Comments Add Comment

पर्साको चुनावः एमाले र कांग्रेसको गढ मधेसी दलको कब्जामा

२६ मंसिर, वीरगञ्ज । देशभर वाम गठबन्धनको दबदबा देखिएका बेला पर्सा जिल्लामा भने बाम गठबन्धन निकै पछाडि परेको छ ।

स्थानीय तहको निर्वाचनमा केही स्थानमा जीत दर्ता गर्न सफल भए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले नराम्ररी पराजय भोगेको छ ।

कांग्रेसले दुईवटा प्रदेशसभामा चित्त बुझाउँदा एमाले प्रतिनिधिसभा र प्रदेश सभा दुबैमा शून्य बनेको छ ।

४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्य रहेको पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ सबै स्थानमा फोरम-राजपा गठबन्धनले बाजी मारेका छन् । ४ मध्ये ३ क्षेत्रमा फोरम नेपाल र १ क्षेत्रमा राजपा विजयी भएका छन् ।

८ वटा प्रदेश सभा सदस्यतर्फ पनि ६ स्थानमा फोरम-राजपा गठबन्धनले बाजी मार्न सफल भएका छन् भने २ वटा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले जित दर्ता गराउन सफल भएको छ ।

चुनावी दौडमा कांग्रेस निकटम प्रतिद्वन्द्वीको रुपमा देखिएको भए पनि बाम गठबन्धन अधिकांश स्थानमा तेस्रो स्थानमा खुम्चिएको छ ।

स्थानीय तहको भन्दा लजास्पद पराजय

वाम गठबन्धनले पर्सामा स्थानीय तहको भन्दा लज्जास्पद हार व्यहोरेेको छ । १४ स्थानीय तह रहेको पर्सा जिल्लाको स्थानीय तह निर्वाचनमा फोरम नेपालले वीरगञ्ज महानगरपालिका, विन्धवासीनी, पकाहामैनपुर र सखुवा प्रसौनी गाउँपालिका गरी ४ स्थान जितेको थियो । कांग्रेसले पर्सागढी, बहुदरमाईनगरपालिका र धोविनी गरी ३ स्थानीय तहमा जीत दर्ता गराएको थियो ।

एमाले र माओवादी केन्द्रले ५ स्थानीय तहमा जितेका थिए । माओवादी र एमालेले पर्साको ठोरी, जगरनाथपुर र छिपहरमाई, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा जीत दर्ता गराएका थिए ।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पर्सामा रहेका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटामा एमाले र २ वटा क्षेत्रमा कांग्रेस विजयी भएका थिए । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा तीन वटा क्षेत्रमध्ये कांग्रेस, एमाले र फोरमले एक/एक स्थानमा जित हात पारेका थिए ।

निवर्तमान सांसद, पूर्व सभासद एवं मन्त्रीहरु पराजित

पर्साबाट कांग्रेस र एमालेका तर्फबाट चुनाव लडेका सबै निवर्तमान सांसद , पूर्वसभासद एवं मन्त्रीहरु पराजित भएका छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका उनीहरुलाई मतदाताले मधेसी दलका उम्मेदवारलाई भन्दा कम दिए ।

प्रतिनिधिसभा सदस्यमा पर्सा क्षेत्र नम्बर १ बाट फोरम नेपालका प्रदीप यादवले पूर्व सभासद नेपाली कांग्रेसका अनिलकुमार रूंगटालार्इ पराजित गरे ।

पर्सा २ बाट उम्मेदवारी दिएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया फोरम नेपालका उम्मेदवार विमल श्रीवास्तवसँग पराजित भए ।

कांग्रेसकै पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं निवर्तमान सांसद सुरेन्द्र चौधरी पर्सा क्षेत्र नं ३ मा फोरम नेपालका उम्मेदवार हरि नारायण रौनियारसँग पराजित भए । त्यस्तै क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका कांग्रेस अनुशासन समितिका संयोजक केन्द्रीय सदस्य एवं पूर्वसभासद रमेश रिजाल पनि पराजित भए । सोही क्षेत्रबाट माओवादी नेतृ उर्मिला अर्याल पनि राजपाका नेता लक्ष्मणलाल कर्णसँग पराजित भइन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एमालेका निर्वतमान सभासद विचारी यादव र राजकुमार गुप्ताका साथै प्रदेशसभा तर्फ उम्मेदवारी दिएका एमालेका निवर्तमान सभासदहरु जयप्रकाश थारु, नागेन्द्र चौधरी र रामचन्द्र साह तेली पनि मधेसी दलका उम्मेदवारसँग पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment