Comments Add Comment

शेरधनलाई मुख्यमन्त्री बनाउने बाटो खुल्यो, तर बैठकस्थल अनिश्चित

गोठगाउँ वा बिराटनगरमध्ये एक ठाउँमा प्रदेशसभाको बैठक बस्ने

२६ मंसिर, बिराटनगर । एक नम्बर प्रदेशको पहिलो बैठक कहाँ राख्ने भन्नेबारे अन्योल देखिएको छ । सरकारले स्थान नतोकिदिएकाले पहिलो बैठकस्थलका बारेमा अन्योल देखिएको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँमा प्रदेशको अस्थायी कार्यालय बस्ने चर्चा छ । केहीले बिराटनगरमै प्रदेशसभाको बैठक बस्ने बताइरहेका छन् । तर, अहिलेसम्म बैठकस्थल टुंगो लागेको छैन ।
शहरी विकास मन्त्रालयका सहसचिव शम्भु केसीले एक नम्बर प्रदेशको पहिलो बैठक राख्ने स्थानका बारेमा टुङ्गो नलागिसकेको बताए ।

उनले भने ‘धनकुटा, धरान, बिराटनगर लगायतका धेरै स्थानका विषयमा कुरा आएको छ अहिले पनि छलफलकै चरणमा टुङ्गोमा पुगिसकेको छैन ।’

निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम सार्वजनिक गरेको २० दिन भित्र प्रदेश सभाको बैठक बस्नुपर्ने संविधानको धारा १८३ मा व्यवस्था छ ।

निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा रहेकाले सम्भवतः आगामी पुसको दोस्रो साताभित्रै प्रदेशको पहिलो बैठक हुनेछ । तर, सरकारले त्यसका लागि स्थान अहिलेसम्म तोक्न सकेको छैन ।

सरकारले शहरी विकास मन्त्रालयलाई प्रदेशसभाको बैठकका लागि उपयुtm भौतिक पूर्वाधार भएका भवनका लागि अध्ययन गरी प्रतिवेदन सरकारलाई वुझाउन एक कार्यदल गठन गरेको थियो ।

कार्यदलले क्षेत्रीय डिभिजन कार्यालयको सहयोगमा अध्ययन गरेको थियो । कार्यदलले पहिलो प्रदेशसभाको बैठकका लागि मोरङसहित सुनसरी र धनकुटा जिल्लाका विभिन्न सरकारी भवनको अध्ययन गरेको थियो । जसमा पहिलो प्रदेश सभाको बैठक बस्नका लागि भौतिक संरचनाको हिसावमा मोरङ उपयुक्त रहने ठहर भने कार्यदललेे गरेको थियो ।

कार्यदलले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरस्थित क्षेत्रीय कृषि विकासको कार्यालय वा वीरेन्द्र सभा गृह उपयुक्त स्थानका रुपमा छनौट गरेको थियो । तर, अहिलेसम्म ती स्थानमध्ये कहाँ प्रदेश सभा राख्ने भने टुङ्गो सरकारले लगाएको छैन ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले प्रदेश सभाको पहिलो बैठकका लागि स्थान तोकेर नीतिगत निर्णय सरकारको आई नसकेको बताए । उनले सरकारले त्यसको टुङ्गो लगाउने भएकाले आफूलाई यसबारेमा कुनै जानकारी नभएको वताए ।

एक नम्वर प्रदेशमा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिक तर्फ ३६ गरी कुल ९२ संख्या रहनेछ । करिव १ सय जना अटाउने क्षमताको भौतिक संरचना प्रदेश सभाको पहिलो बैठकका लागि आवश्य पर्नेछ ।

एमालेको बहुमत, मुख्यमन्त्रीमा शेरधनको चर्चा

एक नम्वर प्रदेशमा एमाले पहिलो पार्टी भएको छ । उसले प्रदेश सभा गठनका लागि स्पष्ट बहुमत पुर्‍याउने देखिएको छ । बहुमतका आधारमा एमालेबाट मुख्यमन्त्री चुनिने सम्भावना बढेको छ । एमालेले शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

कुल ५६ सिट रहेको एक नम्वर प्रदेशमा बाम गठवन्धनले ४६ सिटमा विजय हासिल गरेको छ । एमालेले एक्लै ३६ र माओवादी केन्द्रले १० सिटमा विजय हासिल गरेका छन् ।

प्रदेशसभातर्फ नेपाली कांग्रेसले ७ सिटमा र संघीय समाजवादी फोरम र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा जित हात पारेका छ ।

एक नम्वर प्रदेशअन्तर्गत सुनसरी जिल्लाको एक सिट बाहेक अन्य स्थानको सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्वर ३ (ख)मा भने मतगणना जारी छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment