+
+

टोपबहादुरलाई सघाउन एकजुट होलान् युएईका नेपाली संघसंस्था ?

रामप्रसाद ढुंगेल रामप्रसाद ढुंगेल
२०७४ पुष ८ गते १४:०३

युएई । दुबईको एउटा कन्ट्याक्टिङ कम्पनीमा क्रेन अपरेटर हेल्परको रुप काम गर्न आएका थिए चितवनमा टोपबहादुर बिक सुनार आजभन्दा ७ वर्षअघि । कम्पनीको आफ्नो छुट्टै प्रोजेक्ट नभएका कारण सप्लाईमा उनलाई अन्तै पठाइएको थियो ।

कम्पनीले जहाँ पठायो त्यही काम गर्नु उनको मात्र नभएर सबैको बाध्यता हो । उक्त कम्पनीले उनलाई अर्कै कम्पनीमा बेचेको कारण त्यही कम्पनीमा टोपबहादुर काम गर्न थाले ।जसोतसो परिवारको गर्जो टरेको थियो । तर, जीवनमा कहिले के हुन्छ भन्ने कसलाई थाहा हुन्छ र ?

सन् २०१४ को जुलाईतिरको कुरा हो । सधैझै उनी कामका लागि क्याम्पबाट निस्किए । काम गर्ने क्रममा अलऐनको जाखेरमा क्रेनमा काम गरिरहेका थिए । अचानक क्रेनको बकेट झरेर उनकै कम्पनीमा कार्यरत एकजना कोरियन नागरिकको मृत्युु भयो । त्यसपछि उक्त घटना प्रहरीसमक्ष पुग्यो । प्रहरीमार्फत अदालत हुँदै क्रेन अपरेटर र हेल्पर दुवैजनालाई जेल चलान गरियो ।

सन् २०१४ को सेप्टेम्बरको १ तारिख उनले जेलबाटै युएईको हाइकोर्टमा अपिल गरे । हाइकोर्टको फैसला नआउँदासम्म जेलमा रहनुपर्ने भएकाले उनले जेलमै सुनुवाइको प्रतीक्षा गरिरहे । करिब ५० दिनपछि २१ अक्टोबरमा हाईकोर्टले सुनुवाइ गर्यो । उनलाई पासपोर्ट दिएर जेलमुक्त गरियो । अरबी भाषको फैसलाको पूर्ण पाठ उनले बुझेनन् । सामान्य साक्षर टोपबहादुरलाई जेलमुक्त हुनुथियो । अरु जानकारी भएन, जान्नेबुझ्नेले बताइदिएनन् । जेलबाट निस्किएपछि उनी कम्पनीको सम्पर्कमा गए । केही दिनको आरामपछि पुःन काममा फर्किए ।

आफ्नो अदालती मुद्दा सकिएको ठान्दै ढुक्क भएर टोपबहादुर काम गरिरहेका थिए । मुद्दा सकिएका कारण उनले नेपाल र्फकने निर्णय गरे । कम्पनीसँग नेपाल फर्काइदिन आग्रह गरे । तर कम्पनीले ‘ज्यानमुद्दाको केस हो । ब्लडमनीको मुद्दा हो । समय लाग्छ तलाई घर पठाउन अहिले मिल्दैन’ भन्दै झुलाएर राखिरह्यो । त्यो बेला हाईकोर्टले जेलमुक्त गर्दा सुनाएको सबै विवरण सोझा टोपबहादुरलाई कम्पनीले गोप्य राखेको रहेछ ।

अरबी भाषाको रिपोर्ट उनले पनि बुझ्ने कुरा पनि भएन । उनले विज्ञहरुसँग बुभ्ने मौका नै पाएनन् । केस मिल्यो, जेलबाट निस्किहाल्यो भनी आफ्नो घरपरिवार सम्झी नेपाल कसरी जाने भन्ने मात्र टोपबहादुरको मनमा आइरह्यो ।

केहीपछि थाहा भयो कि अदालतले ‘दुर्घटनामा परी मरेको नागरिकको परिवारलाई दुई लाख दिराम दिनुपर्ने’ आदेश दिएको रहेछ । उक्त रकमको आधा भाग बेचिएको कम्पनी र बाँकी आधा आफू आएको कम्पनीले दिनुपर्ने अदालतको निर्णय रहेछ । ब्लडमनी बराबर तोकिएको आधा हिस्सा अर्थात् १ लाख दिराम्स (करिब २९ लाख रुपैयाँ) बेचिएको कम्पनीले तिरेर क्रेन अपरेटरलाई सफाइ दिलाई सकेको रहेछ । तर, बाँकी आधा रकम पहिलो कम्पनी र टोपबहादुरले दिनु पर्ने भनी निर्णय आएको रहेछ । त्यो कुरा भाषाको अज्ञानता र कम्पनीको लापरवाहीले टोपबहादुरले थाहा पाउन सकेनन् ।

जब उनले यो सबै यथार्थ थाहा पाए, उक्त पैसा तिरेर आफुलाई नेपाल पठाउन टोपबहादुरले आफ्नो कम्पनीमा बारम्बार दबाब दिन थाले । कम्पनीका मालिकले ‘हुन्छहुन्छ’ भनेर झुलाइरह्यो । यही आशामा बस्दा बस्दै उनको भिसाको अवधि सन् २०१५ मा सकियो । अवैधानिक भए पनि उनी कम्पनीभन्दा बाहिर गएनन् । घर जान पाउने आशमा काम पनि गर्दै रहे । त्यस अबस्थामा कम्पनीले आश्वासनमात्र दिइरहृयो ।

२०१७ जुलाईबाट कम्पनीले कुनै कन्ट्याक्ट पाउन सकेन । कम्पनी टाट पल्टदै गयो । कामदारलाई तलब दिन नसक्ने हुँदै गएको कम्पनी अन्ततः बन्द भयो । कम्पनीको मालिक रातारात सम्पर्कविहीन बन्यो । अदालतले फैसला गरेको कागजमा बिमा कम्पनीको नाम उल्लेख नगरेकाले उक्त रकम टोपबहादुर र पहिलो कम्पनीले तिर्नुपर्ने देखिन्छ ।

टोपबहादुरले ब्लडमनी स्वरुप १ लाख दिराम्स (करिब २९ लाख नेपाली रुपैयाँ) तिर्नुपर्ने हुन्छ । तर, कम्पनी नै बन्द भएपछि अब त्यतिका रकम टोपबहादुरले एक्लैले तिर्न सक्ने अवस्था छैन । सोही रकम तिर्न नसकेकै कारण उनी तीनवर्ष देखि युएईमा अन्योलमा बसिरहेका छन् । अब उनलाई कसरी सहयोग जुटाउने भन्ने प्रश्न अाएको छ ।

विगतका प्रयास

युएईको नेपाली समुदाय विभिन्न समय, अवस्था र विपत्तिहरुमा एकजुट हुँदै आएको छ । सन् १९९० मा इराक युद्धमा परेका नेपालीहरुलाई सहयोग गर्ने सिलसिलादेखि जुट्न थालेका युएईका नेपालीहरु नेपालमा भूकम्प आउँदा होस् या बाढी पहिरो जाँदा विभिन्न कालखण्डमा जुटेकै छन् ।

डोल्मा शेर्पादेखि अनिस खालिङ राई हुँदै पछिल्लोपटक साउदीमा रहेका थानेश्वर भुसालको मुक्तिका लागि एकताबद्ध भएर अगाडि बढेकै छन् ।

गत बुद्ध जयन्तीमा युएईका सामाजिक, जातीय, जिल्ला समाजका साथमा युएईका व्यवसायीहरु मिलेर संयुक्त बुद्धजयन्ती कार्यक्रम भव्यतापूर्वक मनाएर ऐक्यबद्धताको नमुना पेस गरिसकेका छन् भने युएईका ५२ बटा नेपाली संस्थाहरु मिलेर संयुक्त बाढीपीडित राहत कोष बनाई करिब ५० हजार (दिराम्स करिब १४ लाख रुपैयाँ) नेपालका विभिन्न जिल्लामा वितरण गरिसकेका छन् ।

युएईमा रहेका नेपाली सामाजिक संस्थाहरुबीचको ऐक्यबद्धताको शृंखला निकै लामो छ । समस्यामा परेका वा बेचिएका नेपाली चेलिबेटीको उद्धार, नेपाली बिरामीहरुको उपचारमा सहयोग, नेपाल फिर्ती टिकट, भिजिट भिसामा आएर अलपत्र परेका नेपालीहरुको सहयोगका लागि आआफ्नो क्षेत्रबाट सहयोग पुर्याईरहेको विगतको इतिहास छ । घरेलु कामदारका रुपमा आएका नेपाली महिलाहरु समस्यामा परेर दुतावासको सेल्टरबाट मात्र होइन, एयरपोर्टबाटै नेपाल फर्काउन युएईका नेपाली संघसंस्था क्रियाशील देखिएका छन् ।

समस्यामा परेका नेपालीहरुको पहिलो रेस्पोन्स गर्न पछिल्लोपटक एनआरएन युएई अग्रपंक्तिमा रहेको छ भने नेपाली समाज, नेपाल आदिवासी जनजाति महासंघ, युएई शाखा र त्यसमा आबद्ध जातीय संस्थाहरु, नेपालका राजनीतिक पार्टीका भातृसंगठनहरु र जिल्ला समाजहरु पनि आआफ्नो क्षमता अनुसार क्रियाशिलता प्रकट गरिरहकै छन् ।

पछिल्लोपटक युएईमा व्यावसायिक रुपमा सफल समाजसेवी व्यक्तित्व डा.दिनेश आचार्यको नेतृत्वमा यहाँको सरकारी मान्यताप्राप्त पहिलो सामाजिक संस्था ‘हामी नेपाली एसोसिएसन’ दर्ता भपछि नेपालीहरुलाई यसको छातामा रहेर सामाजिक, साँस्कृतिक, खेलकुद आदि क्षेत्रमा वैधानिक रुपमा काम गर्न सहज भएको अवस्था छ ।

सहयोग र सहकार्यको सिलसिला यत्तिमै टुङ्गिएको छैन । नेपाली दूतावासकी श्रम सहचारी हिराकुमारी यादवलाई यहाँ रहेका ३३ भन्दा धेरै संस्थाहरुले संयुक्त बिदाई कार्यक्रम गरेर युएईका नेपालीहरुले एकता, सहयोग र सहकार्यको सिलसिलालाई जोडिरहेका छन् ।

यसै मेसोमा युएईका नेपाली संघसंस्था, त्यसमा आबद्ध पदाधिकारीहरु, व्यावसायीहरु, पत्रकारहरु तथा सर्वसाधारण नेपाली मजदुरहरु फेरि एकपटक जुट्ने बेला आएको छ । आआफ्ना व्यक्तिगत इगो, घमण्ड, आग्रह र पूर्वाग्रह त्यागेर सबैले एकै अभियानमा लाग्नुपरेको छ । एउटै मञ्चमा अनि एउटै मिसनमा समर्पित हुनुपरेको छ ।  प्रश्न अब टोपबहादुरको हकमा के हुने भन्ने छ ।

कसले देखाउने अग्रसरता ?

समस्यामा परेका कामदारको हितमा काम गर्ने सयौं सामाजिक संस्थाहरु युएईमा नभएका होइनन् । नेपाली दूतावास, अबुधाबीले पनि नेपाल सरकार परराष्ट्र मन्त्रालय, रोजगार विभाग लगायत सम्बन्धित निकायसँग समन्वय गरेर उनको मुक्तिका जति प्रभावकारी पहल जति गर्नुपर्ने हो, त्यो गरेको देखिएको छैन ।

यस्तै विपत्तिमा युएईका नेपाली संघसंस्थाहरु स्वर्तस्फुर्त जुट्ने गरेको इतिहास ताजै छ । त्यो इतिहास दोहोरिन्छ या इतिहासकै पानामा कैद हुन्छ ? यसका लागि युएईका नेपाली संघसंस्थाको सक्रियताको खाँचो छ । अब यो समस्या समाधानका लागि कस्ले अग्रसरता देखाउने ? एनआरएन युएई, नेपाली समाज, नेपाल आदिवासी जनजाति महासंघ, हामी नेपाली एसोसिएसन वा कुनै जिल्ला समाज ? यिनै हुन आशाका केन्द्र ।

यीमध्ये कस्ले अग्रसरता देखाउने ? जस्ले अग्रसरता देखाए पनि सहकार्यका लागि युएईका नेपाली संघसंस्थाहरु टोपबहादुरको मुक्तिका जुट्नुपर्ने बेला आएको छ ।

विकल्प के छ ?

युएईमा क्रियाशील करिब १ सय वटा संघसंस्था छन् । प्राय सबै संघको उदेश्य समाजसेवा नै हो । सबैको आआफ्नो आर्थिक कोष छ । प्राय सबैले आपतकालीन उद्धारका नाममा हजारौ रकम जम्मा गरेका छन् । एउटा सानो जिल्ला समाजले मात्र एक कार्यकालमा १५ लाखदेखि २० दाख सम्मको आर्थिक कारोबार गरेको पाइन्छ ।

सबै संस्थाहरुले एक महिनाको लेबी बराबरको रकम टोपबहादुरको उद्धारको लागि समर्पण गर्ने हो भने अथवा युएईका सामाजिक संस्था मनैदेखि जुट्ने हो भने टोपबहादुरको घर फिर्ने सपना पूरा हुनेछ ।

टोपबहादुरले पनि एनआरएन, नेपाली समाज, हामी नेपाली एसोसिएसन लगायत युएईमा क्रियाशील सबै सामाजिक संघसंस्था, व्यावसायी तथा सबै नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेका छन् ।

(रुपेश अधिकारी र डिल्ली हुमागााईको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?