Comments Add Comment

सिनेमाको ‘हब’ बन्दैछ इटहरी उपमहानगर

१३ पुस, इटहरी । इटहरी उपमहानगरपालिकास्थित गैसारका दिलिप चौधरीले आफ्नो बाल्यकालमा इटहरीका दुईवटा सिनेमा हलमा छानी छानी फिल्म हेर्थे । त्योबेला बिराटनगर लाइनमा रहेको कृष्ण टाकिज र गैसार नजिकै बिजुली अफिस छेउको पशुपति चित्र मन्दिरमा विभिन्न चलचित्र हेरेका चौधरीले आफ्नो युवा कालमा भने इटहरीमा सिनेमा हेर्न पाएनन् ।

‘मैले इटहरीमा बाल्यकालमा हेरेको अन्तिम फिल्म थियो-पिँजडा । तर, त्यसपछि इटहरीका हलहरु धमाधम बन्द हुन थाले’, वैदेशिक रोजगारीबाट भर्खरै नेपाल फर्केका चौधरी भन्छन, ‘त्योबेला इटहरी सानो शहर हुँदा पनि दुईवटा हल खचाखच हुन्थे । तर, जब इटहरीको जनसंख्या बढ्न थाल्यो, सिनेमा हल बन्द हुनथाले ।’

इटहरीका बन्द सिनेमा घरका कारणले आफूले नेपाली चलचित्र हेर्न सुनसरीको रामधुनि नगरपालिकाको झुम्का र मोरङको विराटचौकसम्म गएको चौधरी बताँउछन् ।

तर, विगत दुई बर्षयता भने इटहरीमै धमाधम फिल्म चल्न थालेका छन् । चौधरी खुशी हुँदै भन्छन्, ‘मैले इटहरीमा सामान्य भए पनि एउटा हल भए पुग्छ सोचेको थिएँ, तर अब त ‘आइ सिनेमा’ जस्तो सुविधासम्पन्न हल पनि बनेछ ।’
इटहरीका रैथाने चौधरीले भनेजस्तै इटहरीमा नयाँ सिनेमा हलहरु खोल्ने क्रम बढेको छ । ०७१ सालको कात्तिक २८ देखि इटहरीको ट्याङग्रा पुल छेउमा खुलेको ‘आइ सिनेमा’ इटहरीका बन्द भएका हलपछिको पहिलो सिनेमा हल हो ।

व्यवसायी रेवती दुलालले सञ्चालन गरेको ‘आइ सिनेमा’ खुलेतगत्तै इटहरीकै धरान लाइनमा अर्को अत्याधुनिक सिनेमा हल खुलेको छ । ‘टुवेल डी’ सिनेमा हल नामक उक्त हलको स्थापना ०७३ साल असारमा भयो । सञ्जय राईले सुरु गरेको उक्त ‘टुवेल डी’ सेनामा हलले स्थापनाको छोटो समयमै राम्रो कारोबार गरिरहेको कर्मचारीहरु एलेक्स राई र सुस्मा गुरुङ्ग बताउँछन् ।

यी फरक धारका दुई सिनेमा हलका अतिरिक्त इटहरीमा आगामी असारभित्र सञ्चालन हुने गरी अर्को हलसमेत धमाधम निर्माण भइरहेको निर्माणकर्ता कुवेर शर्मा बताउँछन् । इटहरी आइतबारेको टेलिकम भवन नजिकै बन्दै गरेको नयाँ हलका निर्मातामा नेपाली फिल्म उद्योगका विभिन्न व्यक्तिहरु संलग्न रहेको समेत शर्माले बताए । छविराज ओझा, चिरञ्जीवी बस्नेत, नरेन्द्र महर्जन, प्रदीप उदय र राजकुमार पोखरेललगायतका सञ्चालक रहेको यो सिनेमा हलमा चाइल्ड पार्क, रेस्टुरेन्ट, फुडकोर्ट लगायतका खुराकहरु समेटेर आकर्षक बनाउने तयारी रहेको शर्माले बताए । ०७० सालदेखि बनाउन सुरु गरिए पनि नाम भने अझै नजुरेको शर्मा बताउँछन् । उक्त हल इटहरीकै आकर्षक हल हुने उनको दाबी छ ।

पूर्वकै पहिलो ‘मल्टिफ्लेक्स’ र ‘टुवेल डी’

‘आइ सिनेमा’ पूर्वकै पहिलो मल्टिफ्लेक्स सिनेमा हल हो भने ‘टुबेल डी’ पनि इटहरीमै पहिलोपल्ट सुरु भएको हो । पूर्वका शहरहरु धरान, बिराटनगर, दमक, बिर्तामोड र काँकडभिट्टा भन्दा अगाडि इटहरीमै मल्टिफ्लेक्स खुलेपछि इटहरीमा सिनेमा हेर्नेको भिड बढेको छ ।

स्थानीयका अनुसार अन्य सहरहरु इटहरीजस्तो केन्द्रमा नपरेकाले पनि मल्टिफ्लेक्स हलहरु चल्न नसक्ने भएकाले नै इटहरीमा पहिलो त्यस्तो हल बनेको व्यवसायीहरु बताउँछन् ।

‘पूर्वका हरेक सहरमा सुविधासम्पन्न हलमा चलचित्र हेर्न चाहने दर्शको संख्या बढ्दो छ तर बाह्रै महिना हल धान्न पुग्ने दर्शक छैनन्’, चलचित्रका पारखी इटहरीका व्यापारी दीपक गौतम भन्छन, ‘तर, इटहरीमा भने मल्टिफ्लेक्स धान्न सहज छ । किनभने धरान, विराटनगर, इनरुवा, बेलबारी तथा विराटचौकका मान्छेले आधा घण्टामै इटहरी आएर चलचित्र हेर्न सक्छन् ।’

टुवेल डीको सवालमा पनि भएर इटहरीको अत्याधुनिक हल राम्रैसँग चम्केको गौतम बताँउछन् ।

बढ्दो सिनेटमा पर्यटन

इटहरी होलसेल व्यापारको केन्द्र र सडक सञ्जालले जोडिएको पूर्वकै ट्रान्जिट सिटी मात्रै हैन, अब सिनेमा हलको सहरका रुपमा समेत विकास भइरहेको छ । इटहरीको आइ सिनेमामा मात्रै चलचित्र हेर्नका लागि हप्तामा हजार बढी दर्शक आउने हलका सञ्चालक तथा कांग्रेसको महासमिति सदस्य समेत रहेका नेता रेवती दुलाल बताउँछन् ।

साढे तीन सय दर्शक अटाउँने ‘आइ सिनेमा’ मा सोमबार धरान र शनिवार बिराटनगरका व्यापारीहरुसमेत आउने गरेको उनी बताउँछन् । शनिवार विराटनगर बन्द हुने र सोमबार धरान बन्द हुनाले त्यहाँका व्यापारीहरु इटहरीको मल्टिफ्लेक्समा आउने दुलालको भनाइ छ ।

इटहरीमै रहेको ‘टुवेल डी’मा पनिण् इटहरी बाहिरबाट धेरै मात्रामा दर्शकहरु आउने गरेको हलका कर्मचारी एलेक्स राई बताउँछन् ।

‘आइ सिनेमा’ र ‘टुवेल डी’सँगै नयाँ हल बनेपछि इटहरीमा झनै दर्शक थपिने व्यवसायीहरुको अपेक्षा छ । नयाँ दुईवटा हल थपिने र त्यहाँ ४ सय दर्शक अटाउने भएकाले इटहरी ‘सिनेमा पर्यटन’को अब बन्न सक्ने व्यवसायीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment