Comments Add Comment

मदिराबाट सुरु भएको विवादले उग्र रुप लिँदा आदित्यको हत्या

१३ पुस, काठमाडौं । बुधबार राति गौशलास्थित आमदब्लम होटलमा बसेका एक जना युवकको मादक पदार्थ सेवनका कारण सुरु भएको विवादले उग्र रूप लिँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती व्यक्ति थिए, भारतको सिलगढीका ३५ वर्षीय आदित्य गुरुङ ।

मदिरामा लठ्ठ गुरुङ र होटलका कर्मचारीबीचको विवाद यतिसम्म बढ्यो कि मध्यराति उनको ज्यानै गयो ।

महानगरीय प्रहरी परिषरका एसपी रामदत्त जोशीका अनुसार घटनाबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज अस्पताल, सिनामंगल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भयो ।

गुरुङको टाउकोमा चोट देखिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।

हत्या गरिएका भारतीय नागरिक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको नातेदार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, के नाता हो भन्ने खुलेको छैन ।

यसरी भयो विवाद

गएराति आमदब्लममा बसेका गुरुङले मदिरा सेवन गरेका थिए । प्रहरीका अनुसार त्यहाँका अन्य केही कर्मचारी पनि मदिरामा ‘लठ्ठ’ थिए ।

सोही क्रममा होटलकी रिसेप्सनिष्ट डोंगी शेर्पासँग गुरुङको विवाद भयो । गुरुङले राति मदिरा थपिदिनका लागि आग्रह गरेका गरेका थिए । तर, उनले थप्न नमिल्ने बताएपछि विवाद बढेको प्रहरी बताउँछ ।

त्यसै क्रममा अन्य कर्मचारी समेत त्यहाँ आइपुगे । र, विवाद बढ्दै जाँदा कर्मचारीको कुटपिटबाट गुरुङको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

५ जना पक्राउ

भारतीय नागरिकको हत्या भएपछि होटलका ५ जना कर्मचारीलाई महानगरीय प्रहरी परिषरले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment