Comments Add Comment

सुनसरी ३ मा बिजय गच्छदारबिरुद्ध भगवतीको अग्रता कायमै

मतगणना बहिस्कार गरेकी भगवतीलाई प्रतिनिधि पठाउन पार्टीको निर्देशन

२६ मंसिर, इटहरी । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार अपरान्हबाट शुरु भएको छ । शुरुदेखिनै अग्रता लिइरहेकी एमालेकी भगवती चौधरीको अग्रता कायमै रहँदा मतगणनास्थलमा उनका प्रतिनिधि भने छैनन् ।

मुचुल्का भन्दा बढि मतपत्र भेटिएको र अधकट्टी सहितको मतपत्रको सिरियल नम्बर समेत हेर्न नदिइएको भन्दै एमालेले मतगणना अवरुद्ध गरेको थियो । निर्वाचन अधिकृत टिका घिमिरेले मुचुल्का र सिरियल नम्बर हेर्न नदिएर सेटिङ अनुसार बिजय गच्छदारलाई जिताउन खोजेको आरोप भगवती चौधरीले लगाएकी छन् ।

निर्वाचन आयोगको निर्देशन बमोजिम मतगणना अघि बढेको छ । पछिल्लो मतगणनका परिणाम अनुसार एमालेकी भगवती चौधरी ३० हजार ९१९ मतका साथ अग्रता लिइरहेकी छन् । उनलाई नेपाली कांग्रेसका बिजयकुमार गच्छदारले ३० हजार ७४५ मतका साथ पछ्याइरहेका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा जम्मा ८५ हजार १३७ मत खसेकोमा हालसम्म ६७ हजार ६५२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा २०७० सालको आम निर्वाचनमा पनि बिजय गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदा डेढ सय मतान्तरमा चौधरी पराजित भएकी थिइन् । त्यसबेला पनि मतगणनाको अन्तिम समयमा यस्तै विवाद भएको थियो । विवादका बीच गच्छदार बिजयी घोषित भएका थिए ।

यसैबीच एमाले उम्मेदवार भगवती चौधरीले मतगणनास्थलमा प्रतिनिधि पठाउन पार्टीले निर्देशन दिएकाले पठाउने तयारी भइरहेको बताएकी छन् । आफ्नो गुनासोको सुनुवाई नभई एकपक्षीय रुपमा गणना थालिएपछि चौधरीले आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाएकी थिइन् ।

आफ्ना प्रतिनिधि नहुँदा सदर मतलाई बदर गर्ने र झन् गडबडी हुने भन्दै पार्टीले प्रतिनिधि पठाउन निर्देशन दिएपछि पठाउने तयारी भइरहेको चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment