Comments Add Comment

नयाँ शक्तिको निष्कर्षः कागजी बाघले खायो

१९ पुस, पोखरा । भावी रणनीति तय गर्न नयाँ शक्ति पार्टीको बैठक कास्कीको ल्वाङ घलेल होमस्टेमा चलिरहेको छ । नेताहरुले आआफ्नो शैलीमा धारणा राखिरहेका छन्, उनीहरु मध्ये एकले नयाँ शक्तिलाई उखानसँग जोडेर आˆनो मत राखे ।

उनले सुनाएको उखान छ, एक जनालाई ज्योतिषले भनेछ, ‘यो मितिमा तिम्रो मृत्यु बाघको आक्रमणबाट हुनेछ ।’ जति मिति नजिकिँदै जान्छ, उभित्र उति नै डर पैदा हुँदै जान्छ । मिति नजिकै आएपछि उसले बाघको आक्रमणबाट बच्न ठूलो फलामे खोर बनाउँछ । ज्योतिषले दिएको मितिमा बाघ नआएपछि उसले कागजमा बाघको चित्र बनाउँछ र बाघ आयो बाघ आयो भन्दै आत्तिएरै मृत्यु हुन्छ ।

उखानजस्तै नयाँ शक्तिले कांग्रेस, माओवादी, एमालेलाई बाघ सम्झँदा आफू सिद्धिएको उनको निष्कर्ष छ । ‘हामीले नयाँ शक्ति नयाँ त भनौं तर लालसलाम र जयनेपालको धङधङी त्याग्न सकेनौं’ उनले भने, ‘हाम्रा एजेण्डा अरुले हाम्रो हो भनेर निर्वाचनमा जाँदा पनि हामीले जनतालाई कसैगरी बुझाउन सकेनौं ।’

मंगलबारदेखि जारी नयाँ शक्ति नेपालको महाधिवेशन आयोजक समितिको बैठकमा केही केन्द्रीय कार्यकारी सदस्यहरुले जुन गठबन्धनसँग मिसिए पनि सत्तामा हुनुपर्ने धारणा राखे । तर, अधिकांशले सत्ता र शक्तिबाट टाढा रहनु पर्ने मत राखे ।

‘वैकल्पिक शक्ति निर्माण गर्ने थुप्रै आधार र पुरै राजमार्ग खाली छ’ केन्द्रीय नेता देवेन्द्र पराजुलीले अनलाइनखबरसँग भने, ‘यदि देशको विकास र अबको राजनीति अगाडि बढाउने हो भने वैकल्पिक राजनीतिका विकल्प छैन ।’

पुरानो शक्तिको धङधङी त्यागेर कार्यक्रमसहित जनताका बीचमा जाने हो भने बैकल्पिक राजनीतिक शक्ति बन्न सक्ने धेरै नेताहरुको मत छ । पुरानै शक्तिको धङधङी बोकेर आउने र जाने क्रम बढेको भन्दै नेताहरुले नयाँ शक्ति बनाउन सक्छौं भन्ने व्यक्तिहरु अगाडि बढ्नु पर्नेमा केही केन्द्रीय सदस्यहरुले धारणा राखे ।

पार्टीले समातेको अहिलेसम्मको बाटो, पार्टीमा भएका कमजोरी, स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको नतिजा र अबको बाटोका विषयमा पहिलो र दोस्रो दिन केन्द्रीय कार्यकारी सदस्यहरुले आˆना मत राखेका थिए ।

सबै संगठनलाई भंग गर्न माग

सांगनिक संरचनालाई मिलाउन नजान्नु नयाँ शक्ति कमजोर हुने अर्को कारण भएको वैठकमा तर्क उठेको छ ।

एक जना केन्द्रीय सदस्यले व्यङ्ग्य नै गरे, ‘केन्द्रीय सदस्य बन्न मन लागे नयाँ शक्तिमा जानु, जति सदस्य उति केन्द्रीय सदस्य भन्ने कुराले बजार नै पिट्यो । जसका कारण नयाँ शक्तिमा आउने र जानेहरुले पार्टीलाई गिराउने काम गरे ।’ अब नयाँ शक्तिका सबै सबै केन्द्रीय विभाग र सांगठिक संरचना भंग गरेर नयाँ संरचना निर्माण गरी जनताको घरदैलोमा जानुपर्ने केन्द्रीय सदस्यहरुको माग छ । ‘देशमा नयाँ शक्ति बन्छ,बन्छ तर सांगठनिक पुनर्गठन गरौं र नयाँ धारबाट जाऔं,’ अधिकांश केन्द्रीय सदस्यको मत छ ।

वैठकमा आˆनो मत राख्ने केही सदस्यले नयाँ शक्ति आवश्यक त थियो र गठन गर्ने समय ठीक नभएको बताएका छन् । ‘संविधान निर्माणपछि कार्यान्वय गर्ने अवसरका बेला डा’सापले पार्टी त्यागेर निस्कँदा धेरै आलोचना भयो र त्यसको असर अहिलेसम्म पनि परेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘नयाँ शक्ति त एकदिन निर्माण हुन्थ्योहुन्थ्यो । तर उचित समय नरोज्दा हामीले पार्टी बनाउन सकेनौं ।’

ठीक समय नरोजेकै कारण नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई धेरै आलोचित भएको र त्यसको असरले दीर्घकालिन प्रभाव पारेको केही केन्द्रीय सदस्यको भनाइ थियो ।

यस्तो आउँदैछ घोषणापत्र

तीन दिने बैठक ल्वाङ घोषणापत्र जारी गर्दै बिहीबार सकिँदैछ । बैठकले वैकल्पिक राजनीति नै अहिलेको आवश्यकता भएकाले वैकल्पिक शक्ति निर्माणमा अन्य दलसँग पनि सहकार्य र छलफल गर्ने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

पार्टीमा थुप्रै कमीकमजोरी भएको र त्यसलाई निर्ममतापूर्वक समीक्षा गर्दै पार्टीको संगठन विस्तार तथा विकासमा लाग्ने वैठकले अठोट गरेको घोषणापत्र नयाँ शक्तिले सार्वजनिक गर्दैछ । भ्रमलाई चिर्न नसक्नु, नीति सिद्धान्तलाई जनतामसम्म पुर्‍याउन नसक्नु, संगठनलाई तल्लो तहसम्म पुर्‍याउन नसक्नु नै नयाँ शक्ति स्थानीय तथा प्रदेश र प्रतिनिधि सभा हार्नुको मुख्य कारण भएको स्विकार्दै अब संगठनलाई बलियो बनाउने घोषणा बैठकको छ ।

अहिलेको राजनीतिक गठबन्धन र त्यसबाट बन्ने सरकारले देशलाई निकास तथा स्थायी सरकारको आवश्यकता पूरा गर्ने नदेखिएको भन्दै नयाँ शक्तिको बैठकले कार्यकारी राष्ट्रपतिका पक्षमा आवाज उठाउने र दबाब दिनु पर्नेे निचोड निकालेको छ ।

बीचमा नयाँ शक्तिमा आउने र जाने क्रमले सदस्यहरु एकिन नभएकाले छिट्टै एकिन सदस्यको संख्या निकाल्ने र संगठन निर्माणमा रणनीतिक योजना बनाएर अगाडि जाने उसले जनाएको छ । फागुन दोस्रो साता संघीय बैठक बस्ने र त्यही बैठकले महाधिवेशनको टुंगो लगाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment