+
+

आधा लाख कटाएर चुनाव जित्ने ‘टप फाइभ’ नेता

केपी ओली, पार्वत गुरुङ र पोल्देन छोपाङको नाममा नयाँ कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते १९:५४


२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा केही नयाँ रेकर्ड कायम भएका छन् । यसपटक सबैभन्दा धेरै मत ल्याएर जित्ने, सबैभन्दा धेरै मतान्तर बनाएर जित्ने र ४४ हजार मत कटाउँदा पनि हार्ने रेकर्ड एमालेकै पोल्टामा परेको छ ।

अहिलेसम्म ५० हजारभन्दा बढी मत कटाएर बिजयी हुने पाँच जना उम्मेदवार देखिएका छन् । सम्भवतः अब ५० हजार मत कटाएर जित्ने अरु सांसद हुने छैनन् ।

ओलीले पाए देशभरमै धेरै मत

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मत पाएर विजयी हुने रेकर्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा रहृयो । झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष ओलीले ५७ हजार १३९ मत पाएका छन् । यो मत प्रतिनिधिसभा निर्वाचनमा कुनै उम्मेदवारले पाएको सबैभन्दा धेरै मत हो ।

ओलीको निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर पनि दोब्बरभन्दा बढी छ । ओली भावी प्रधानमन्त्री हुन् ।

पार्वतको नयाँ रेकर्ड

एमालेका केन्द्रीय सदस्य तथा युवा नेता पार्वत गुरुङले पनि नयाँ रेकर्ड कायम गरेका छन् । देशभरमै सबैभन्दा बढी मतान्तरमा चुनाव जित्ने कीर्तिमान गुरुङको पोल्टामा परेको छ ।

दोलखाबाट निर्वाचित सांसद गुरुङले ३० हजार भन्दा बढीको अन्तरमा विपक्षीलाई हराएका हुन् ।

उनी ५० हजार बढी मत पाउनेको सूचीमा पनि परेका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत पाए ।

सबैभन्दा बढी मतान्तरको रेकर्ड पनि यही नै हो । गुरुङ र खड्काबीचको मतान्तर ३१ हजार १४१ छ ।

ओलीलाई पछ्याउँदै चारभाइ

काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका नेता गोकुल बास्कोटाले ५४ हजार ४२७ मत पाएका छन् । बास्कोटाले पाएको मत सर्वाधिक तेस्रो हो ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाए । बास्कोटा र आचार्यबीच १८ हजार मतान्तर भएको छ ।

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि ५० हजार मत कटाएर अर्ध शतक पूरा गरेका छन् । चितवन क्षेत्र नम्बर १ बाट विजयी पाण्डेले ५० हजार ८९६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३६ हजार ४५४ मत पाएका छन् ।

५० हजार भन्दा धेरै मत पाएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनेहरुको सूचीमा माओवादीका सन्तकुमार थारु पनि छन् ।

उनी ५० हजार ५५५ मतका साथ बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । थारुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत पाएका छन् ।

बर्दियामै एमाले उपाध्यक्ष बामदेव गौतमले भने सबैभन्दा बढी मत ल्याएर हारेको रेकर्ड राखेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका सन्जयकुमार गौतमसँग पराजित बामदेवले ४४ हजार ७६ मत पाएका छन् ।

सन्जय कुमार गौतमले ४४ हजार ८२९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सबैभन्दा कम मत पाएर चुनाव जित्ने रेकर्ड पनि एमालेकै पोल्टामा गएको छ । प्रतिनिधिसभामा मनाङबाट एमालेका पोल्देन छोपाङ गुरुङ २३०० मत पाएर निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?