१९ मंसिर, बिराटनगर । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका शिल गरिएको भए पनि बिराटनगरको रानी नाकाबाट भारतीय नागरिकहरु सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन् ।
रानीदेखि करिब ३ सय मिटर उत्तर–पश्चिमको भारतीय मार्ग प्रयोग गरेर भारतीय नागरिक आउने क्रम जारी रहेको हो ।
बिराटनगरको मुख्य नाका क्षेत्र रानीमा सशस्त्र प्रहरी तैनाथ गरेर आवतजावतमा पूर्ण प्रतिबन्ध गरिए पनि सहज रुपमा भारतीय नागरिकले आवतजावत गर्न थालेपछि निर्वाचन मुखमा सुरक्षा चुनौति बढेको छ ।
नेपाल भारतको सीमा क्षेत्र दरैयाबाट पनि नेपाल प्रवेश गर्नेको घुइँचो लाग्ने गरेको छ ।
त्यहाँ खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेको कुनै अभिलेख नराखी निर्वाध रुपमा नेपाल प्रवेश दिइरहेको भेटिएको छ ।
नेपालबाट भारत जानेलाई रोक
दरैया सीमा क्षेत्रमा तैनाथ एक सशस्त्र प्रहरीका अनुसार भारतबाट आउनेलाई प्रवेश दिएपनि नेपालबाट जानेलाई प्रवेशमा भने रोक लगाइएको छ ।
यद्यपि, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय सीमा पूर्ण रुपमा शिल गरिएको दाबी गर्छन् ।
‘इमेरजेन्सी बाहेको अवस्थामा कसैलाई नेपाल–भारत आवतजावतका लागि अनुमति दिइएको छैन’, उनले अनलाइनखबरसँग भने, ‘आकस्मिक अवस्थामा पनि उनीहरुको अभिलेख राखेर आवतजावतमा सहजीकरण मात्र गरिएको छ ।’
प्रजिअ आर्चायले सीमा क्षेत्रमा कडाइका साथ आवतजावतमा रोक लगाइएको बताइरहँदा दरैया क्षेत्रबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकको अभिलेख समेत राख्ने गरिएको छैन ।
दरैया नाका जोगवनी रेल स्टेशनबाट भित्री मार्ग भएर नेपाल प्रवेश गर्न मिल्ने नाका हो ।
स्थानीय प्रशासनले मंसिर २१ गते साँझ ६ बजेसम्मका लागि नेपाल भारतको सीमा शिल गरेको छ ।
मोरङ जिल्ला अन्तर्गत भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्र छ ।
प्रतिक्रिया 4