Comments Add Comment

ताप्लेजुङसँग लोभिए विदेशी पर्यटक, वर्षभरिमा आउने पर्यटक एकै सिजनमा भित्रिए

चिसो बढेपछि धमाधम फर्कंदै


२ पुस, ताप्लेजुङ । ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्यामा यो वर्ष उल्लेख्य वृद्धि भएको छ । अघिल्ला सालहरुमा वर्षभरिमा आउने पर्यटक यसवर्ष एकै सिजनमा ताप्लेजुङ घुम्न आइपुगेका छन् ।

ताप्लेजुङमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटरमाथिका २ र ७ हजार मिटर माथिका ११ हिमशृंखला छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका तथ्यांक अनुसार, यो वर्षको वैशाखदेखि मंसिरसम्ममा ६ सय ७ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा अधिक बढी हो । गत वर्ष भरिमा ६ सय १२ जनाले ताप्लेजुङ भ्रमण गरेका थिए ।

युरोपियन मुलुकदेखि छिमेकी चीन–भारतलगायत २३ राष्ट्रका पर्यटक आएको ताप्लेजुङ जिल्लामा हालसम्म सबैभन्दा बढी एक सिजनमा ९ सय पर्यटकले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्थानीयले अक्टोबर र अप्रिललाई पर्यटक आउने सिजनका रूपमा बुझ्ने गरेका छन् । असार, साउन, माघ र फागुनमा भने विदेशीको अनुहार समेत देख्न नपाइने व्यवस्थापन परिषदका पर्यटन सहायक टासी तेञ्जिङ शेपाको भनाइ छ ।

मेचीको पहाडी जिल्ला ताप्लेजुङ पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर, विमानस्थल भएर पनि जहाज नचल्दा पर्यटकलाई तान्न नसकिएको व्यवसायीहरुको गुनासो छ । ‘पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ, जहाजबाट आउन र फर्कन पाए भ्रमण अवधि छोटिने भएकाले पर्यटक काठमाडौंबाट सीधै सुकेटार विमानस्थल आउन चाहन्छन्, यसो गरे उनीहरूलाई भाडा पनि सस्तो पर्छ तर जहाज नियमित नचल्दा काठमाडौंबाट झापाको भद्रपुर आएर गाडीमा आउनुपर्ने हुँदा कम मात्रै आउने गरेका छन्’, शेर्पा भन्छन् ।

आएका पर्यटक धमाधम फर्कन थाले

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासँगै कुम्भकर्णलगायतका हिमश्रृंखलाको अवलोकनका लागि आएका पर्यटक मंसिर महिना सकिएसँगै धमाधम फर्कन थालेका छन् ।

चिसो मौसम सुरु भएसँगै हिउँ पर्ने भएकाले अधिकांशले हिमाली क्षेत्रका बेसक्याम्प छाडेका छन् । कञ्चनजंघा हिमाल आधार शिविरभन्दा तल रहेको बस्ती घुन्साबाट सबै समूह सदरमुकाम फुङलिङतर्फ फर्किएको घुन्साका स्थानीयले बताएका छन् ।

हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू सबै चिसो बढे पछि आ–आफ्ना देश फर्कन थालेका हुन् । घुन्साका पर्यटन व्यवसायी हिमाली चुङदा शेर्पाका अनुसार यो समय हिउँ पर्ने र माथिल्लो क्षेत्रमा खाने बस्ने व्यवस्था नहुने हुँदा पर्यटक फर्कनु परेको हो ।

शेर्पाका अनुसार असार, साउनमा वर्षा र पुस, माघ फागुनमा हिउँका कारण पर्यटक यो क्षेत्रमा आउँदैनन् । असार, साउनमा बाढी पहिरो र पुस, माघ र फागुनमा हिउँका कारण हिँड्डुल गर्न जोखिम हुने गरेको छ ।

पर्यटकको सेवाका लागि माथिल्ला क्षेत्रमा बसेका स्थानीय पनि चिसो र हिमपात हुनुपुर्व तल्लो क्षेत्रमा झरेका छन् । रोनाक, पाङपेमा, सेलेले, लोङथाङलगायत स्थानबाट स्थानीय पनि घुन्सा फर्किएका हुन् ।

फागुनमा मात्रै खोल्ने गरी पसल बन्द गरेको स्थानीयले बताए । पर्यटक सिजन सुरु भएपछि चौरी, याकलाई सामान बोकाएर स्थानीय पनि व्यापारका लागि हिमालको फेदतर्फ चड्ने गर्दछन् भने पर्यटक पनि घुम्न आउने गर्दछन् ।

पर्यटकिय सिजनमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि केही किलोमिटरमाथि रहेको सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर माथिका अरू दुईसहित ७ हजार मिटर माथिका ११ हिमशृंखला अवलोकन गर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment