Comments Add Comment

१ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन, हारमा शरदको हृयाट्रिक


काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।

१५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो ।

तर, १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो ।

तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो तर, ३ विकेट गुमाएर ४ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।

विराटनगरका कप्तान पारसले १८ रन दिएर ३ विकेट लिए भने अनिलकुमार साह र करण केसीले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थिया । उसका लागि अंशुमान रथले ४१ रन बनाए भने पारस खड्काले २७ र अनिलकुमार साहले २२ रनको योगदान दिए ।

अंशमानको त्यो ओभर …

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर वारियर्सले स्कोर बोर्डमा १५० रनको स्कोर झुण्ड्याउन सक्यो ।

हङकङका दुई ब्याट्सम्यानले धानेको थियो उसको ब्याटिङ । तर, शनिबार बाबर हायात चल्न सकेनन् । अपेक्षाकृत यो स्कोर कम नै हो । तर, कीर्तिपुर मैदानमा टी-२० मा यो स्कोर भेट्टाउन त्यही सजिलो पनि थिएन ।

साथै भैरहवाका कप्तान शरद भेषावकरले ठूलो स्कोर बनाउन सकिरहेका थिएनन् । तर, आठौं ओभर शरदका लागि महत्वपूर्ण र विराटनगरका लागि विर्सनलायक रहृयो ।

अंशुमान रथ बलिङमा आए । पहिलो बलमा एक रन लिएर सालुंखेले स्ट्राइक रोटेड गरे । दोस्रो बलमा चौका हानेका शरदले तेस्रो बलमा छक्का हाने ।

आत्तिएका अंशुमानले वाइड फाले । अर्को बललाई त उनले सही ठाउँमा फाल्नै सकेनन् र नो बल बन्यो । त्यसपछि आएको बलमा शरदले छक्का हाने । अंशुमानले पाँचौं बलमा रन दिएनन् । तर, ओभरको अन्तिम बल वाइड फाले । अर्को बल नो रन हुनपुग्यो । त्यसपछि नो बल भयो भने शरदले छक्का हाने ।

विर्सनलायक प्रदर्शनपछि अंशुमान टाउको समाएर थचक्क बसे । कप्तान पारस सहितका खेलाडीले उनलाई सान्त्वना दिए तर, फि्र हिटमा शरदले छक्का हाने ।

यो ओभरमा मात्र अंशुमानले ३६ रन दिए । त्यो ओभरबारे विराटनगरका कप्तान पारसले भने, ‘क्रिकेट निकै निर्दयी खेल हो । अंशुमान राम्रो ब्याटिङ गरेर यहाँसम्म ल्याएको छ । आज पनि राम्रो गरेको छ । त्यो ओभर त्यस्तै भयो ।’

अघि भने, क्रिकेटरको जीवनमा यस्तो क्षण आउँछ । मैले पनि अन्तराष्ट्रिय म्याचमै २४/२५ रन खाएको छु ।’

यो ओभरसँगै खेल भैरहवाको पक्षमा गयो । तर, विराटनगरले हार मानेन र खेलमा र्फकने प्रयास गरिरहृयो । त्यसको सुरुवात १५ औं ओभरको पहिलो बलमा भयो ।

आक्रामक पारी खेलिरहेका भैरहवाका शरद रनआउट हुन पुगे । उनको ब्याटले लाइन क्रस गरिसकेको थियो तर, भई छुएको थिएन, थर्ड एम्पायरले आउट दिए ।

भैरहवाको अन्तिम दुई ओभर

एकपछि अर्को विकेट गुमाएपछि खेल भैरहवाको हातबाट गुमिसकेको थिएन । अन्तिम २ ओभरमा उसलाई ११ रन चाहिएको थियो र ६ विकेट हातमा थियो ।

तर, क्रिकेट उसका लागि निर्दयी भइदियो । पारस खड्काले पहिलो बलमा नै आरिफ शेखको विकेट लिए भने अन्तिम बलमा रोहितकुमार पौडेललाई आउट गरे ।

२ विकेट लिएका उनले मात्र २ रन दिए । भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । तर, अनिलकुमार साहको पहिलो बलमा कृष्ण कार्कीले चौका पनि हाने ।

तर, दोस्रो बलमा आउट भए । अनिलले तेस्रो बलमा रन नदिएनन् भने चौथो बलमा भुवन कार्की रनआउट भए । पाँचौं बलमा पुनित चौधरी आउट भएपछि भैरहवालाई अन्तिम बलमा ५ रन चाहियो । यदि ४ रन बनाएको भएपनि टाइ हुने थियो र खेल सुपर ओभरमा लैजान सकिन्थ्यो । तर, भैरहवाले ३ रन मात्र जोड्न सक्यो र निकै नै रोमाञ्चक खेलमा १ रनले हार्न पुग्यो ।

‘जबसम्म खेल सकिँँदैन, तबसम्म सम्भावना सकिँदैन । हामीले अन्तिम ओभरसम्म लिएर जान प्रयास गरेका थियौं’ कप्तान पारसले खेलपछि भनेका छन्, ‘९ रन हुँदा हामीले अझै सक्छौं भन्ने थियो । हृयाट्स अफ अनिल ।’

अर्थात भैरहवा ग्लार्डिएटर्सका लागि क्रिकेट फेरि एक पटक निर्दयी खेल बन्न पुग्यो । ‘गेम स्वीङ भइरहेको थियो, उनीहरुले राम्रो कमब्याक गरे र हामी अन्तिममा आत्तियौं’ कप्तान शरद भन्छन्, ‘एक रनले हार्‍यौं, दुःख त लागिहाल्छ नि ।’

उनले भनेको जस्तै अन्तिम दुई ओभरमा ठूलो सट खेल्न खोज्नुको साटो सिंगल डबल लिएको भए अवस्था अर्कै हुन्छ । त्यसलाई स्वीकार गर्दै विराटनगरका कप्तान पारसले भने, ‘उनीहरु हतार गरे, हामीले राम्रो ठाउँमा बल फाल्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment