+
+

चुनावको एजेण्डामा परेन ‘देवकोटा अध्ययन मण्डल’

मर्मत सम्भार नगर्दा ऐतिहासिक धरोहर जीर्ण

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर १७ गते ९:४६

१७ मंसिर, वीरगञ्ज । संरक्षण र मर्मत संभारको अभावमा वीरगञ्ज महानगरपालिकामा रहेको ‘देवकोटा अध्ययन मण्डल’ जीर्ण बनेको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको सम्मानमा वीरगञ्ज-११ श्रीपुर मूर्लीमा ५८ वर्ष अघि निर्माण गरिएको ‘देवकोटा अध्ययन मण्डल’ संरक्षण र मर्मत सम्भारको अभावमा जीर्ण बनेको हो । निर्वाचनको बेला पनि कुनै राजनीतिक दलले यसलाई प्राथमिकतामा राखेका छैनन् ।

झण्डै १ कठ्ठा जमिनमा फैलिएको अध्ययन मण्डलको भवन अहिले खण्डहर जस्तै बनेको छ । अध्ययन मण्डलको नवयुवक संघले ०१६ सालमा स्थापना गरेको थियो । अध्ययन मण्डलको भवनमा जथाभावी फोहोर गरिएको छ भने गारोमा घाँस समेत उमि्रन थालिसकेको छ । अध्ययन मण्डलमा साँझमा उछृङखल युवाहरु जाने चुरोट खाने र पिसाव गर्ने गरेका छन् ।

नेपाल शिन क्योकोशिन कराँते संघ पर्साले जिर्ण भवनमै तालिम सञ्चालन गर्दै आएको छ ।

प्रवेशद्वारमा रहेको महाकवि देवकोटाको शालिक भने ०६४ सालको पहिलो मधेस आन्दोलनमा स्थानीय युवाले भत्काइदिएका थिए । सभा हल, वाचनालय र पुस्तकालय कक्षको झ्याल ढोका चोरी भएको स्थानीय बताउँछन् । वाचनालय कक्षको छत खसिसकेको छ भने पुस्तकालयका सबै पुस्तक हराइसकेका छन् ।

स्थानीय वृद्ध र साहित्यप्रेमीहरुका अनुसार ०१३ साल ताका महाकवि देवकोटा शिक्षा मन्त्री रहँदा वीरगञ्ज आएका थिए । सोही क्रममा उनले एउटा रबरको रुख मुनि बसेर कविता सुनाएका थिए । उनको कविताबाट प्रभावित भएका स्थानीयले देवकोटा अध्ययन मण्डल स्थापना गरेका हुन् । राणा परिवारले दान गरेको १ कठ्ठा जमिनमा स्थानीय युवाहरुको संस्था नवयुवक संघले अध्ययन मण्डल निर्माण गरेका थिए ।

आयश्रोतको अभावमा भवनको मर्मत सम्भार र पुस्तकालय सञ्चालन गर्न नसकेपछि वि.सं. ०४३ सालदेखि नै अध्ययन मण्डल वेवारिसे बनेको छ ।

नयाँ नापीमा नेपाल राष्ट्रिय उच्च मावि व्यवस्थापन पक्षले देवकोटा अध्ययनमण्डल पनि विद्यालयकै नाममा नापी गराएपछि हाल भवनको स्वामित्व विद्यालयको नाममा छ । तर विद्यालय व्यवस्थापनले भवनलाई गोदाम भाडाको रुपमा दिएर विगतमा आम्दानी लिएको छ तर भवनको मर्मत सम्भार नगरेको स्थानीय बताउँछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन उपकुलपति गंगा उप्रेती वीरगञ्ज आउँदा अध्ययन मण्डलको अवस्थाको बारेमा जानकारी गराउँदा मर्मत सम्भारका लागि सहयोग गर्ने आश्वासन पाएको भएपनि कार्यान्वयन नभएको साहित्यिक संस्था प्रभात काव्य यात्राका संयोजक अरुण विक्रम शाहले बताए ।

‘आय श्रोत भएन, जसले गर्दा भवनको नियमित मर्मत सम्भार हुन पाएन, पुस्तकालयका पुस्तकहरु प्ानि चोरी भए, हेर्दाहेर्दर्ै एउटा राम्रो संस्था जीर्ण भयो,’ शाहले भने, ‘प्रतिष्ठानबाट ४०/५० हजार रुपैयाँ भवन मर्मतका लागि दिलाउने आश्वासन आएको पनि पूरा हुन सकेन । अध्ययन मण्डलको अवस्था झनै जीर्ण बनेको छ । हामी टुलुटुलु हेरेर बस्न बाध्य छौं ।’

पछिल्लो समयमा देवकोटा बन्धु समाजले जिर्णोद्धारका लागि चासो देखाएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । ‘पहिले देवकोटा अध्ययन मण्डलमा निकै चहलपहल हुने गरेको थियो, कसैले चासो नदिएका कारण त्यो ओझेलमा परेको छ,’ उनले भने, ‘देवकोटा अध्ययन मण्डलको दुरावस्थाका बारेमा कुराहरु सार्वजनिक भएपछि देवकोटा बन्धु समाजले मर्मतका लागि चासो दिएको छ । जग्गा विद्यालयको नाममा भएकाले केहि समस्या देखिएको छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?