४ पुस, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सदस्य निर्वाचित भइसकेका छन् । अब समानुपातिकबाट आउने ११० मा को–को पर्छन् भन्ने धेरैको चासो छ ।
तर, अबको प्रतिनिधिसभामा केही चर्चित नेताहरु ‘इन्ट्री’ हुँदा केही भने ‘आउट’ हुने भएका छन् ।
प्रतिनिधिसभामा यो पटक चित्रबहादुर केसी हुने छैनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको भाषण कलालाई धेरैले रुचाउने गरेका थिए । केसीलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकको सूचीमा पहिलो नम्बरमा राखेको पनि थियो । तर, ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसक्ने भएपछि उनी आउट भएका छन् ।
यसैगरी नेकपा मालेका अध्यक्ष सीपी मैनाली पनि प्रतिनिधिसभामा देखिने छैनन् । दुबै संविधानसभामा समानुपातिकबाट गएका उनी यो पटक पनि बन्दसूचीको तेस्रो नम्बरमा थिए । तर, मालेले थ्रेस होल्ड नै कटाउन सकेन ।
झ्यालबाट कुर्सी फालेर बबण्डर गर्ने विश्वेन्द्र पासवान, स्लोकबाट सम्बोधन गर्ने राप्रपाकी कान्ता भट्टराई लगायत पनि प्रतिनिधिसभामा हुनेछैनन् ।
प्रतिनिधिसभामा केही पुराना पात्रले भने इन्ट्री मार्ने देखिएको छ । उनीहरु मध्ये एक हुन् सरिता गिरी । उनी पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् र मन्त्री पनि बनिन् । तर, मन्त्री पदबाट बर्खास्त भइन् । साथै पार्टीको आधिकारिता विवादका कारण उनले पूर्णकार्यकाल सभासद हुन पनि पाइनन् ।
यो पटक उनी संघीय समाजवादी फोरमको खसआर्य महिलातर्फबाट समानुपातिक सूचीको पहिलो नम्बरमा छिन् । पार्टी एकता गर्दै फोरममा आएकी उनी सांसद हुने सम्भावना छ ।
यस्तै अर्बपति विनोद चौधरीको सम्भावना बलियो छ । उनी कांग्रेसको मधेसी पुरुषतर्फ पहिलो नम्बरमा छन् । चुनावमा उनी निकै सक्रिय देखिएका थिए ।
प्रतिक्रिया 4