Comments Add Comment

अधिवक्ता दीपेन्द्र झाको नयाँ पुस्तक बजारमा

काठमाडौंमा शनिबार अधिवक्ता दीपेन्द्र झाद्वारा अंग्रेजी भाषामा लिखित Federal Nepal: Trials and Tribulations नामक पुस्तक विमोचन भयो ।

तेस्रो मधेस आन्दोलनको असामयिक र उपलब्धिविहीन अवसानपछि मधेसमा देखिएको निराशा र सन्नाटालाई पुस्तकमा समेटिएको छ । मधेस आन्दोलन, नेपालको संविधान निर्माण प्रकृया, यसका समर्थन र विरोधमा देखिएका स्वरहरु र विरोधी स्वरलाई दबाउन तत्कालीन राज्यसत्ताले गरेको दमनलाई यस पुस्तकले अभिलेखन गरेको लेखक अधिवक्ता तथा अधिकारकर्मी दीपेन्द्र झा बताउँछन् ।

हुन त पछिल्लो समय मधेसी पत्रकार तथा अधिकारकर्मीका पुस्तकहरु बजारमा आइरहेका छन् । यसलाई निराशाकावीच पनि सुखद पक्ष भनी विश्लेषक उज्ज्वल प्रसाई बताउँछन् ।

पुस्तक विमोचन कार्यक्रममा मधेसी तथा जनजाति युवाहरुको आक्रोशपूर्ण प्रश्न र जिज्ञासा राखिएका थिए । विमोचन कार्यक्रममा उत्साहपूर्ण सहभागिता थियो ।

कार्यक्रममा विश्लेषक सिके लालले भनेझै झाको पुस्तकमा विद्वता भन्दा पनि ‘आँखो देखा हाल’ बढी छ । यो उनको व्यक्तिगत सक्रियता, राजनीतिक नेतृत्वहरुसँगको संसर्ग, मधेस आन्दोलनको दैनिक अनुगमन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसम्मको पहुँच र कुराकानीमा आधारित भएर वर्णन गरिएको छ ।

पुस्तकले प्रजातान्त्रिक प्रणालीअनुरुप दुई तिहाई बहुमतबाट पारित भएको संविधानबारेको भ्रम चिर्ने झाले दाबी गरेका छन् ।

अन्तरिम संविधानले आरक्षणको अवधारणालाई सीमान्तकृत समुदायको हकमा आत्मसात गरेकोमा यस संविधानले खस आर्य लगायत सवैलाई आरक्षण दिएर आरक्षण पाउनुपर्ने समुदायलाई भने झन अन्यायमा पारेको झाको निश्कर्ष छ ।

पुस्तकले धेरै विषयलाई छुने कोशिश गरेको छ, मधेसीहरुको रगतबाट रक्ताम्य संविधानमाथिको दीपावली लाई मधेसीहरुले कसरी र किन कालो दिन मनाउन बाध्य थिए भन्ने विषय नै पुस्तकको शीर्षभाग हो ।

संविधान निर्माणमा भारतीय संस्थापनको भूमिका र मधेसीहरुको भारतप्रतिको दृष्टिकोण पुस्तकमा मूलधारका लेखकभन्दा पृथक रुपमा प्रस्तुत गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा लेखक झाले मधेस र मधेसीलाई भारतीय संस्थापनले समेत प्रयोग र दुरुपयोग गरिरहेकोतर्फ सजग गराउँदै मधेसीहरु भारतीयप्रति कृतज्ञ भइराख्नुको कुनै तूक नभएको धारणा राखे ।

पुस्तकमा नेपाली राज्यसत्तामात्र होइन, मधेसी नेतृत्वको कार्यकुशलतामाथि पनि प्रश्न उठाइएको छ । मधेसी भावनाको प्रतिनिधित्व नगर्ने हो भने आगामी दिनमा नयाँ नेतृत्वले सो खाली स्थान भर्ने चेतावनी झाले दिएका छन् ।

मधेसीहरु जुनसुकै ठुलो ओहदामा पुग्दापनि यहाँका संभ्रान्तले “कि त हाम्रा कि नराम्रा” भन्ने मानसिकताबाट ग्रस्त रहेकाले तिनका स्वार्थ विपरीत सत्य बोल्ने साहस गरेको खण्डमा विभिन्न प्रकारका षडयन्त्र र प्रताडनाको शिकार हुनुपर्ने गुनासोसमेत पुस्तकमा समेटिएको छ ।

मोहनकुमार कर्णबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment