Comments Add Comment

पहिलो चरणमा कांग्रेसको कन्तबिजोग ! ३७ सिटमध्ये ४ सीटमा मात्रै अग्रता

एमाले १८ र माओवादी ११ सिटमा अगाडि, ३ सिटको नतिजा आयो

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ ।

मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ ।

मतगणना भइरहेका रसुवा, हुम्ला, मुगु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गोरखा २ मा नयाँ शक्तिको अग्रता छ । ललितपुर क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

पहिलो चरणको चुनावमा नेपाली कांग्रेसको गलभग बिजोग अवस्था देखिएको छ । गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन भने उसको पराजय अपमानजनक हुने संकेत देखिएको छ ।

पहिलो चरणको गणनामा यस्तो देखिएको छ कि प्रत्यक्षतर्फ नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा पछाडि देखिएको छ ।

कांग्रेसले हिमाली र पहाडी जिल्लामा आफ्नो पुरानो बर्चश्व गुमाउने देखिए पनि शहर र तराईका जिल्लामा कांग्रेसले आफूलाई केही सुधार गर्न सक्ने धेरैले अनुमान गर्दै आएका छन् ।

कहाँ–कहाँ कसको अग्रता ?

पहिलो चरणमा हटसीट मानिएका क्षेत्रमध्ये गोरखा २ मा नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै अग्रता लिएका छन् । त्यहाँ दुई नेताबीच तीब्र प्रतिस्पर्धा छ ।

त्यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट फराकिलो मतान्तरसहित अगाडि छन् । कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा ४ हजार मतले पछि परेका छन् ।

ओखलढुंगामा दुई चर्चित युवा नेता एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरी खतिवडाको प्रतिस्पर्धामा सुनुवारले एक हजार मतको अग्रता लिइरहेका छन् ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता अग्नि सापकोटा कांग्रेस नेता सन्चारमन्त्री मोहनवहादुर बस्नेतभन्दा दोब्बर मतले अगाडि छन् ।

सिन्धुपाल्चोक ३ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शसमेरलाई एमालेका शेरवहादुर तामाङले पछि पारेका छन् ।

नुवाकोटमा कांग्रेसका दुई प्रभावशाली नेता रामशरण महत र अर्जुन नरसिंह केसी मतगणना चलिरहदा पछाडि परेका छन् ।

केसीलाई एमालेका नारायण खतिवडाले पछि पारेका छन् भने महतलाई माओवदाीका हितवहादुर तामाङले पछि पारेका छन् ।

लम्जुङमा कांग्रेसका दिलवहादुर घर्तीको शुरुदेखिको अग्रता तोडेर माओवादीका देव गुरुङ अघि बढेका छन् ।

मतगणना भइरहेका ३४ निर्वाचन क्षेत्रमध्ये एमालेले १८ स्थानमा अग्रता लिएको छ । माओवादीले ११ सिटमा अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment