२० पुस, काठमाडौ । कर्मचारी आन्दोलनका कारण विगत २१ दिनबाट बन्द रहेको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन ।
अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुदाँ किष्ट कलेजमा आउने हजारौ विरामीहरु प्रभावित बनेका छन् ।
अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच सेवासुविधा तथा तलब भत्ता बढाउनु पर्ने लगायतका १५ बुँदे मागलाई लिएर वार्ता बस्न नसक्दा चिकित्सा शिक्षा संस्थान (आइओएम)ले एमबीबीएस् अन्तिम वर्ष तथा बीडीएस चौथो वर्षको प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि रद्द गरेको छ ।
त्यस्तै, किष्टमा सञ्चालित एमबीबीएस् दोश्रो वर्षको कक्षा समेत स्थगित भएको छ ।
किष्ट कलेजमा विगत २१ दिनदेखि चलेको आन्दोलनका कारण विद्यार्थीहरुको पढाई प्रभावित हुँदै गएको किष्ट मेडिकल कलेज विद्यार्थी समाजका अध्यक्ष विभेद न्यौपानेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अस्पतालले पठनपाठन हुने नहुने सम्बन्धमा हालसम्म कुनै सूचना नदिएको बताउदै न्यौपानेले अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच यथाश्रीघ वार्ता गरी समस्याको समाधान गर्न आग्रह गरेका छन् ।
साथै आईओएम तथा नेपाल मेडिकल काउन्सिललाई यसमा समन्वयकारी भूमिका खेलेर समस्याको समाधान गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया 4