नेपाली फिल्मको कथ्य खोज्न भन्दै माघको दोस्रो साता पोखरामा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने फिल्म फेष्टिवलमा १३ फिचर फिल्म र ४० सर्ट फिल्म प्रदर्शन गरिनेछन् ।
फेस्टिवलमा नेपालसहित थाइल्याण्ड, इराक, अमेरिका, बंगलादेश, जर्मनी, सिंगापुर, ताइवान, फ्रान्स, भारत, रसिया, चीन, ग्रीस, ब्राजिल, इटलीलगायतका मुलुकका फिल्मले भाग लिनेछन् । प्रतिस्पर्धिहरुबाट छनोट गरी उत्कृष्ट फिल्म, उत्कृष्ट नेपाल पानोरमा, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट जुरी अवार्ड प्रदान गरिने छ ।
यसपाली महोत्सवको मुख्य विशेषता नै न्यारेटिभमाथीको बहस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । हरेक फिल्मका निर्देशक समाजप्रति जिम्मेवार हुनुपर्ने धारणा राख्ने फेस्टिवल निर्देशक मनोज पण्डितले यस्ता फेस्टिवलले निर्देशकलाई जिम्मेवार बन्न प्रेरित गर्ने बताए ।
‘कुनै पनि निर्देशकले मेरो फिल्ममा सामाजिक जिम्मेवारी पनि छ भनेर महसुस गर्नुपर्छ,’ उनले भने ।
महोत्सवमा विभिन्न १० शीर्षकमा अन्तरसंवाद हुने छ । डा चैतन्य मिश्र, यादव खरेल, नवीन सुब्बा, सुरेश ढकाल यी बहसमा सहभागी हुनेछन् । रबिन्द्र अधिकारी, मणी थापा र विश्वप्रकाश शर्माले नेपाली सिनेमालाई राजनितीक दलले हेर्ने दृष्टिकोणबारे धारणा राख्ने छन् ।
प्रतिक्रिया 4