६ पुस, काठमाडौं । विशेष अदालतले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
बिहीवार अदालतका न्यायधीद्वय बाबुराम रेग्मी र प्रमोेदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाण्डेसहित उक्त मुद्दाका अभियुक्त विभागका निलम्बित शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीसँग जनही १०/१० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
लगातार दुई दिनको थुनछेक बहसपछि उनीहरूसँग धरौटी माग गरिएको हो । धरौटी बराबरको रकम बुझाए उनीहरू साधारण तारेकमा रिहा हुनेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंगलवार पाण्डेसहित तीनै जनाविरुद्ध जनही १० लाख बिगो दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो ।
सेवाग्राहीबाट घुस लिएको पाइएपछि गत २८ कात्तिकमा आयोगको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो ।
एसआरएस मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई एक महिनाअघि आयोगले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेसँगै अख्तियारले महानिर्देशक पाण्डेलाईसमेत नियन्त्रणमा लिइ अनुसनधान अघि बढाएको थियो ।
प्रतिवादीहरूले सर्वोच्च अदालतको आदेश विपरीत मेनपावर कम्पनीको कारोबार र बैंक खातासमेत रोक्का गरेर घुसको बार्गेनिङ गरेका थिए ।
प्रतिक्रिया 4