्डाहरु पनि छन् । यो कृषकहरुको बसोबास भएको ठाउँ हो । कृषिलाई उद्योगका रुपमा विकास गर्छु । आधारभूत मलखाद, बिउ, सिञ्चाइँका आधारभूत आवश्यकता पूर्ति गर्छु । म सञ्चारमन्त्री हुँदा यही बन्दिपुरको उत्तरायणी भन्ने ठाउँलाई फिल्म सिटी बनाउँछु भनेेर लगेको हो, अहिले पनि म त्यो गर्छु । यो क्षेत्रलाई नमूना क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।

मिर्चैया सिरहाको आद्योगिक क्षेत्रको रुपमा विकास हुँदैछ,यसलाई औद्योगिक कोरिडोरका रुपमा विकास गर्ने योजना छ । अहिले म र तपाई बसेर कुरा गरेको ठाउँबाट उत्तर हेर्दा सगरमाथा जाने गेटवे हो । सगरमाथासम्मको बाटो जोड्ने योजना पनि मैले बनाएको छु । भौगोलिक रुपमा रोडभन्दा उत्तरतिर फलफूल खेती गर्नेखालको माटो छ । दक्षिणतिर धान र गहुँका लागि खेतियोग्य जमिन छ । नमूना क्षेत्रका रुपमा विकास गर्ने भनेको छु र म गर्छु ।

चुनावमा फोरमसँग तालमेल गर्नुभएको छ, अब राजपा र फोरमवीच पार्टी एकता पनि हुन्छ कि ?

तपाईहरुलाई थाहा छ हिजो मधेसवादी ६ पार्टीलाई एकता गराउन मैले हदैम्म भूमिका खेलेँ र सफल पनि भएँ । त्योबेला तपाईहरु पनि कसरी सम्भव हुन्छ भन्नुहुन्थ्यो, तर सम्भव भयो । अब हामी चुनावपछि नै एउटै पार्टी बनाउँछौं । पार्टी एकताका लागि हिजोको जस्तै मेरो भूमिका हुनेछ । राजपा र फोरमवीच एकता गराउन म सूत्रधार बन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment