Comments Add Comment

बाँकेमा आमा सुरक्षा कार्यक्रम प्रभावकारी, मातृ मृत्युदरमा उल्लेख्य कमी

१९ पुस, नेपालगन्ज । बाँकेमा एक वर्षअघि सुरु गरिएको आमा बचाउ कार्यक्रमले सुत्केरी आमाको मृत्युमा उल्लेख्य कमी आएको पाइएको छ ।

गत आर्थिक वर्षको पुस १५ गतेसम्म १२ जना सुत्केरी आमाको मृत्यु भएपछि प्रजनन स्वास्थ्य समन्वय समिति बाँकेले पुस १८ गतेदेखि बाँकेमा विशेष आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले गत आर्थिक वर्ष २०७३/२०७४ को पुस १५ गतेसम्म १२ सुत्केरी आमाले ज्यान गुमाएपछि बाँकेमा आमा बचाउ विशेष अभियान सञ्चालन गरेको जानकारी दिए ।

सुत्केरी अवस्थामा ज्यान गुमाउने आमाहरुमा मधेशी तथा मुस्लिम समुदायका आमाहरु बढी भएको कारण पनि विषेश अभियान सञ्चालन गर्नु परेको जानकारी दिदै उनले सो आर्थिक वर्षमा १५ सुत्केरी आमाले ज्यान गुमाउनु परेको बताए ।

उनले भने-‘गते आर्थिक वर्षको पुससम्ममा १२ सुत्केरी आमाले ज्यान गुमाएका थिए भने यो आर्थिक वर्षको पुस १५ सम्म ६ जना सुत्केरी आमाले ज्यान गुमाए ।’ उनले थपे, ‘गत वर्षको तुलनामा आमा बचाउ अभियान सञ्चालनपछि ५० प्रतिशत आमाको ज्यान जोगाउन सफल भएका छौ ।’

आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेपछि २०७३ पुस १८ देखि २०७४ पुस १८ सम्म एक वर्षको अवधीमा ६ जना सुत्केरी आमाले ज्यान गुमाएका छन् ।

उनले २०१६ को गरिएको सर्वेक्षण अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा २ सय ३९ आमाको मृत्यु हुने तथ्याङ रहँदा सोही तथ्याङ्कलाई आधार मान्दा बाँकेमा हाल करिव १५ हजार जीवित जन्म हुँदा ३० भन्दा माथि आमाको मृत्यु हुने अनुमान गरिएको छ ।

नेपालले सो तथ्याङ्कलाई सहश्राब्दी विकास लक्षमा पुग्नको लागि सन् २०३० सम्म प्रतिलाख जीवित जन्ममा ७० मृत्युमा झार्ने प्रतिबद्धता जनाउदा बाँकेमा ११ जनाको मृत्यु हुने अनमान रहेको बताए ।

जनस्वास्थ्य अधिकृत खड्काले आमा सुरक्षा कार्यक्रमका लागि मधेसी, मुस्लिम समुदायमा बढी केन्दि्रत रहेर जनशक्ति थप गर्नुको साथै गर्भवती चेक जाँचको लागि आउनेहरुलाई विशेष रुपमा ताकेता गरी उनीहरुको चेकजाँच गर्ने गरेकोले पनि आमा मृत्यु दर घटेको दाबी गरे ।

उनले सुत्केरी भएको ३ दिन र ७ दिनमा घरमै स्वास्थ्यकर्मी पठाई सुत्केरी र वच्चाको स्वास्थ्य अवस्था चेक जाँच गर्ने कार्यक्रम नै बनाउदै लागू गर्नुपर्ने बताए ।

उनले भने- ‘बाँकेमा मधेशी मुस्लिम समुदाय लक्षित सचेतना कार्यक्रमसँगै सुत्केरीको घरमै पुगेर ३ दिन र ७ दिनमा जाँच गर्ने साथै उनीहरुको पोषणमा ध्यान दिन सके सुत्केरी आमाको मृत्यु शुन्यमा सजिलै झार्न सकिन्छ ।’

उनले किशोरी आमाको पोषणमा ध्यान नदिँदा उनीहरु सुत्केरी अवस्थामा जटिलता हुने भएकोले किशोरीलाई आइरन चक्की खुवाउने कार्यक्रम सुरु गरेपछि यसले पनि मातृ मृत्युदर कम हुने ठोकुवा समेत गरे ।

यसैबीच मातृ तथा बाल मृत्यू दर कम गर्न नेपालगन्ज नगर क्षेत्रमा नयाँ रणनीति अपनाइएको छ । नगर क्षेत्रमा नै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगन्जमा मोबाईल हेल्प सञ्चालनमा ल्याइने भएको हो ।

मेडिक मोवाइलको आर्थिक सहयोगमा नेपालगन्ज उप-महानगरले मोवाईल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो । सरकारको मातृ तथा बाल स्वाथ्य सुरक्षा सम्वन्धी मोवाइल स्वास्थ्य कार्यक्रम अन्तगर्त सेवा प्रवाह बारे उप-महानगरका जनप्रतिनिधि तथा वडा अध्यक्षहरुलाई अवगत गराइएको छ ।

उप-महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले प्रविधिसँगै सेवा प्रवाहबीचको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे । उप मेयर उमा थापामगरले मोवाईलमार्फत स्वास्थ्य सचेतनासँगै जीवन सुरक्षा गर्ने सम्वेदनशील जिम्मेवारी भएकाले यसको आवश्यक्ता बढ्दै जाने दावी गरिन् ।

जन स्वास्थ्य कार्यालयका प्रमुख खीमबहादुर खडकाले नगरमा रहेका दुई सय १ महिला स्वास्थ्य स्वयंसेवीकालाई मोवाइल वितरण गरिनुका साथै मोबाईल म्यासेज सेन्टर स्थापना गरेर वितरित मोवाईलमा आवश्यक सन्देश, सेवा सूचना प्रवाह गरिने जानकारी दिए ।

उनले सेन्टरमा गर्भवती महिलाको सम्पूर्ण रेकर्ड अपडेट गरिने छ । मोवाइल सेवा सञ्चालन बारे ३ दिने तालिम पश्चात स्वास्थ्यकर्मीले अब वडामा स्वास्थ्य स्वयं सेवीकालाई प्रशिक्षित गर्नेछन् ।

नियमित सुरक्षा सचेतना नअपनाउँदा वर्षेनी गर्भवती महिलाले अकालमा ज्यान गुमाउने गरेकोले त्यस्ता महिलाको ज्यान बचाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment