+
+
Shares

पुनर्निर्माण प्राधिकरणको दाबी–४६ प्रतिशत प्रगति हासिल गर्‍यौं

साढे ३ खर्ब बजेट अपुग, आगामी अाथिक वर्षमा दाता सम्मेलनकाे तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते १६:११

१२ पुस, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले घर निर्माणमा ४६ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ ।

गठनको दोस्रो वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भूसालले भूकम्पबाट अतिप्रभावित जिल्लामा घर निर्माणमा ४६ प्रतिशत उपलब्धी हासिल भएको बताए ।

प्राधिकरणका अनुसार भूकम्पबाट प्रभावित १४ जिल्लामा हालसम्म ७९ हजार पाँच सय १४ निजी घरको निर्माण सम्पन्न भएको छ । ती जिल्लामा दुई लाख ७३ हजार छ सय १४ घर निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । अतिप्रभावित जिल्लामा पाँच लाख ९५ हजार तीन सय ३० घर निर्माणका लागि सम्झौता भएको छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट प्रभावित ३१ जिल्लामा एक लाख ९४ हजार एक सय ९६ घर निर्माणको चरणमा छन् । प्राधिकरणले भूकम्प प्रभावित छ लाख ७६ हजार आठ सय ४९ लाभग्राहीसँग अनुदान सम्झौता गरेको छ ।

त्यसमध्ये छ लाख ६४ हजार छ सय ४४ लाभग्राहीले अनुदानको पहिलो किस्ता पाएको प्राधिकरणको दावी छ । यो अनुदान सम्झौता गरिएका भूकम्पपीडितको ९८ प्रतिशत हो ।

त्यस्तै, एक लाख १५ हजार एक सय ९२ जनाले दोस्रो किस्ताबापतको एक लाख रुपैयाँ पाएका प्राधिकरणको भनाई छ । यो अनुदान पाउने लाभग्राहीको १७ प्रतिशत हो । तेस्रो किस्ता पाउने लाभग्राहीको संख्या भने २६ हजार चार सय ५४ मात्रै छ ।

सरकारले भूकम्पबाट प्रभावित ३१ जिल्लाका सात लाख ६७ हजार सात सय पाँच पीडितलाई अनुदान लाभग्राहीको सूचीमा राखेको छ ।

प्राधिकरणका सचिव मधुसुदन अधिकारीले भूकम्पप्रभावित जिल्लामा दुई हजार सात सय ४१ सामुदायीक विद्यालयको निर्माण सम्पन्न भएको बताए । यो कुल निर्माण गर्नुपर्ने विद्यालय संख्याको ३६ प्रतिशत हो । १३ प्रतिशत विद्यालय अझै निर्माणको क्रममा रहेको उनले बताए ।

भूकम्पबाट क्षति पुगेका एक सय ७७ सार्वजनिक भवनको निर्माण सम्पन्न भएको छ । दुई सय तीन यस्ता भवन निर्माणधीन रहेको प्राधिकरणको भनाई छ । भूकम्पबाट मुलुकभर चार सय ८३ सार्वजनिक भवनमा क्षति पुगेको थियो ।

हालसम्म दुई सय ५७ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट एक हजार एक सय ९७ भवनमध्ये एक सय १९ स्वास्थ्य संस्था निर्माणाधीन छन् ।

यसैगरी भूकम्पबाट क्षति पुगेका सात सय ५३ पुरातात्विक सम्पदामध्ये हालसम्म ७९ सम्पदाको निर्माण सम्पन्न भएको छ । तीन सय १४ यस्ता सम्पदा निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सीईओ भूसालले पछिल्लो समय पुनर्निर्माणको प्रगति उत्साहप्रद भएको दावी गरे । ‘हामीले ४० प्रतिशत समयमा पुनर्निर्माणमा राम्रो प्रगति हासिल गरेका छौं,’ उनले भने, ‘यही गतिमा काम गर्न पाएको खण्डमा आगामी पाँच वर्षमा हामी पुनर्निर्माणको काम सम्पन्न गर्छौं ।’

आगामी असारसम्म सबै भूकम्पपीडितलाई सुरक्षित छानोमा बसाउने उनको प्रतिवद्धता छ ।

सीईओ भूसालले प्राधिकरणलाई आगामी आवमा घर पुनर्निर्माणका लागि बजेट अपुग हुने स्थिति देखिएको बताए ।

उनका अनुसार भूकम्पबाट भएको क्षति पुनर्निर्माणका लागि प्राधिकरणलाई करीव साढे तीन खर्ब रुपैयाँ बजेट अपुग हुने देखिएको छ । त्यसको जोहोका लागि आगामी आवमा दाता सम्मेलन गर्ने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?