Comments Add Comment

राष्ट्रपतिमा पुरानैलाई दोहोर्‍याउने ओलीको ईच्छा छ

'पार्टीमा माधव नेपाल र राष्ट्रपतिमा झलनाथको चाहना देखियो'

हामी दोस्रो पुस्ताका नेताहरुका निम्ति पार्टी एकता ठूलो चुनौती हो । पार्टीमा नेताहरु नै जन्मे जस्तो अनुभूति छैन । प्रचण्ड-केपी, केपी-प्रचण्ड जस्तो मात्रै भइराखेको छ । वीचमा धेरै ग्याप छ । माओवादीमा प्रचण्ड उभिएर बोलिसकेपछि पार्टीभित्रका अन्तरविरोधहरु मिल्ने, अरुले चाहिँ सम्भव छैन । करिब-करिब अहिले एमालेभित्र पनि यस्तै छ । पहिले त तीनैजना नेताहरु स्थापित थिए, अहिले खड्ग ओली पावरफूल भएर आउनुभयो, अरुको चाहिँ नचलेजस्तो भयो ।

तर, एमालेमा हाम्रै जमानाका साथीहरु लिडर भएर आए, माओवादीमा त्यो छैन ।

एमाले र माओवादी दुबै पार्टीमा चरम गुटबन्दी छ । माओवादीमा गुटबन्दी हो कि के हो, के हो, गज्याङ-मज्याङ छ । हामी नै सन्तुष्ट नहुने स्थिति छ । एमालेमा पनि निर्वाचित सिस्टम त छ, तर पार्टीचाहिँ व्यवस्थित छैन । अरुभन्दा त राम्रो हो, तर पार्टी, पार्टीका रुपमा छैन ।

नेतृत्व कसले लिने ?

पार्टी एकतासम्बन्धी कहाँ-कहाँ अप्ठ्यारो छ त भन्दाखेरि लिडरसिपको प्रश्न धेरै नै सम्वेदनशील छ ।

सम्मानजनक एकता हुने हो भने सरकार र पार्टीको नेतृत्व दुबै पार्टीका प्रमुखहरुले एक-एकवटा गर्नुपर्छ । किनभने, यी अलग-अलग धार हुन्, तौलमा को घटीबढी छन् भन्ने कुरा सहायक हो । एमाले अलग धार हो, माओवादी पनि अलग्गै धार हो ।

जतिसुकै गाली गरे पनि प्रचण्डको लिडरसिपको एउटा भूमिका छ । त्यसैले प्रचण्डलाई मनोवैज्ञानिकरुपमा अपमान गरेर तपाई सहअध्यक्ष बस्नोस्, ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ भन्दा नैतिकरुपमा मिल्दैन । बरु प्रधानमन्त्री लिने कि पार्टी अध्यक्ष लिने एमालेले रोजेर लेओस्, त्यसपछि छाडेको चाहिँ माओवादीले लिन्छ । प्रचण्डले लिनुहुन्छ । यसो गर्दा नै सम्मानजनक हुन्छ ।


यसपछि फेरि दुईजनाको व्यवस्थापनको कुरा छ । पूर्वप्रधानमन्त्री भएका उनीहरुलाई पनि तल बस भन्न हुँदैन । माधव नेपाल पनि छन् । गतिशीलतामा जे जसो भए पनि झलनाथ खनाल पनि पूर्वप्रधानमन्त्री हुन् ।

झलनाथजीमा सक्रिय पोलिटिक्स भन्दा पनि राष्ट्रपति हुने चाहनाचाहिँ तीव्ररुपमा रहेछ । माधव नेपालजीको पार्टीकै लिडर हुने चाहना छ । विद्या भण्डारीजीको पनि फेरि राष्ट्रपति हुने चाहना छ

विद्या भण्डारीजीको पनि फेरि राष्ट्रपति हुने चाहना छ । उहाँ त राष्ट्रपति भइसकेको हुँदाखेरि पार्टीको पदमा जाने कुरा भएन । भए, फेरि राष्ट्रपति हुने हो, नभए अर्को केही भएन ।

झलनाथजीको र माधव नेपालजीको चाहना छ । झलनाथजीको चाहिँ राष्ट्रपति हुने चाहना छ, उहाँले प्रस्टै भन्नुभएको छ । झलनाथजीमा सक्रिय पोलिटिक्स भन्दा पनि राष्ट्रपति हुने चाहनाचाहिँ तीव्ररुपमा रहेछ । माधव नेपालजीको पार्टीकै लिडर हुने चाहना छ । उहाँमा पङ्चुआलिटी र सक्रियता पनि छ । त्यसो भएको हुनाले उहाँहरुको म्यानेजमेन्टको कुरा पनि दोस्रो हो ।

केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ । झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ । संगनात्मक घनत्वले कति धान्छ, त्यो उहाँको कुरा हो । राष्ट्रपतिमा पुरानै निरन्तरता होस् भन्ने ओलीजीको चाहना छ, तर, अब त्योचाहिँ नहोला । पुरानैको निरन्तरता हुँदा मुलुकले परिवर्तनको महसुस गर्दैन ।

बाहिर चर्चा भएजसरी हामीले बादलजीलाई राष्ट्रपतिका रुपमा ठोस रुपमा प्रस्ताव गरेको अवस्था होइन । त्यसो गर्दाखेरि राष्ट्रपति र सभामुखमा मिलाउनुपर्ने हुन्छ फेरि । अहिले यहाँसम्म पुगिएको छैन, पहिला त पार्टी अध्यक्ष प्रधानमन्त्री मिलाउनुपर्ने हुन्छ ।

राष्ट्रपति साझा व्यक्तित्व हो, जसको भए पनि । तर, सभामुख पनि उही पार्टीबाट र राष्ट्रपति पनि उहीबाट हुँदैन । राष्ट्रपति एउटा लिने हो भने सभामुख त अर्कोले लिनुपर्‍यो नि । सभामुख एमालेले पाउने हो भने राष्ट्रपति माओवादीबाट हुनुपर्‍यो ।

त्यसपछि तत्कालै घोषणा गरिनुपर्ने केन्द्रीय कमिटीको कुरा छ । यो व्यवस्थापनसहित पार्टी एकताको घोषणा गर्ने कुरा चुनौतीको कुरा हो । यसलाई हामीले मिलाउनुपर्ने छ । आन्तरिक गृहकार्य गरेर हामीले मिलाउनुपर्ने विषय यो हो ।

विचारको प्रश्नः जबज कि माओवाद ?

विचारको कुरामा पनि यो विचार मान भन्दाखेरि त्यो नैतिक प्रश्न हुन्छ । केही साथीहरुले भन्नुभएको छ- बहुदलीय जनवाद स्थापित भइसक्यो, प्रचण्डजीले ओके गरिसक्नुभयो, यसमा अब केही पनि छैन भन्ने हिसाबले कतिपय साथीहरुले भन्नुभएको छ ।

तर, फेरि पनि दुईवटा पार्टीहरु एकापसमा मर्ज भएका हुन् । अहिले जितेको पनि दुईवटै पार्टीले हो । एमालेले जति जिते त्यसमा माओवादीका पनि मत छन् । माओवादीले जितेकोमा पनि एमालेका मत छन् । यो त प्रष्टै छ । नत्र त चुनावको परिणाम अर्कै आउँथ्यो । कांग्रेसको मत त एमालेको हाराहारीमै छ । गठबन्धन नभएको भए परिणाम अर्कै पनि हुन सक्थ्यो ।

त्यसैले विचारको प्रश्नमा के हो भने माओवादी पनि हैन, एमाले पनि हैन, अब तेस्रो पार्टी बनाउने हो । लिडरसिप त तेस्रो मान्छे खोजेर पाइन्न, यिनैबाट गर्नुपर्छ । तर, विचारको प्रश्नमा हामीले यसरी गर्छौं भनेर नयाँ चिज लिएर गयौं भने यसले नयाँ म्यासेज दिन्छ ।

त्यसैले विचारको प्रश्न पनि एक-अर्कामा क्लियर भएको छैन अहिले । ओली र प्रचण्डजी दुईजना बस्नुभो । दुईजना बसेर पनि छिचोलिएको छैन । लिडरसिपको कुरा पनि मिलेको छैन । दुबैजना समानरुपमा प्रस्तुत हुने उहाँहरुले जेन्टलमेन एगि्रमेन्ट गर्नुभो । तर, तँ यो भएस्, म यो हुन्छु भनेर ठ्याक्कै एकअर्कामा कन्भिन्स भएको अवस्था होइन ।

अब हामीले गर्नुपर्ने के हो भने उहाँहरुलाई परेको यो अप्ठ्यारो फुकाउने र सिनियर नेताहरुको व्यवस्थापन । यो मिलाउन सकिएन भने यसैले पनि बिग्रन सक्छ कहिलेकाहीँ ।

सरकार र ‘डेलिभरी’ को प्रश्न

त्यसपछि तेस्रो मिलाउनुपर्ने कुरा हो- सरकार ।

कांग्रेसलगायत कतिपय शक्तिहरुले थुप्रै प्रलोभन दिएका छन् । शान्ति प्रक्रियाका बाँकी अंशहरु पनि अब उठ्नेवाला छन् । बालकृष्ण ढुंगेलको प्रश्न पनि दोहोरिइरहन सक्छ । यिनै कुराहरु उठाउने र खेल्ने ठुलै प्रयत्न अन्तरराष्ट्रिय शक्तिकेन्द्रहरुले गरेका छन् । त्यसो भएको हुनाले यो सरकारको प्रशंग पनि महत्वपूर्ण छ । वाम गठबन्धनको सरकार निरन्तर हुन सकेन भने जनमतको विश्वसनीयतामा संकट पैदा हुन्छ ।

हामीले डेलिभरिको कुरा गरेर, पाँच वर्षसम्म स्थायी सरकारको कुरा गरेर जनताले मत हालेका हुन् । यो जनमत बिग्रन दिनुहुँदैन । त्यसैले यो सरकारको प्रश्न पनि नेतृत्व र विचारको प्रश्नजस्तै महत्वपूर्ण प्रश्न हो । र, यससँगै जनताका विकास निर्माणका आकांक्षाहरु पूरा गर्नुपर्ने महत्वपूर्ण दायित्व हाम्रो काँधमा छ । यो चौथो महत्वपूर्ण प्रश्न हो ।

तराजुमा खसेको मत हाम्रो चुनौती हाे

माथि उल्लेख गरिएका यी चारवटा कुराहरुको श्रृंखला मिल्न सकेन भने मतदाताहरु वाम गठबन्धनसँग चिढिन्छन् । त्यो अवस्थामा रञ्जु दर्शना र रविन्द्र मिश्रहरुले पाएको मत हाम्रा लागि चुनौती नै हो । गाउँगाउँमा कमिटीहरु पनि नभएका ठाउँबाट तराजुमा खसेको मतको प्रकृति हेर्दाखेरि त्यो हाम्रा लागि चुनौती हो ।

माथि उल्लेख गरिएका चार कुराहरुको श्रृंखला मिलेर गयो भने नेपालमा ‘टु पार्टी सिस्टम’ नै हुन्छ । श्रृंखला मिल्न सकेन भने मान्छेले फेरि विकल्प खोजेको कुरा प्रष्टै छ । त्यसैले माथिका चार कुराहरुको श्रृंखला हामी वामपन्थीहरुले मिलाउनुपर्छ ।

अब हामी दोस्रो, तेस्रो तहका नेताहरुको पोजिसन के हुन्छ भनेर सोचियो भने यो एकता भाँडिन्छ । त्यसैले सिस्टम जे बस्छ, त्यसमा हामी तयार हुनुपर्छ । सिस्टममा लाने हो भने म जिल्ला कमिटीमै भएर पनि केही हुँदैन ।

अहिले हामीले गर्नुपर्ने के हो भने मोटो खाका घोषणा गर्दिने, अरुचाहिँ पाइपलाइनमा, सिस्टममा हाल्दिने । यो गरियो भनेमात्रै थेग्न सकिन्छ । नत्र समानुपातिकमा झगडा भयो, केन्द्रीय कमिटी फर्मेसनमा झगडा हुन्छ । तल गएर झगडा हुन्छ । त्यहाँबाट भाडिँदा भाडिँदै बिग्रन्छ । त्यसैले स्वाट्टै एकता गरेर सिस्टममा हाल्दिनुपर्छ । आउने मान्छे आउँछ, नआउने पालो कुरेर बस्छ । यसरी जबरजस्ती अगाडि लानुपर्छ । महाधिवेशन घोषणा गर्दिने हो भने तलका अधिवेशनमा पनि माओवादीका माओवादीतिर र एमालेका एमालेतिर हुने अवस्था छैन, एकअर्कातिर समीकरण हुन सक्छ । आखिर संसारकै पार्टीहरु यसरी नै चलिराखेका छन् ।

पार्टी एकता हुनैपर्छ

पार्टी एकता जसरी पनि चाँडोभन्दा चाँडो हुनुपर्छ । हामीले त्यसैतर्फ गृहकार्य गरिरहेका छौं ।

हामीले धेरैपटक हण्डर-ठक्कर खायौं । जनताले वामपन्थीहरुलाई साथ दिए । तर, वामपन्थीहरुले जनतालाई केही दिन नसकेको अवस्था छ । त्यसैले अहिले हामीले वाम एकता हुनैपर्छ भनेको हो । जनतालाई केही पनि भएको छैन, खाली वामपन्थीहरु देशभक्त हुन्छन्, भारतविरोधी हुन्छन् भनेर मात्रै टिकिरहेको अवस्था छ । ठुल्ठुला काम अहिलेसम्म केही भएका छैनन् । हामी अलग-अलग ठाउँबाट लड्यौं, अब यो पटकचाहिँ पार्टी एकता गर्नुपर्छ र ठोसरुपमा केही कामहरु गर्नुपर्छ भन्ने हामीले जोड गरेको हो ।

टुटफुट र विभाजनले कसैलाई काहीँ पनि पुर्‍याएन । त्यहीकारण पार्टी एकता जसरी पनि हुनैपर्छ । संविधानको प्रस्तावनामा लेखिएको समाजवादउन्मुख राज्य प्रणाली ल्याइनेछ भन्ने हो भने वापमन्थीहरु एकतावद्ध हुन जरुरी छ । अलग-अलग पार्टी किन रहने ? विकास र समृद्धिको बाटोमा अघि बढ्ने अनि समाजवाद ल्याउन चाहने हो भने एकैठाउँ हुनैपर्छ अब ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment