+
+
Shares

सावधान ! शरीरमा देखिने यस्तो दाग हुनसक्छ घातक

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १० गते १३:४०

कहिलेकाहिं शरीरमा कालो वा गाढा निलो दाग देखिने गर्छ । कुनै जनवारले टोके जस्तै लाग्ने यस्तो दाग शरीरमा कसरी भयो ? हामीलाई आश्चर्य लाग्छ ।

विगतमा यस्तो निलडाम देखिए भन्ने गरिन्थ्यो, लौ बोक्सीले टोकेछ । यहि कारण कतिले धामीझाँक्री राख्ने गर्थे । अहिले पनि यो क्रम टुटेको छैन । बिहान उठ्दा शरीरमा निलडाम देखिए ‘बोक्सीले टोकेको’ भ्रम पाल्ने गरिएको छ । तर, विशेषज्ञहरुले यसको कारण भिन्नै बताएका छन्, जसलाई सामान्य मान्न सकिदैन । उनीहरुका अनुसार यो दागले घातक नतिजा पनि दिनसक्छ ।

के हो त यो ?

भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. अजय झाका अनुसार शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तश्रावका कारण हुने गर्दछ ।

झाका अनुसार एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदी कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

विशेषगरी,  ३०  हजार भन्दा कमको संख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क , पेट लगायतको भागबाट समेत आन्तरिक रक्तश्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्धारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

के हो प्लेटलेट्सको कमी ?  

मानव शरीरमा रक्तसञ्चारका लागि रातोरक्त कोषिका, सेतो रक्तकोषिका तथा प्लेटलेट्स महत्वपूर्ण मानिन्छ । बोनम्यारो अर्थात नानी मासुमा बन्ने यस्ता कोषिकाले रगत बनाउने काम गर्छ ।

यदी कुनै कारणवस बोनम्यारोले प्लेटलेट्स बनाउन नसकेको अवस्थामा रगत नजम्ने र त्यसबाट रक्तश्राव हुने स्थितिको सिर्जना हुने गर्दछ ।

शरीरमा बोनम्यारो सम्बन्धि रोगहरु -ल्युकेमिया, लिम्फोम, माइलोमा, माइलोडिसप्लास्टिक, माइलाबाइबोसिस) भएमा पनि प्लेटलेट्सको उत्पादनमा कमी भई थ्रोम्बोसाइटोपेनिया हुने गर्दछ । इम्यून थ्रोम्बोसाइटोपेनिया प्लेटलेट्स सम्बन्धि रोग हो ।

किन हुन्छ शरीरमा प्लेटलेट्सको कमी ?

मानिसको रगतमा विभिन्न कारणले प्लेटलेट्सको कमी  हुने गर्दछ । आणुवंशिक रोग, रक्त क्यान्सर, किमोथेरापी, विभिन्न औषधीको प्रयोग, विभिन्न रोगको संक्रमणका कारण पनि शरीरमा प्लेटलेट्सको कमी हुने गर्दछ ।

शरीरमा प्लेटलेट्सको कमी भएमा शरीरबाट रक्तश्राव हुने गर्दछ । यस्ता रक्तश्रावलाई  समयमै नरोके शरीरमा रगतको कमी भई ज्यान समेत जान सक्छ ।

शरीरमा प्लेटलेट्सको कमी र दाग

मानव शरीरमा प्लेटलेट्सको कमी भएमा शरीरका विभिन्न भागबाट आन्तरिक वा बाह्य  रक्तश्राव हुने गर्दछ । छालाको तलपट्टी वा भित्री भागमा आन्तरिक रक्तश्राव भएमा शरीरका विभिन्न भागहरुमा निल डाम वा टाटा देखिने गर्दछ । शरीरको कुनै एक ठाउँमा मात्र पनि यस्ता दाग देखिनु आफैमा घातक हो ।

शरीरको कुनै एउटा अंगमा दाग देखिनु भनेको त्यस ठाउँमा आन्तरिक रक्तश्राव हुनु भएकोले शरीरका कुनै एक अंगमा आन्तरिक रक्तश्राव हुने व्यक्तिलाई शरीरको जुनसुकै भागबाट रक्तश्राव हुने खतरा उत्तिकै हुन्छ ।

शरीरमा रक्तश्राव हुनुको लक्षण

शरीरमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ । विशेषगरी शरीरमा प्लेटलेट्सको कमी हुने व्यक्तिलाई गिजाबाट रगत बग्ने, नाकबाट रगत बग्ने, महिनावारी हुदाँ धेरै रगत बग्ने, पिसाबमा रगत देखिने, कालो दिशा आउने, शरीरमा दाग वा निल डाम देखिने गर्दछ । यस्ता लक्षण हुने व्यक्तिको रगतमा प्लटलेट्सको कमी हुने गर्दछ ।

हात खुट्टामा धेरै रक्तश्राव हुनुका कारण 

शरीरका अन्य भागको तुलनामा हात, खुट्टा बढी चल्ने गर्दछन्, जसका कारण हात, खुट्टाका मांसपेशी बढी चलायमान भई ठोक्किने गर्दछ र उक्त ठाउँहरुमा दाग बस्ने तथा आन्तरिक रक्तश्राव हुने गर्दछ । तर यदी कुनै मानिस जसलाई कतै चोटपटक लागेको छैन तर शरीरमा दाग वा निल डाम छ भने चाहिँ उनीहरुले विशेष सर्तकता अपनाउन जरुरी छ ।

रक्त क्यान्सर भएका व्यक्तिलाई अक्सर प्लटलेट्सको कमी हुने भएकाले यदी कुनै व्यक्तिको शरीरमा बारम्बार निलडाम देखिन्छ वा दाग देखिन्छ भने, एक पटक अवश्यक चिकित्सकका जाँच गराउनु पर्दछ ।

के छ त उपचार ?

शरीरमा प्लेटलेट्को कमी हुनु खानपानसित नहुने भएकोले, प्लेटलेट्सको कमी हुने व्यक्तिलाई औषधीद्धारा वा शरीरमा प्लेटलेट्स चढाएर पनि उपचार गर्न सकिन्छ ।

तर कुनै पनि रोग लाग्नु भन्दा नलाग्नुु नै बेस भएकोले यस्ता समस्या भएकाले विशेष सावधानी अपनाउन जरुरी छः

बच्ने उपाय

चोटपटक लाग्न नदिने

धारिलो हतियारको प्रयोग नगर्ने

चोटपटक लाग्ने खालका खेलकुदमा भाग नलिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?