Comments Add Comment

प्रदेश ७ को मुख्यमन्त्री वीरमान कि झपट ?

एमाले नेता 'रिङ आउट' भएपछि माओवादीको दाबी

११ पुस, काठमाडौं । केन्द्र र प्रदेश सरकार गठनको तयारी भइरहेका बेला प्रदेश ७ को मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ ।

चुनाव अघिसम्म मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा रहेका एमाले नेता कर्णबहादुर थापा प्रदेशसभा सदस्यमै नआउने भएपछि मुख्यमन्त्रीका लागि नयाँ अनुहारले दाबी सुरु गरेका छन् ।

३३ प्रतिशत महिला प्रतिनिधित्वका कारण समानुपातिकको दोस्रो नं. मा रहेका थापा सांसद बन्न नपाउने भएका हुन् ।

मुख्य दाबेदार थापा सांसद नै नबनेपछि प्रदेश ७ मा मुख्यमन्त्री वाम गठबन्धनबाट माओवादीको भागमा पर्ने सम्भावना बढेको छ ।

माओवादीको सम्भावना बढेपछि माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुले आकांक्षा प्रस्तुत गर्न थालेका हुन् ।

माओवादीका तर्फबाट पहिलो नम्बरमा पोलिटब्युरो सदस्यसमेत रहेका वीरमान चौधरीको चर्चा चलेको छ ।

कैलाली क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा विजयी चौधरीले पार्टीको नेतृत्वमा सरकार गठबन गर्ने अवसर आएको खण्डमा आफू नै पहिलो दाबेदारका रुपमा रहेको बताए । ‘गठबन्धनबाट कुन पार्टीले नेतृत्व गर्ने भन्ने कुरा प्रारम्भिक चरणमै छ,’ चौधरीले भने, ‘यदि पार्टीले नेतृत्व गर्नुपर्ने अवसर आए मेरो नै पहिलो दावेदारी हो, तर अन्तिम निर्णय पार्टीकै हुन्छ ।’

प्रदेश ७ मा माओवादीका तर्फबाट विजयी भएका ४ समानुपातिकसहित १४ जना मध्ये आफूनै बरिष्ठ भएकोले पनि सम्भावना भएको चौधरीले बताए ।

थारु समुदायको प्रतिनिधित्वसँगै संविधानसभाको पूर्व सदस्य भएकाले पनि आफ्नो दावेदारी स्वाभाविक भएको चौधरीले बताए ।

वीरमानले आफूलाई पहिलो नं. मा राखे पनि प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट झपट बोहराले लविङ गरिरहेका छन् ।

अछाम क्षेत्र नं. १ (ख) बाट निर्वाचित बोहराले समेत आफूले प्रदेश ७ लाई हाक्न सक्ने भन्दै पार्टीबाट नेतृत्व गर्नुपर्ने भए आफ्नो दाबी रहने बताए । ‘प्रदेश ७ को नेतृत्व माओवादीलेनै गर्नुपर्ने सम्भावना छ । यदि यसो भयो भने मेरो पनि आकांक्षा हुन्छ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म प्रदेश हाँक्न सक्छु, प्रदेशको भविष्यका लागि पनि मेरो दाबी रहन्छ, तर पार्टीको निर्णय मान्छु ।’

मुख्यमन्त्रीका दाबेदार बोहरा अछामबाट चुनाव प्रदेश सांसद बनेपनि कैलालीको धनगढी निवासी हुन् । बैंकिङ क्षेत्रमा आवद्ध भएका उनी केही वर्ष अघि मात्रै माओवादीमा प्रवेश गरेका थिए । बोहरा हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत हुन् ।

कुल ५३ सदस्य रहेको प्रदेश ७ मा समानुपातिकसहित एमालेले २४, माओवादीले १४ प्रदेशसभा सदस्य जितेको छ । दुई सिट राजपा र बाँकी १३ सिट कांग्रेसले जितेको छ ।

वामपन्थीको सिट संख्या सरकार गठनका लागि पर्याप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment