Comments Add Comment

रक्सौलको क्लिंकर राजनीतिः समस्या भारतीय रेल्वेको, मारमा नेपाली उद्योगी

रक्सौलमा चुनाव जित्ने नारा 'प्रदूषण नियन्त्रण'

 

३ पुस, वीरगञ्ज । सीमावर्ती शहर रक्सौलमा फेरि नेपाल भित्रिने क्लिंकरलाई लिएर ‘राजनीति’ शुरु भएको छ । विगतजस्तै यस वर्ष पनि रक्सौलका बासिन्दाले प्रदूषण नियन्त्रणको माग राख्दै आन्दोलन थालेका छन् ।

रक्सौलवासीको आन्दोलनका कारण वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका सिमेन्ट उद्योगी र आयातकर्ताहरु चिन्तामा छन् । हेटौंडाको शिवम् सिमेन्ट र बारा पर्सा औद्योगिक करिडोरका एक दर्जन सिमेन्ट उद्योगका सञ्चालक तथा आयातकर्ताहरुले सोही यार्ड हुँदै क्लिंकर, कोइलालगायत कच्चा पदार्थ भित्र्याउँछन् ।

करिब १० वर्षदेखि प्रदूषण नियन्त्रणको माग गर्दै रक्सौलमा बर्सेनि आन्दोलन हुने गरेको छ । तर, माग पूरा नभएको रक्सौलका बासिन्दाको भनाइ छ ।

भारतीय रेल्वेले रक्सौल बजारबाट उत्तर-पश्चिममा नेपाली आयातकर्तालाई क्लिंकर र कोइलाका लागि यार्ड दिएको छ । भारतीय रेलमार्ग हुँदै आउने ती कच्चा पदार्थ बोकेका कार्गो सोही यार्डमा अनलोड हुन्छन् । र, त्यहाँबाट ट्रक र टि्रपरमा राखेर नेपाल ल्याइने गरेको छ ।

मासिक २० देखि २५ र्‍याक क्लिंकर र कोइला आयात हुन्छन् । एउटा र्‍याकमा ३५ सयदेखि ३८ सय टन कच्चा पदार्थ हुन्छ, जुन सीधै टि्रपरमा ल्याउन असम्भव छ ।

धुलो, आन्दोलन र उद्योग

सिमेन्ट उद्योगका लागि आयात गरिने कच्चा पदार्थ बोकेका कार्गो खुला र धूलोयुक्त हुन्छन् । वषर्ायाममा त खासै समस्या हुँदैन, सुख्खा र हावाहुरी चल्ने मौसममा क्लिंकरको धुलोले आकाश ढाक्छ ।

त्यसबाट मानव स्वास्थ्यमा समस्या निम्त्याएको बताउँदै रक्सौलवासीले नियन्त्रणका लागि आग्रह गर्दै आएका छन् । स्थानीय बासिन्दाले १० पुसदेखि अनिश्चितकालीन यातायात अवरोधलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

स्थानीय बासिन्दाले कच्चा पदार्थ आयातमा अवरोध गरे नेपाली उद्योगहरु बन्द हुने अवस्थामा पुग्छन् । वीरगञ्जको अलौमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी -आईसीपी)मा पनि ‘डस्टी कार्गो’ ढुवानीका लागि कुनै व्यवस्था छैन ।

बारा-पर्सा करिडोरमा सञ्चालित एक सिमेन्ट उद्योगका कर्मचारीले भने, ‘क्लिंकर ढुवानीमा रक्सौलवासीले अवरोध गरेपछि अहिले मौज्दात क्लिंकर प्रयोग भइरहेको छ । एक सातासम्म त्यसैबाट काम चल्छ होला, आन्दोलन भयो भने उद्योग बन्द हुन्छ ।’

एक वर्षअघि पनि प्रदूषण नियन्त्रणको माग गर्दै रक्सौलवासीले आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलनमा रक्सौलका संघसंस्था र राजनीतिक दलहरुले पनि समर्थन गर्दै आएका छन् ।

‘वास्तवमै प्रदूषणको समस्या त छ, त्यही नियन्त्रण गर्ने आश्वासन बाँडेर नेताहरुले चुनाव पनि जितिरहेका छन्,’ रक्सौलका एक युवकले भने, ‘समय-समयमा आन्दोलन पनि भइरहेको छ । तैपनि उपलब्धि हात लाग्न छैन ।’ बर्सेनि हुने आन्दोलन २/४ दिनमै सेलाउने उनको भनाइ छ ।

स्थानीय बासिन्दाको जायज गुनासो

क्लिंकरको धूलोबाट रक्सौलका बासिन्दा मर्कामा छन् । हावा चल्ने मौसममा त्यसको धुलोका कारण यार्डमा काम गर्ने मजदुर, टि्रपर, ट्रक चालक र यार्डवरपरका बासिन्दालाई श्वासप्रश्वासमा समस्या हुने गरेको छ ।

धुलोले गर्दा कहिलेकाहीं निसास्सिने गरेको रेल्वे यार्डका चौकीदार कारी पटेल बताउँछन् । ‘हावा चलेको बेलामा त बस्नै सकिन्न, धुलोले पूरै ढाक्छ र उडेर बस्तीतिर जान्छ,’ उनले भने, ‘धुलो उडेको बेलामा न आँखा देखिन्छ, न त सास नै फेर्न सकिन्छ ।’

यार्डकै छेउमा रहेको नेपाल स्टेसनमा बस्दै आएकी ५० वषर्ीया नजानु नेसाका दुवै आँखामा क्लिंकरको धुलोले समस्या देखिएको छ । उनले वीरगञ्ज परिवानीपुरस्थित केडिया आँखा अस्पतालमा एउटा आँखाको शल्यक्रिया गरिसकेकी छन् ।

‘धेरै जनाको आँखाको अपरेसन गर्नु परेको छ,’ उनले भनिन्, ‘यार्डबाट धुलो उडेर आँखामा पर्छ, झगडा गरेर पनि समस्याको समाधान हुने होइन, के गर्ने ?’

हामी दोषी छैनौंः नेपाली उद्योगी

नेपाली उद्योगी र आयातकर्ताहरु यसमा आफूहरुको कुनै दोष नरहेको बताउँछन् । भारतीय रेल्वेले विकल्प नदिँदा स्थानीय बासिन्दा र आफूहरुले समस्या बेहोर्नु परिरहेको उनीहरुको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव तथा औद्योगिक कच्चा पदार्थ आयात तथा ढुवानीकर्ता माधव राजपाल रक्सौलवासीले माल रोक्ने वा आयातमा अवरोध गर्नु सही नभएको बताउँछन् । ‘हामीले भारतीय रेल्वेले दिएको यार्डमा सामान लोड-अनलोड गर्ने गरेका छौं, प्रदूषण नियन्त्रणको काम पनि उनीहरुकै हो, हाम्रो माल रोकेर आन्दोलन गर्ने वा माल ल्याउनै दिन्नौं भन्नु सरासर गलत हो,’ राजपालले भने ।

धुलो नियन्त्रकको प्रयोग या पानी छर्किने हो भने समस्या समाधान हुने उनको भनाइ छ । त्यसमा नेपाली आयात र लगानीकर्ताले सहयोग गर्ने उनले बताए ।

स्थानीय बासिन्दाको आन्दोलनका कारण नाका नै बन्द भएमा औद्योगिक कच्चा पदार्थ र अन्य दैनिक उपभोग्य वस्तुको आयात ठप्प हुन्छ । ‘त्यसैले समयमै सरोकारवाला बसेर छलफलबाट समस्याको समाधान गर्नुपर्छ,’ राजपालले भने, ‘यो समस्या भारतीय रेल्वेको भएकाले उसले नै समाधान निकाल्नुपर्छ । स्थानीय बासिन्दा र रेेल्वेको लडाईंको चेपुवामा हामी पर्नु दुःखद् हो ।’

यार्ड निर्माणमा ढिलाइ

रक्सौलका बासिन्दा यार्ड स्थानान्तरणको माग गर्दै अदालत पुगेका छन् । अदालतले यार्ड अन्तै सार्न आदेश पनि दिइसकेको छ । तर पनि, भारतीय रेल्वेले तदारुकताका साथ काम गर्न सकेको छैन ।

गत वर्ष मंसिरमै रक्सौलका बासिन्दाले नेपालतर्फको आवागमन अवरुद्ध पारेका थिए । त्यसबेला रक्सौल प्रशासनको चेतावनीपछि प्रदर्शनकारी पछाडि हटेका थिए ।

रेल्वेले रक्सौलबाट करिब १८ किलोमिटर दक्षिणमा पर्ने रामगढवामा यार्ड निर्माणको प्रक्रिया बढाएको छ । निर्माणमा बिलम्ब भएपछि आफूहरु फेरि आन्दोलनमा उत्रिएको स्थानीय बासिन्दा बताउँछन् ।

कुल वैदेशिक व्यापारको ५० प्रतिशत आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ । पेट्रोलियम पदार्थको अधिकांश हिस्सा पनि यही नाकाबाट भित्रिन्छ ।

भारतीय रेल्वेले रामगढवामा बनाइरहेको यार्डमा झनै समस्या हुनसक्ने शंका नेपाली आयातकर्तामा देखिन्छ । वीरगञ्जबाट नजिकै रहेको रक्सौलबाट माल ल्याउन कठिनाइ भइरहेकामा १८ किलोमिटर परबाट ल्याउन झनै समस्या हुने तर्क उनीहरुको छ ।

रामगढवाका बासिन्दाले पनि प्रदूषण नियन्त्रणको माग राखेर विरोध गर्न सक्ने सम्भावना कायम छ । नेपाली उद्योगीहरु वीरगञ्ज सुक्खा बन्दरगाहसम्म रेलसेवा आइपुगेकाले रक्सौलको सट्टा वीरगञ्जमै अनलोडको व्यवस्था मिलाउन सुझाव दिन्छन् ।

‘दिगो समाधान भनेको वीरगञ्जसम्म रेल विस्तार र जंगल वा कुनै खाली जमिनमा लगेर कार्गो अनलोडको व्यवस्था नै हो,’ राजपालले भने, ‘धुलो बाहिर जानै नदिने गरी व्यवस्था मिलाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment