२४ मंसिर, धरान । संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले सुनसरी क्षेत्र नम्बर १ मा लज्जास्पद पराजय भोगेका छन् ।
कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका हुन् ।
एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी भएका छन् भने अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका छन् ।
कांग्रेससँग गठबन्धन गरेर जित्न सकिने निर्वाचन क्षेत्र रोजेर धरान पुगेका अशोक राई कुनै बेलाका आफ्नै राजनीतिक शिष्य जयकुमारसँग ‘हाफ’ मत पाएर पराजित भएका हुन् ।
एमालेको उपाध्यक्ष पद छाडेर जातीय पहिचानको लागि संघीय समाजवादी पार्टी खोलेका अशोक राई २०७० मा समानुपातिकबाट सांसद बनेका थिए ।
उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग एकता गरेर बरिष्ठ नेता बनेका राईको पराजयसँगै पहाडबाट फोरमले कुनै पनि क्षेत्रमा चुनाव जित्ने सम्भावना सकिएको छ ।
मधेश विशेष गरी २ नम्बर प्रदेशमा राम्रो नतिजा ल्याइरहेको फोरमले अशोक राईको प्रभाव पहाडी जनजाति समुदायमा भने देखाउन सकेन ।
कांग्रेसकै समर्थनमा भोजपुर ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरमका उपमहासचिव अजम्बर काङवाङ पनि एमालेका राजेन्द्र राईसँग पराजित भइसकेका छन् ।
प्रतिक्रिया 4