+
+
Shares

पाँचौं राष्ट्रिय पोल्ट्री दिवसः फस्टाउँदो कुखुराजन्य उत्पादन

अण्डामा आत्मनिर्भर

सुवास पण्डित सुवास पण्डित
२०७४ पुष १७ गते १८:४०

१७ पुस, चितवन । केही वर्ष अघिसम्म हप्तामा २ लाख चल्ला विक्री गर्ने व्यवसायीहरुले अहिले २५ लाख चल्ला बिक्री गर्दै आएका छन् । यो तथ्यांकबाट नै थाहा हुन्छ कि नेपालमा पोल्ट्री व्यवसाय पछिल्लो दिनमा फस्टाउँदै गएको छ ।

पोल्ट्री व्यवसायमा भित्रिएको लगानी र प्रविधिले यसको दायरालाई बढाउँदै लगेको हृयाचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुराल बताउँछन् । विभिन्न समस्याहरु बावजुद पोल्ट्री व्यवसायीहरुको संगठित प्रयासमा यो व्यवसाय मजवुत बन्दै गएको छ ।

देशको कुल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिशत योगदान पोल्ट्रीको रहेको छ । पोल्ट्री व्यवसायमा ८० अर्वको लगानी छ । वि.स. २०१७ पुष १७ गते वाराको परवानीपुरमा सेन्ट्रल हृयाचरी स्थापना भएको दिनलाई आधुनिक पोल्ट्रीको शुरुवात भएको मानेर २०७० सालदेखि यो दिवस मनाउन शुरु गरिएको हो ।

यो क्षेत्रमा १ लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो दोस्रो, चौंथो पोल्ट्री दिवसमा चितवनमा मनाइएको थियो भने, तेस्रो झापामा ।

पाँचौं पोल्ट्री दिवस मनाउने सन्र्दभमा चितवनमा भेला भएका पोल्ट्री व्यवसायीहरुले राज्यले थोरै मात्रै सहयोग गरे छिट्टै मासुमा देशलाई आत्मनिर्भर गराउन सकिने बताए ।

नेपालमा यातायातको सुविधा र मौसम अनुकुल रहेका सवै जिल्लामा कुखुरापालन व्यवसाय गर्न सकिने व्यवसायीहरु बताउँछन् । पोल्ट्री क्षेत्रको विकासले गर्दा विदेशबाट आयात हुने करोडौंको मल आयात प्रतिस्थापन भई कुखुराको सुली मलको रुपमा प्रयोग गरिएको छ । पछिल्लो समयमा तीव्र खण्डीकरण र जग्गाको मूल्य अधिक हुँदा लगानी गर्ने व्यवसायीहरु निरुत्साहित हुन थालेको हृयाचरी संघका केन्द्रीय अध्यक्ष टिकाराम पोखरेलले बताए ।

अण्डामा आत्मनिर्भर

सवैजसो उपभोग्य वस्तुहरु आयात गर्ने नेपाल अण्डामा भने आत्मनिर्भर बनेको छ । सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर बन्यो ।

गत वर्ष कूल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर बनेको हो । गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा उत्पादन लगातार वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

हाँसको अण्डा आर्थिक बर्ष ०७२/७३ मा एक करोड ३९ लाख ६ हजार र कुखुराको सोही आर्थिक बर्ष एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भएको पाइएको छ ।

हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अण्डा उत्पादन हुन्छ । गत तीन वर्ष पहिले ९० करोड अण्डा उत्पादन हुन्थ्यो । हाल बजारमा अण्डाको अभाव छैन । नेपालमा दैनिक २२ लाख उत्पादन हुने अण्डा मध्ये चितवनमा मात्रैं १० लाख हुन्छ ।

मासुमा पनि आत्मनिर्भर बनाउँछौंः व्यवसायी

चितवनको रत्ननगरमा पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस समारोहका प्रमुख अतिथि बनेका पशुपंछी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीले देश अण्डामा आत्मनिर्भर भएकोले अब मासु र दूधमा आत्मनिर्भर बनाउने दिशामा लाग्न व्यवासायीहरुलाई आग्रह गरे ।
व्यवसायी माथि परेका ऐन नियमका समस्या फुकाउँदै जाने आश्वासन उनले दिए । व्यवसायीहरुले सरकारले निर्धारण गरेको लक्ष्य पार गरेपनि मासुमा आत्मनिर्भर हुन नसकिएको जनाएका छन् ।

‘मासुमा आत्मनिर्भर बनाउन अन्य पशुचौपायको भन्दा बढि कुखुराकै योगदान रहनुपर्दछ अन्यथा आत्मनिर्भर हुन सकिदैन’ चितवनका पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले भने ‘पोल्ट्रीकै बलमा देश मासुमा आत्मनिर्भर छिट्टै हुन्छ ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?