Comments Add Comment

हारको ह्याट्रिकबाट यसरी जोगिए अरुण नेपाल

२४ मंसिर, सिन्धुपाल्चोक । एमाले पोलिटव्यूरो सदस्य अरुण नेपाल हारको ह्याट्रिकबाट जोगिएका छन् । २०६४ र २०७० को दुवै संविधानसभा निर्वाचनमा पराजित भएका नेपाल यसपटक भने सहज विजय निकाल्न सफल भए प्रदेशसभा सदस्यमा ।

एमालेको केन्द्रीय राजनीतिमा क्रियाशिल रहेका बेला २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा भूगोलको राजनीतिमा प्रवेश गरेका एमाले नेता पहिलो पटक ८ हजार मतअन्तरमा माओवादी उमेदवारसँग पराजित भए ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका नेपाल ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उमेदवार मोहनबहादुर बस्नेतसँग ३२ मतले पराजित भए ।

एमाले–माओवादी गठबन्धन हुनु अगावै १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा सर्वसम्मत सिफारिस भएपनि दुई पार्टी बीचको एकीकरणले नेपालको प्रतिनिधिसभामा जाने सपना अधुरै भयो ।

एमालेले उनलाई निर्वाचन मनोनयको अघिल्लो दिन मात्रै प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा १ को टिकट दियो तर उनले उठ्न मानेन् । कार्यकर्ताहरुको दवावपछि उनी फेरि उठ्न राजी भएका थिए ।

नेपालका प्रतिष्पर्धी थिए, नेपाली कांग्रेसका विष्णुबहादुर खत्री । उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य र तातोपानी नाकाका व्यापारी प्रतिष्पर्धी भएपछि धेरैले जसरी भए पनि खत्रीले चुनाव जित्ने अनुमान गरेका थिए ।

तर, सबैको अनुमान गलत साबित गर्दै अरुण ७ हजार मतअन्तरले बिजयी भए । तेस्रो पटकको प्रयासमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपालले २१ हजार ७ सय १२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुबहादुर खत्रीले १४ हजार ६ सय ३३ मत पाएका थिए ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका नेपाल एमालेभित्र इमान्दार नेताको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment