Comments Add Comment

थामिएन नेप्सेमा दोहोरो अंकको गिरावट

टेलिकमका कारण ठगिए लगानीकर्ता

 

१२ पुस, काठमाडौं । बजार घटेर १४२३ मा आइपुग्दा सेयर खरिदकर्ताहरु बढे पनि नेप्सेको वृद्धिले बुधबार बजार बन्द हुने समयसम्म निरन्तरता पाउन सकेन ।

नेप्से परिसूचक २१.५३ अंकले घटेर १४२५ विन्दुमा आइपुगेको छ । बढ्दो निक्षेप र कर्जाको व्याजदरका कारण सेयर बजार सुधार हुन सकिरहेको छैन ।

पुस मसान्तसम्ममा अधिकांश कम्पनीको वार्षिक साधारणसभा सम्पन्न हुने भएकाले लाभांश प्राप्त गर्न अर्को ६ देखि सात महिना पर्खिनुपर्छ । यसअघि पुसपछि बजार हरेक वर्ष घट्ने र चैत अन्त्यदेखि बढ्न थाल्ने चक्र चल्थ्यो ।

दुई वर्षयता यो चक्रको आंशिक मात्र प्रभाव देखिँदै आएको छ । यस वर्ष भने लगातार घट्दो बजारले त्यही चक्रलाई निरन्तरता दिने सम्भावना बढेको विश्लेषकहरु बताउँछन् ।

बुधबार बजारमा कारोबार रकम बढेर ७५ करोड रुपैयाँ पुगेको छ । यसबाट लगानीकर्ताहरु सस्तो मूल्यमा आएका सेयर उठाउँदै छन् भन्ने संकेत मिल्छ ।

यस्तो रह्यो बुधबारको सेयर बजार

गत साउनमा सूचीकृत भएको माहुली लघुवित्त सामुदायिक संस्थाको सेयर मूल्य दुई सय ६५ रुपैयाँले बढेर २९ सय २० रुपैयाँ पुगेको छ । पहिलो कारोबार नै १६ सय रुपैयाँबाट भएको कम्पनीमा लगानीकर्ताहरु थप आकर्षित भइरहेका छन् ।

उक्त कम्पनीले ५० प्रतिशत हकप्रद सेयर दिने भएकाले पनि आकर्षण बढेको हो । शतप्रतिशत बोनसको आशामा स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ ।

मंगलबार नेपाल टेलिकमको सेयर पाउने अन्तिम दिन मानिएको थियो । सोही कारण मंगलबार टेलिकमको सेयर मूल्यमा उच्च वृद्धि भएको थियो । बुधबार भने २१ रुपैयाँले घटेको छ ।

सात दिन अगाडि नै बुक क्लोजको मिति सार्वजनिक गर्नुपर्ने नियम छ । उक्त नियम टेलिकमले पालना नगर्दा मंगलबार लगानी गर्नेहरुले घाटा बेहोर्नुपरेको छ ।

मंगलबार २१ रुपैयाँ बढी तिरेका र बिहीबारसम्म खरिद गर्ने लगानीकर्ताहरुले पाउने लाभांश एउटै हुन्छ । टेलिकमले आगामी आइतबार बुक क्लोज हुने बताएको छ । कम्पनीले ५५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बुधबार बोटलर्स नेपाल (तराई) को सेयर मूल्य एक सय ४० रुपैयाँले बढेपछि समूहगत परिसूचकमा उत्पादनमुलक समूहमा मात्र वृद्धि भएको छ । टेलिकमसहित सूचीकृत (अन्य) समूहसहित बैंकिङ, विकास बैंक, जलविद्युत्, बीमा र लघुवित्त कम्पनीका समूहगत सूचक उच्चदरले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment