Comments Add Comment

रामेछापमा पुननिर्माणको गति सुस्त, ४५ हजार घरमध्ये ८ हजार पनि बनेनन्

९ पुस, रामेछाप ।सरकारले आउने असार मसान्तसम्म भूकम्पले क्षति भएका निजी आवसको निर्माणको काम सक्ने समयसीमा तोकेको छ । तर पुननिर्माणको अहिलेको गतिलाई हेर्दा सरकारले तोकेको समयमा निर्माणको कम पुरा हुने संकेत कतै देखिँदैन ।

रामेछाप जिल्लामा ४५ हजार ५० जना भूकम्पपीडित परविार लाभग्राहीको सूचिमा छन् । त्यस्तै थप ११ हजार ८४८ ले आफूहरु लाभग्राहीको सूचिबाट छुटेको भन्दै गुनासो भरेको आधारमा पुनः सर्भे भएको छ । यी मध्ये ४२ हजार १५ जनाले निजी आवास निर्माणको लागि सम्झौता गरेर पहिलो किस्ता रकमसमेत लिएका छन् । त्यस्तै २ हजार १ सय ४९ घर परिवारले घर मर्मतको लागि सम्झौता गरेका छन् ।

अहिलेसम्म ७ हजार ७०० घर बने

रामेछापमा ५५ हजार भन्दा बढी निजी आवास बन्नु पर्नेमा हालसम्म जम्मा ७ हजार ७ सय घरको निर्माण कार्य मात्र सम्पन्न भएको छ । अझै ४५ हजार भन्दा बढी घरहरु बन्न बाँकि छन् । नयाँ आवास निर्माणको लागि सम्झौता भएका घरहरुलाई मात्र हेर्ने हो भने पनि अझै ३४ हजार ३ सय १५ घरहरुको निर्माण हुन बाँकी छ । यस हिसावले सरकारले तोकेको असार मसान्तसम्म यति धेरै घरहरु बन्ने कुरा असम्भव जस्तै छ ।

पुननिर्माण प्राधिकरणको जिल्ला कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख ऋषिराज आचार्यका अनुसार अहिले २२ हजार १ सय घरहरुको भने निर्माण सुरु भएको छ । घरको जग उठाएर दास्रो किस्ता रकम माग गर्नेको संख्या १३ हजार ५ सय पुगेको छ । हालसम्म दास्रो किस्तासम्म रकम लिनेहरुको संख्या १२ हजार १ सय ५० पुगेको छ ।

घरको निर्माण पुरा गरी तेस्रो किस्ता रकम माग गर्ने लाभग्राही हरुको संख्या ४ हजार ९ सय रहेको आचार्यले जानकारी दिए । जिल्लामा ७ हजार ७ सय घर बने पनि तेस्रो किस्ता रकम लिने लाभग्राहीको संख्या भने ३ हजार ७ सय मात्र छ ।

दक्ष डकर्मीको अभाव

भूकम्पको कारण घर भत्किएकाहरुले निर्माणको काम एकैपटक सुरु गरेका छन् । तर काम गर्ने दक्ष कामदारहरुको अभावका कारण निर्माणले गति लिन सकेको छैन । प्राधिकरण रामेछाप प्रमुख आचार्यका अनुसार अहिले ६ हजारभन्दा बढी दक्ष कामदारको खाँचो छ ।

अहिलेसम्म विभिन्न संस्था र प्राधिकरणले समेत ४ हजार कामदारलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । तालिम लिएकामध्ये पनि कतिपय काममा छैनन् । यसले गर्दा सीमित कामदारले निर्माणको काम गर्दा धेरैका घरहरु जग उठाएर छाडिएका छन् । पालो गर्दै मिस्त्रीहरुले काम गर्नु परेकाले सेवाग्राहीहरु मिस्त्रीको पर्खाइमा छन् ।

प्राविधिकहरुको अस्थिरताले समस्या

प्रतिरोधी भवन निर्माणका लागि पुननिर्माण प्राधिकरणले गाउँगाउमा प्राविधिकहरु खटाएको छ । गाउँमा खटिएका इञ्जिनियरहरु बारम्बार जागिर नै छाडेर जाने तथा भएका प्राविधिकहरु पनि नियमति रुपमा कार्यक्षेत्रमा नबस्दा लाभग्राहीलाई परामर्श लिन तथा आफ्ना कागजातहरु समयमा नै बुझाउन समस्या हुने गरको छ ।

यसै कुरालाई ध्यानमा राखि प्राधिकरणले अहिले स्थानीय तहकै मातहतमा रहने गरी प्राविधिक खटाएको प्राधिकरणको जिल्ला प्रमुख आचार्य बताउँछन् । गाउँमा अहिले इञ्जिनियर र सव इञ्जिनियर समेत गरी १०२ जना प्राविधिक खटिएको उनले बताए ।

भवन निर्माणमा पानीकै समस्या

रामेछापका साविकका २५ वटा भन्दा बढी गाविसहरु सुक्खाग्रस्त छन् । ती स्थानमा पुनर्निर्माणको लागि जनतालाई पानीको समस्या छ । २ रुपैयाँ लिटरसम्म पानी किनेर गाउँमा पुर्‍याउने सर्वसाधारणलाई घर बनाउन पानी ढुवानी निक्कै खर्चिलो बनेको छ । यसले गर्दा पुननिर्माणको काममा चुनौती भएको प्रमुख आचार्य बताउँछन् ।

यसैगरी कतिपयले लाभग्राहीको सूचिमा परी पहिलो किस्ता रकम लिएका भए पनि उनीहरु काठमाडौँका स्थायी वासिन्दा भएकाले घर बनाउन चासो नदिएको आचार्य बताउँछन् ।

अन्त भन्दा रामेछापमा राम्रो

हालसम्म ७ हजार ७ सय घरको निर्माण सम्पन्न भएको भए पनि रामेछापमा पुननिर्माणको काम अन्य जिल्लाको तुलनामा निक्कै अघि बढेको प्रमुख आचार्य बताउँछन् । ‘अन्य जिल्लामा भन्दा हाम्रोमा राम्रोसँग काम अघि बढेको छ ।’ तर, असार मसान्तसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न हुनेमा भने स्वयम् प्रमुख नै विश्वस्त छैनन् । भने, ‘यही गतिमा काम अघि बढे हामीले असारसम्म राम्रो प्रगति गर्छाैं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment