Comments Add Comment

ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भइसक्योः महासेठ

संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौंः यादव

१८ पुस, काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता महासेठले भने, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भइरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो ।’

उनले जनताको पहिलो रोजाइमा ओली नै परेको जिकीर गरे । उनले भने, ‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन् ।’

धनुषा ४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो ।

महासेठले भने, ‘अहिले प्रत्यक्ष रुपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भइसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ ।’

त्यस्तै उनले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै भने, ‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको छ, यो पनि समय लम्ब्याउने खेल हो ।’

उनले निर्वाचन आयोग र प्रधानमन्त्री मात्रै नभएर मधेशवादी दलका नेताहरु पनि गोटी बनेको आरोप लगाए । उनले थपे, ‘उहाँहरुको बोली एकथरी हुन्छ अनि व्यवहार अर्कोथरी देखिएको छ, उहाँहरुको हेडक्वार्टर कहाँ छ ? यो आश्चर्य लागेको छ ।’

संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौंः यादव

साक्षत्कारमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले १२ वर्षपछि राजपा र फोरम मिल्दा यो वर्षको निर्वाचनमा सफलता हात परेको उल्लेख गरे । उनले भने, ‘हामीलाई जनताले यो पटक २ नम्बर प्रदेशमा सम्मानजनक बहुमत दिएका छन्, यो हाम्रो ठूलो सफलता हो ।’ उनले २ नम्बर प्रदेशमा मधेशवादी दलहरुको नै सरकार बन्ने पनि दाबी गरे ।

यादवले राजपा र फोरमवीच मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको पनि प्रष्ट पारे । उनले भने, ‘ठूलो दलको तर्फबाट मुख्यमन्त्री बन्ने भन्नेबारे हाम्रो पहिल्यै नै सहमति भएको थियो, सोही अनुरुप फोरमबाट मुख्यमन्त्री बन्नुहुन्छ ।’

त्यस्तै उनले आफूहरुको मुख्य उद्देश्य भनेको संविधान संशोधन भएकोले सोही अनुसार आफूहरु अघि बढ्ने बताए ।

यादवले अहिले सरकारमा जानेबारे कुनै संभावना नरहेको स्पष्ट पारे । उनले आफूहरुले उठाएका मुद्दाहरु हल गरे सरकारमा जानेबारे पूर्नविचार गर्ने उनको भनाई थियो ।

उनले आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच सामान्य छलफल भएको स्वीकार गरे । उनले आफूहरुले कसैलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्नेबारे कुनै निर्णय नलिएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment