Comments Add Comment

नेपालको लाइफ लाइनमै ट्राफिक जामको कहर

नाकामा फ्लाइओभर र ओभरहेड पुलको माग


११ पुस, वीरगञ्ज । काठमाडौं उपत्यकाले केही समययता ट्राफिक जामको चर्को समस्या बेहोर्दै आएको छ । काठमाडौंको लाइफ लाइन मानिने वीरगञ्ज–रक्सौल नाकाको अवस्था पनि त्यसभन्दा फरक छैन ।

कच्ची सडक र जामको समस्याका कारण अत्यावश्यक पर्दा मात्र स्थानीय बासिन्दा रक्सौल आउजाउ गर्छन् । खासगरी, भन्सारदेखि रेलमार्गको क्रसिङसम्म ट्राफिक जामको समस्या चर्को छ । रेल आउजाउ गर्ने समयमा रेलमार्गको गेट बन्द हुने भएकाले नाका आउजाउ गर्न कठिन हुने गरेको छ ।

त्यसको मारमा दुवै मुलुकका बासिन्दा पर्दै आएका छन् । पर्साको बहुदरमाई नगरपालिका विश्रामपुरका इब्राहिम देवान भन्छन्, ‘रक्सौल गएपछि निस्किन पाइँदैन, रेल आउने समयमा त दुई घण्टासम्म उतै थन्किनुपर्छ ।’

करिब तीन वर्ष अघिसम्म जामको यति चर्को समस्या थिएन । जामकै कारण उद्योगी÷व्यवसायीहरुले करोडौं रुपैयाँ ड्यामरेज र डिटेन्सन शुल्क तिर्दै आएका छन्, भारतीय कम्पनीहरुलाई ।

किन हुन्छ सँधै जाम ?

मुलुककै प्रमुख भन्सार नाकामा जाम हुनुको एउटा मात्रै कारण छैन । पहिलो त वीरगञ्ज–रक्सौल सडक अन्तर्राष्ट्रिय मार्ग भए पनि त्यस स्तरको छैन ।

रक्सौल रेल्वे साइडिङदेखि भन्सारसम्मको सडक दयनीय र जर्जर छ । त्यसको मर्मत सम्भार नभएको लामो भइसकेको छ । मितेरी पुल एकदमै साँघुरो र जीर्ण छ ।

दैनिक तीन सयभन्दा बढी पेट्रोलियम पदार्थ बोकेका गाडी, तीन सयभन्दा बढी क्लिंकर र कोइलाका सवारी तथा करिब पाँच सय अन्य मालवाहक साधन उक्त नाकाबाट भित्रिन्छन् ।

त्यसको दोब्बर संख्यामा साना सवारी साधन ओहोरदोहार गर्छन् । मोटरसाइकल, टाँगा र टेम्पोको चाप पनि सडकमा उत्तिकै हुन्छ । सँगैसँगै विभिन्न कामले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने हजारौं मानिस जाममा पर्छन् ।

ट्राफिक व्यवस्थापनका लागि दुवैतिर भरपर्दो प्रविधि र जनशक्ति उपलब्ध छैन ।

रक्सौल सडक मर्मतलाई भारततर्फ तीन सय करोडको ठेक्का, नेपालतिर छैन चासो

खासगरी, रक्सौल रेल्वे क्रसिङका कारण सवारीसाधन र यात्रुको चाप सडकमा हुने गर्छ । उक्त स्थानमा आकाशे पुल निर्माण गर्न भारत सरकारले निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

चौबीसै घण्टा काम गर्ने वातावरण हुँदाहुँदै दुवैतर्फका भन्सार राति ११ देखि बिहान ६ बजेसम्म बन्द हुन्छन् । भन्सार अधिकारीहरुका अनुसार राति कारोबार गर्न समस्या हुने भएकाले बन्द गर्नु परेको हो । रक्सौलदेखि सुख्खा बन्दरगाह जोड्ने सडक सञ्चालनमा आउन सकेको छैन ।

वीरगञ्ज भन्सारका सूचना अधिकारी सन्तोष यादव नाका क्षेत्रमा जाम हुनुको दोषी भन्सार नरहेको बताउँछन् । ‘आइतबार निकै ठूलो जाम भएको थियो किनकि भारतीय भन्सारमा सिस्टम अपग्रेड हुँदै थियो । उनीहरुले एउटा पनि गाडी पठाउन सकेनन्,’ यादव भन्छन्, ‘सोमबार क्रिसमसको विदा थियो, खासै जाम भएन । विदाको दिन भए पनि तेस्रो मुलुकबाट आउने कन्टेनरहरु भित्रिइरहेका थिए ।’

सूचना अधिकारी यादवका अनुसार चाडबाड र विवाहको समयमा मानिसको चहलपहल बढी हुने गरेकाले पनि जाम हुने गरेको छ ।

समाधान फ्लाइओभर र ओभरहेड पुल

उक्त सडकमा जामको समस्या रातारात देखिन थालेको भने होइन । कुनैबेला वीरगञ्ज भन्सार छेउछाउमा जाम हुँदैन । मितेरी पुल पार नगर्दै रक्सौलतिर चर्को जाम हुन्छ । कुनैबेला भने रक्सौलतिर खाली हुन्छ, वीरगञ्जतर्फ पाइला राख्ने ठाउँ हुँदैन ।

मोटरसाइकल चालकहरुले जथाभावी चलाउँदा समस्या हुने गरेको वीरगञ्जका शिवनाथ यादव बताउँछन् । टाँगावालाहरुले पनि अनियन्त्रित ढंगले चलाउने गरेका छन् ।

यादव भन्छन्, ‘सडकको बीचमा डिभाइडर राखेर दायाँ र बायाँ वान वे बनाइदियो भने जामको समस्या न्यून हुन सक्छ ।’

उक्त सडक र मितेरी पुलको अवस्था सुधार गर्न नेपाल र भारत सरकार गम्भीर हुनुपर्ने, नाकालाई व्यवस्थित बनाउन पूर्वाधार विकास गरिनुपर्ने, रेल्वे क्रसिङमा आकाशे पुल या फ्लाइओभर निर्माण हुनुपर्ने माग दुवैतर्फका अगुवाहरुले गर्दै आएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा भन्छन्, ‘अहिले गाडीहरु बढी आउन थालेका छन् र रेलको आउजाउ पनि बाक्लिएको छ । त्यसैले फ्लाइ ओभर या ओभरहेड पुल अत्यावश्यक भइसकेको छ ।’

रक्सौलतर्फको राजमार्ग चाँडै मर्मत हुने स्थानीय अधिकारीहरुको दाबी छ । हालसम्म ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त सडक मर्मत हुन सकेको थिएन ।

भारतीय जनता पार्टीका पश्चिम चम्पारण बेतियाका सांसद डा. सञ्जय जयसवाल भन्छन्, ‘सन् १९९० मा रक्सौलको सडक राम्रो थियो तर अहिले एकदमै खराब छ । स्तरोन्नतीका लागि तीन सय करोडको ठेक्का प्रक्रियामा छ ।’

सांसद डा. जयसवालका अनुसार १५ करोडभन्दा बढी लागतमा रक्सौल–मोतिहारी सडक मर्मतको काम शुरु भइसकेको छ । ‘त्यताको काम सकिएपछि रक्सौलको दुर्दिन पनि समाप्त हुने विश्वास छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment