Comments Add Comment

देउवा प्रदेश ७ मा कांग्रेसका एक्ला सांसद

 २७ मंसिर, डोटी।  कैलाली प्रतिनिधि सभा क्षेत्र-२ को मतपरिणाम घोषणा नहुँदासम्म कांग्रेस कार्यकर्ताहरुलाई झिनो आश थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह प्रदेशबाट प्रतिनिधि सभामा एक जना साथी पाउने छन भन्ने । तर, मंगलबार उक्त क्षेत्रको परिणाम घोषणासँगै त्यो आशा पनि टुङ्गियो ।

एमालेमा लामो समयसम्म सक्रिय राजनीतिक गरेका पूर्वमन्त्री मोहनसिंह राठौर कांग्रेसबाट चुनाव लडेका थिए । उनी आफ्नो क्षेत्रमा राम्रै पकड भएका नेता मानिन्छन् । तर, उनका प्रतिस्पर्धी वाम गठबन्धनमा उम्मेद्वार झपट रावलले बाजी मारे ।

राठौर शिक्षा राज्यमन्त्री हुँदा रावल उनका पिए थिए । तिनै पिएले राठौरको संसदीय यात्रामा कम्तीमा पाँच वर्षका लागि बिराम लगाए ।

राठौरको पराजयसँगै प्रत्येक्षतर्फ प्रदेश नं. ७ बाट वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला सांसद बनेका छन ।

देउवाले गृहजिल्ला डडेल्धुराबाट वाम गठबन्धनका उम्मेद्वार खगराज भट्टलाई हराउँदै छैटौं पटक संसदीय यात्रा तय गरेका छन ।

डडेल्धुरामा प्रतिनिधि सभाका लागि मतदान गर्ने ५४ हजार ५९ मतदातामध्ये देउवाले २८ हजार ४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी भट्टले २१ हजार एक सय १५ मत पाएका थिए ।

नेपालको राजनीतिक इतिहासमा प्रदेश नं. ७ अर्थात साविकको सुदूरपश्चिम बिकास क्षेत्रबाट कांग्रेस यसरी खुम्चिएको यो पहिलो घटना हो ।

२०१५ साल देखि २०७० को निर्वाचनसम्म पनि कांग्रेसले यस क्षेत्रमा आफ्नो साख बचाएकै थियो । कांग्रेस-एमालेका लागि खडेरी परेको २०६४ को संबिधान सभा चुनावमा पनि कांग्रेसले यस क्षेत्रबाट हरेसै खानु पर्ने अवस्था आएको थिए ।

यस पटकको निर्वाचनमा भने यस क्षेत्रमा कांग्रेसले नराम्रो धक्का खाएको छ । प्रधानमन्त्री देउवा पत्नि डा. आरजु राणाको पहिलो प्रत्येक्ष चुनावी लडाई पनि फलदायी भएन ।

उनी कैलाली क्षेत्र-५ बाट पराजित भइन । यस्तै देउवाका विश्वास पात्र मानिने कांग्रेसका प्रभावशाली नेताहरु नारायणप्रकाश साउँद र रमेश लेखकले पनि क्रमशः कञ्चनपुर क्षेत्र-२ र ३ बाट पराजय भोग्नु पर्‍यो ।

बहालवाला मन्त्री कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर जित्ने आशमा थिए । कांग्रेस नेता कार्यकर्ताहरु तर उनलाई पनि बाम गठबन्धनका उम्मेद्वार प्रेमबहादुर आलेमगरले पराजित गरेपछि उनको संसदीय यात्रामा पनि कम्तीमा पाँच बर्षका लागि पूर्ण बिराम ल्याग्यो । बलायरलाई नेपाली कांग्रेसभित्र प्रभाव राख्ने र सभापति देउवासंग निकट सम्वन्ध भएका व्यक्तिका रुपमा हेरिन्छ ।

प्रतिनिधि सभामा मात्रै होईन प्रदेश सभाको प्रत्येक्षतर्फ पनि कन्तबिजोगै भयो कांग्रेसका लागि । प्रदेशका नौ जिल्लामध्ये बाजुरा, बझाङ्ग, अछाम, बैतडी, दार्चुला र कञ्चनपुर गरि सात जिल्लामा बाम गठबन्धनले क्लिनस्वीप गर्‍यो ।

बाँकी तीन जिल्लामा पनि कांग्रेसले आफ्नो उपस्थिति मात्रै देखाउन सक्यो । डोटी प्रदेश सभा क, डडेल्धुरा प्रदेश सभा ख, कैलाली प्रतिनिधि सभा क्षेत्र-१ अन्तरगतको प्रदेश सभा ख र प्रतिनिधि सभा-५ अन्तरगतको ख गरि प्रत्येक्षतर्फ जम्मा चार ठाउँमा मात्रै कांग्रेसले आफ्ना उम्मेदवारहरुलाई उत्तीर्ण गर्न सफल भयो ।

यद्यपी प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. ७ मा बसोबास गर्ने दर्जन बढी नेता कार्यकर्ताहरु समानुपातिकको सूचीमा रहेका छन तर प्रत्येक्षतर्फ भने देउवा कांग्रेसका एक्ला सांसद भएका छन ।

२०७० साल बाहेक २०१५ साल यता भएका ६ संसदीय तथा संबिधानसभा निर्वाचनहरु कांग्रेस नेतृत्वको एकल एवं संयुक्त सरकारले गराउँदै आएको भएपनि देउवाले आफ्नै नेतृत्वमा निर्वाचन गराएको यो पहिलो हो ।

चुनावी सरकार र पार्टीको नेतृत्व आफ्नै हातमा भएका बेला आफ्नै गृह प्रदेशमा भएको यो हारलाई देउवाले कसरी व्यवस्थापन गर्लान्, त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment