Comments Add Comment

निजी अस्पतालमा नर्सको आँशु ! तलब थोरै, काम धेरै

'राम्रा नर्स विदेश जान थाले, काठमाडौंमा बाँच्न कठिन'

काठमाडौं । नर्सको काम बिरामीको आँशु पुछ्ने हो । तर, नेपालमा निजी अस्पतालहरुमा अरुको आँशु पुछ्ने नर्स आफ्नै आँशु पुछ्न बाध्य छन् । यही कारणले नर्सहरु धमाधम विदेश पलायन हुन थालेका छन् ।

नेपालमा एउटी सामान्य नर्सको तलव कति होला ? १० हजार ? ३० हजार ? वा ५० हजार ? नर्सको तलबलाई लिएर यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि नर्सिङ्ग पेशालाई राम्रो पेशाका रुपमा गनिन्छ । र, यही कारणले कैयौं किशोरीहरु नर्स बन्ने होडबाजीमा लागेर लाखौं रुपैयाँ खर्च गर्दै पढिरहेका छन् ।

पढ्दाखेरि जति नै खर्च र मेहनत लागे पनि नेपालमा च्याउजस्तै खुलेका निजी अस्पतालमा नर्सहरुले पाउने तलव भने सरकारी अस्पतालहरुको तुलनामा ज्यादै न्यून हुने गरेको छ । कुनै अस्पतालहरुले त नर्सलाई दिने तलब एसएलसी पढेर डिपार्टमेन्ट स्टोरमा काम गर्ने किशोरीलाई जति पनि दिएका छैनन् ।

सेतो पोशाकमा सजिएर रातदिन नभनी, लाज र घीन केही नमानी बिरामीहरुको  सेवा गर्ने नर्सहरु बाहिरबाट हेर्दा जति हँसिला र फुर्तिला देखिन्छन्, उनीहरुभित्रको रोदन र आँशुलाई नत मेडिकल सञ्चालक र अस्पतालका सञ्चालकहरुले बुझ्न सकेका छन्, न राज्यको जिम्मेवार निकायले नै ।

नाम चलेका कयौं अस्पतालले नर्सहरुलाई विनातलब स्वंयसेविकाका रुपमा राख्ने गरेका छन् । कयौं अस्पतालले न्यूनतम तलव ६ हजार रुपैयाँसम्म दिएर राखेको उजुरी नेपाल नर्सिङ्ग एशोसिएसनमा बेलाबेलामा पर्ने गरेको छ ।

राम्रा र सिनियर नर्सहरु विदेश पलायन हुन बाध्यः पोखरेल

नेपाल नर्सिङ्ग एशोसिएसनको तथ्यांकअनुसार नेपालका अस्पतालहरुले नर्सलाई स्वंयसेवी राख्नेदेखि ५३ हजार रुपैयाँसम्म तलव सुविधा दिएर काममा लगाइरहेको देखिन्छ । त्यसरी काममा लगाउनेहरुमा निजी अस्पतालहरुले नर्सहरुलाई बढी श्रमशोषण गर्दै आइरहेका छन् ।

सरकारी अस्पतालमा कार्यरत नर्सहरुलाई अधिकृतसरह ५३ हजार रुपैयाँसम्म तलव दिए पनि निजी अस्पतालहरुले भने ज्यादै न्यून तलवमा २४ घण्टाभन्दा बढी कममा खटाएर श्रम शोषण गरिरहेका छन्

पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालले करिब सयजना नर्सलाई विनापारिश्रमिक स्वयंसेविको रूपमा प्रयोग गरेको पाइएको छ ।

नेपालकै नाम चलेका ठूला निजी अस्पतालहरुले समेत न्यूनतम ६ हजार रुपैयाँ मात्रै तलव दिएर मासिक तलबमा नर्सहरुलाई खटाइरहेका छन् ।

यस्तै भेदभावका कारण पछिल्लो समय धेरै नर्सहरु विदेश पलायन हुन थालेको नेपाल नर्सिङ्ग एशोसिएसनकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । पोखरेल भन्छिन्, ‘नेपालमा नर्सहरुलाई निकै भेदभाव गरिएको छ र यही भेदभावकै कारण अहिले थुप्रै राम्रा तथा सिनियर नर्सहरु विदेश पलायन हुन बाध्य छन् ।’

विशेषगरी, सरकारी अस्पतालमा कार्यरत नर्सहरुलाई सरकारले अधिकृतसरह ५३ हजार रुपैयाँसम्म तलव दिए पनि निजी अस्पतालहरुले भने ज्यादै न्यून तलवमा नर्सहरुलाई २४ घण्टा भन्दा बढी कममा खटाएर श्रम शोषण गरिरहेका छन् ।

विशेषगरी, सरकारी अस्पतालहरुले एकजना अनमीलाई खरदार सरह, स्टाफ नर्सलाई प्राविधिक सुब्बा सरह अनि नर्सिङ्गमा स्नातक गरेका नर्सहरुलाई अधिकृत सरहको तलव सुविधा दिइरहेका छन् । तर एमएस्सी पढेकालाई भने सरकारले लोकसेवा जाँचमा अनमीको पदमा जाँच दिन बाध्य पारेको उनले बताइन् ।

पोखरेलले अनलाइनखबरसित भनिन्, ‘सरकारले स्नातकोत्तर गरेका नर्स तथा अन्यका लागिसमेत लोकसेवाको प्रावधान नराख्नुले नेपालमा नर्सको अवस्थाबारे सहजै अनुमान गर्न त सकिन्छ नै, दैनिक जिविकोपार्जनका लागि उनीहरुलाई कति गाह्रो छ भनेरसमेत बुझ्न सकिन्छ ।’

काठमाडौंमा नर्सलाई बाँच्न कठिनः पाण्डे

तिलगंगा आँखा अस्पतालमा ओप्थेल्मालोजिस्ट असिस्टेन्टका रुपमा कार्यरत नर्स शोभा पाण्डेका अनुसार नेपालमा नर्सिङ्ग पढेको जनशक्ति करिब ८० हजारको हाराहारीमा छ । यसमध्ये करिब ७४ हजार नर्सहरु नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता छन् ।

तर, यीमध्ये अधिकांश नर्सहरु श्रम शोषणको शिकार हुने गरेको पाण्डे बताउँछिन् । उनी भन्छिन्, ‘अहिलेको अवस्थामा नेपालमा नर्सहरुलाई काम गर्न धेरै गाह्रो छ । उनीहरुलाई कतिपय अस्पतालले मासिक पारिश्रमिकसमेत सही तरिकाले दिएका छैनन् । उनीहरुले न्युनतम आठ हजारभन्दा कम पारिश्रमिकमा काम गर्नु परेको छ  ।

जब कि एउटा सामान्य काम गर्ने मानिसले पनि महिनामा योभन्दा बढी पारिश्रमिक पाउन सक्छ ।’

वर्षमा झण्डै ६ लाख रुपैयाँसम्म खर्च गरेर पढेको एउटा स्टाफ नर्सले महिनामा ८ हजार रुपैयाँ तलबसमेत नपाउनुले उनीहरुको अवस्थाको उजागर गर्ने उनी बताउँछिन् ।

पाण्डे भन्छिन्, ‘नर्संहरुले पाउने ७/८ हजार रुपैयाँ तलबले सामान्य खाजा खर्च र गाडीभाडा त पुग्दैन, काठमाडौंजस्तो ठाउँमा बाँच्नु धेरै कठीन कुरा हो ।’

राम्रै तलव सुविधा पाउनेको नर्सहरुको हकमा पनि काठमाडौंजस्तो ठाउँमा जीवन निर्वाह निकै चुनौतीपूर्ण हुने गरेको उनको भनाइ छ ।

चारजनाको परिवारसहित काठमाडौंमा बसोबास गर्ने नर्स पाण्डेको काठमाडौंमा आफ्नै घर छ । उनका श्रीमान् काठमाडौंमै कार्यरत छन् । उनको आम्दानी पनि राम्रै छ ।

दुईजना बच्चालाई पढाउन पाण्डेको परिवारलाई मासिक १६ देखि १७ हजार रुपैयाँसम्म खर्च लाग्छ । त्यस्तै, रासनपानीमा महिनामा न्युनतम २५ देखि ३० हजार रुपैयाँसम्म खर्च हुन्छ । यो सबै जोड्दा चार जनाको परिवारको सामान्य खर्च ५० हजारको हाराहारीमा पुग्छ ।

‘यसरी महिनामा ३५ देखि ३० हजार रुपैयाँसम्म कमाउने हामीजस्तो नर्सलाई त काठमाडौंमा जिविकोपार्जन गर्न समस्या छ भने, न्यूनतम तलव पाउनेहरुको हालत के होला ?’ पाण्डेले अनलाइनखबरसँग भनिन्, ‘तपाई आफैं अनुमान गर्नुस् ।’

‘गाडीभाडा र खाजामै सकिन्छ तलब’

नर्स पाण्डेले जस्तै महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कार्यरत एक नर्सले पनि आफ्नो तुलनामा निजी अस्पतालमा कार्यरत नर्सहरुलाई जिविकोपार्जन गर्न निकै कष्टकर रहेको प्रतिक्रिया दिइन् ।

उनले नाम उल्लेख नगर्न आग्रह गर्दै भनिन्, ‘सरकारी अस्पतालमा काम गर्ने नर्सहरुको मासिक तलब २५ हजारको हाराहारीमा छ, जुन ठीकै छ । तर, निजीमा काम गर्नेहरुको तलव ५ हजारबाट सुरु हुन्छ, जुन निकै कम हो ।’

निजी अस्पतालमा कतिपय नर्सहरुले पाउने मासिक तलबले दैनिक खाजा खर्च तथा यातायात खर्चसमेत नपुग्ने हुनाले यस्तो पाराले काठमाडौंमा बाँच्ने कुरा सोच्नसमेत नसकिने उनले बताइन् ।

नेपालमा स्वास्थ्य क्षेत्रको अभिन्न अंग मानिने नर्सहरुलाई सरकारले न त कुनै राम्रो व्यवस्था गरेको छ, न त उनीहरुको नियमन तथा सुपरीवेक्षणका लागि सरकारले हालसम्म कुनै नर्सिङ्ग महाशाखाको नै व्यवस्था गरेको छ

एकजना नर्सका लागि दैनिक खाजा खर्च करिब दुई सय रुपैयाँ लाग्छ । निजी सवारी साधन नहुनेहरुका लागि गाडी भाडामा दैनिक ५०/६० रुपैयाँ खर्च लाग्छ ।

यसरी मासिक करिब ७/८ हजार रुपैयाँ सकिन्छ । यसमा घरभाडा जोड्ने हो भने एक जना नर्सको मासिक खर्च मासिक झण्डै १७ हजारको हाराहारीमा पुग्छ । खाना खर्च र अन्य जोड्ने हो भने ३० हजार रुपैयाँले पनि पुग्दैन ।

काठमाडौमा अहिले सामान्य कोठालाई पनि ७ हजारदेखि १० हजार रुपैयाँसम्म भाडा पर्न थालेको छ ।

‘मेरो पो यहाँ घर छ, मम्मीबुवा हुनुहुन्छ र घर खर्च सबै उहाँहरुले गर्दा यो तलव मेरा लागि ठीकै छ,’ कान्ति वाल अस्पतालकी नर्स भन्छिन्, ‘तर, जो नर्सहरु काठमाडौंमा भाइबहिनी पढाएर एउटा भाडाको घरमा बस्छन्, उनीहरुले यति तलवमा काठमाडौंजस्तो ठाउँमा बाँच्नु कठिन कुरा हो ।’

नर्सको तलबः ६ हजारदेखि ५३ हजारसम्म

नर्सहरुले केही राम्रो तलव सुविधा पाउने सरकारी अस्पतालहरुमा गंगालाल हृदयरोग केन्द्र पहिलोमा आउँछ । गंगालालमा कार्यरत नर्सहरुलाई अस्पतालले ५३ हजार रुपैयाँसम्म तलव दिने गरेको स्रोत बताउँछ ।

त्यस्तै, त्रि.वि शिक्षण अस्पतालले ३० देखि ४० हजार रुपैयाँसम्म तलवको व्यवस्था गर्दै आएको छ ।

जब कि सरकारी अस्पतालभन्दा निकै ठूला तथा राम्रा भनिएका निजी अस्पतालहरुले भने नर्सहरुलाई न्युनतम ६ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म दिएर काममा लगाइरहेको अध्यक्ष पोखरेल बताउँछिन् । उनी भन्छिन्, ‘नेपालमा ७४ हजारको हाराहारीमा नर्सहरु दर्ता भएका छन् । तर, उनीहरु विदेश पलायन हुन बाध्य छन् ।’

हुन पनि नेपालमा स्वास्थ्य क्षेत्रको अभिन्न अंग मानिने नर्सहरुलाई सरकारले न त कुनै राम्रो व्यवस्था गरेको छ, न त उनीहरुको नियमन तथा सुपरीवेक्षणका लागि सरकारले हालसम्म कुनै नर्सिङ्ग महाशाखाको नै व्यवस्था गरेको छ ।

नर्सहरुले अलग्गै महाशाखाको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।

यो पनि पढ्नुहोस् 

काठमाडौंः सुखको राजधानी हो कि दुःखको ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment