 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि १४ जिल्लामा पासपोर्ट सिस्टम ध्वस्त भएर विभागमा पासपोर्ट बनाउने सेवाग्राहीले दैनिक ५ सयदेखि ८ सय फारम मात्र भर्न पाएका छन्।
- पासपोर्ट वितरणमा ढिलाइ र सेवा सुस्त हुँदा बिचौलियाहरू सक्रिय भएका छन् र दुई जनालाई पैसा असुल्ने आरोपमा पक्राउ गरिएको छ।
- विदेशस्थित नेपाली दूतावासले प्राविधिक कारणले पासपोर्ट छपाइमा ढिलाइ भएको र १९ भदौपछिका आवेदनका पासपोर्ट कार्यालयमा नआएको जनाएको छ।
१४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि सेवाग्राहीहरूले पासपोर्ट बनाउन पुन: सास्ती खेप्न थालेका छन् । जेनजी आन्दोलनपछि राहदानी विभागमा पासपोर्ट बनाउन जाने सेवाग्राहीहरू अनेक सास्ती खेप्न बाध्य भएका हुन् ।
विभागले २९ भदौमा सूचना जारी गर्दै दैनिक ५ सय थान आवेदन लिन मिल्ने ‘स्लट’ उपलब्ध गराइ राहदानी सेवा पुन: सुरु गरिएको जनाएको थियो । ती स्लट हरेक दिन साँझ ६ बजेदेखि विभागको वेबसाइटमा उपलब्ध हुने जनाएको थियो ।
विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार जेनजी आन्दोलन क्रममा विभिन्न १४ जिल्लामा पासपोर्ट सिस्टम बन्द भएका थिए ।
‘जेनजी आन्दोलन पछाडि अहिले फारम संख्या कम खुलाएका छौं, कम खुलाएको हुनाले पब्लिकलाई समस्या भएको छ, जेनजी आन्दोलन क्रममा भएको आगजनीले झन्डै १४ जिल्लामा सबै सिस्टम ध्वस्त भए,’ पन्थीले भने, ‘त्यहाँ बनेको पासपोर्ट पनि धेरैजसो जल्यो अथवा नष्ट भयो, अनि त्यसपछिड त्यहाँ बनेका पासपोर्टहरूको एप्लिकेसन यहाँ हुन थाल्यो ।’

विभागका महानिर्देशक तीर्थराज अर्यालले विभागमा पासपोर्ट बनाउनेको चाप बढे पनि सोही अनुसार सेवा प्रवाहमा समस्या भइरहेको बताए । जिल्लामा पासपोर्टहरू जलेको, सिस्टम जलेका कारण पासपोर्ट वितरण हुन नसक्दा केन्द्रमा चाप बढेको उनको भनाइ छ ।
विदेशमा रहेका नेपालीलाई समेत पासपोर्ट बनाउन समस्या देखिएको छ । जसले गर्दा मिसनमा समेत समयमै पासपोर्ट पठाउन नसकिएको सूचना अधिकारी पन्थीले बताए । जिल्लाका समस्याले गर्दा हाल विभागमा दैनिक ५ सयदेखि ८ सय हाराहारी फारम खुलाउने गरिएको छ ।
‘मिसनको पासपोर्ट लिने काम, सबमिसन हुने काममा समस्या छैन, तर हाम्रोबाट प्रिन्ट भएर जाने काम ढिलो भएको छ,’ पन्थीले भने, ‘क्षति भएका जिल्लामा सामान पठाउन सकेका छैनौं, जसले गर्दा पहिलाकै अवस्थामा फर्किन सकेको छैन ।’
बिचौलियाको बिगबिगी, २ जना पक्राउ
पासपोर्ट वितरण सुस्त हुन थालेसँगै बिचौलियाहरू पुन: सक्रिय हुन थालेका छन् । राहदानी विभाग वरपर बिचौलियाहरू सक्रिय देखिने गरेका छन् ।
अनलाइनखबरकर्मी बिहीबार विभाग परिसर पुुग्दा बिचौलियाहरू सेवाग्राहीसँग पैसाको बार्गेनिङ गरिरहेका थिए ।
विभागको गेट अगाडि उभिएका दुई युवती हातमा क्लियर ब्याग बोकेर हिँडिरहेका थिए । अन्योलग्रत अवस्थामा हिँडिरहेका उनीहरूलाई कालो क्याप, मुखमा मास्क लगाएका एक व्यक्तिले नजिकै पुगेर अनलाइन फारम भरिदिनेदेखि पासपोर्ट बनाएर दिनेसम्मको कुरा गरे ।
त्यसका लागि २ हजार ५ सय रुपैयाँ लाग्ने बताए । जसमा ५ सय मात्रै आफ्नो र बाँकी २ हजार रुपैयाँ भित्र ‘सरहरू’ लाई दिनुपर्छ भने ।

‘तपाईंहरू केही गर्नुपर्दैन, मेरै दाइको पसलबाट अनलाइन आवेदन भरिदिन्छु, त्यसपछि भित्र पासपोर्ट बनाउनका लागि सबै सेटिङ मिलाएका हुन्छौं,’ ती बिचौलियाले भने, ‘पासपोर्ट समेत बनाएर तपाईंको हातमै दिन्छौं, त्यसका लागि हाम्रो चार्ज २५ सय लाग्छ ।’
विभागमा आउने सेवाग्राहीलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाका आधारमा प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग पासपोर्ट बनाइदिने भन्दै पैसा असुल्ने दुई जनालाई कालिमाटी प्रहरी वृत्तको टोलीले पक्राउ गरेको विभागले जनाएको छ ।
भ्रष्टाचारजन्य गतिविधिका सम्बन्धमा जो कोहीविरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गरेको जनाउँदै विभागले कुनै पनि बहानामा सेवाग्राहीबाट रकम असुली/ठगी गर्नेबाट सावधान रहन अनुरोध गरेको छ ।
अनलाइन फारम भर्नै समस्या
अनलाइन आवेदन भरेपछि मात्रै राहदानी बनाउने प्रक्रिया अघि बढ्छ । जेनजी आन्दोलन अघिसम्म देशभरि तथा विभागमा समेत सहजै पासपोर्ट बनाउन सकिन्थ्यो । तर, यतिबेला भने अनलाइन आवेदन भर्न नै मुस्किल पर्छ ।
दुई दिन बिहानदेखि बेलुकासम्म विभाग धाएर पासपोर्ट बनाएका काभ्रेका हरि थापाले अहिलेको समयमा पासपोर्ट बनाउन सक्नु भनेको भाग्यमानी हुने बताए ।
‘सुरुमा अनलाइन फारम नै भर्न सकिएन, बल्लबल्ल फारम भरेको थिएँ, हिजो र आज दुई दिन धाएपछि बल्ल बन्यो,’ पासपोर्ट हातमा परेपछि खुसी हुँदै थापाले भने ।
दशैंअघि आवेदन फारम भरेका अर्का एक सेवाग्राहीले पासपोर्ट लिनका लागि आएको म्यासेजका आधारमा आफू आएको बताए ।
‘हिजो फोनमा म्यासेज आएको थियो,’ उनले भने, ‘भोलि विभागमा आएर आफ्नो पासपोर्ट संकलन गर्नुहोला भनेर म्यासेज आएको थियो, दिउँसो १ बजेतिर आएको थिएँ, एक घण्टाजतिमा पासपोर्ट हातमा पर्यो ।’
मिसनमा समेत समस्या
विदेशमा रहेका नेपालीको समेत पासपोर्ट बनाउन समस्या देखिएको छ । दूतावासहरूले सूचना जारी गर्दै त्यसबारे जानकारी दिन थालेका छन् ।
मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गर्दै प्राविधिक कारण राहदानी छपाइ कार्यमा ढिलाइ भएकाले राहदानीहरू दूतावासमा आइपुग्न नसकेको जनाएको छ । दूतावासको सूचनाका आधारमा मात्रै राहदानीका लागि सम्पर्क गर्न अनुरोध गरेको हो ।

विभागका सूचना अधिकारीे पन्थीले समेत विभागबाट राहदानी प्रिन्टमा ढिलाइ हुँदा सम्बन्धित देशमा पठाउन समेत ढिलाइ भइरहेको बताए ।
१९ भदौपछिका पासपोर्ट आइपुगेका छैनन् : जिल्ला प्रशासन कार्यालयहरू
जिल्ला प्रशासन कार्यालयहरूले राहदानीका विषयमा सूचना जारी गर्दै तत्काल प्राप्त नभएको जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले विभागबाट राहदानी प्राप्त नभएको बताउँदै प्राप्त भएपछि जानकारी गराइने जनाएको छ ।
१९ भदौसम्म राहदानीका लागि पर्न आएका आवेदनका अधिकांश राहदानी छापिएर आइसकेको जनाएको छ । त्यसपछि परेका आवेदनहरूको राहदानी हालसम्म विभागबाट कार्यालयमा आइनसकेको जनाएको हो ।
काभ्रे लगायत जिल्ला प्रशासन कार्यालयहरूले समेत राहदानी प्राप्त नभएको बेहोरोको सूचना जारी गर्दै आएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4