Comments Add Comment

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन

२० पुस, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन माग गर्दै विहीबार वीरगञ्जमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा कांग्रेस, एमाले लगायत विभिन्न दलका अगुवा तथा युवाहरुको सहभागिता थियो ।

वीरगञ्जको घण्टाघरबाट शुरु भएको दवाव र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कुनै पनि हालतमा बीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

कोणसभामा बोल्दै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले प्रदेश नं २ बाट बारा पर्सा हटाउने हो भने प्रदेशको आर्थिक हैसियत थाहा लाग्ने बताए ।

‘आर्थिक रुपमा बारा, पर्सा जति सक्षम प्रदेशमा कुनैपनि जिल्ला छैन, त्यसैले पनि प्रदेशको राजधानी वीरगञ्ज नै हुनुपर्छ ।’ उनले थपे ‘मधेस आन्दोलनको बलमा रोटी सेकेकाहरुले वीरगञ्जलाई राजधानी बनाउने सवालमा बोल्न नसक्नु दुःखद भएको उनको भनाई छ ।

नेकपा एमालेका नेता एवं पूर्व सभासद राजकुमार गुप्ताले बरु एमाले पार्टी छोड्न तयार रहेको तर वीरगञ्ज प्रदेश राजधानी प्रति आफ्नो अडान यथावत रहेको बताए ।

‘आन्दोलन वीरगञ्जमा हुने यहाँका जनताहरुले आन्दोलन गर्ने, उद्योग धन्दा र व्यापार व्यवसाय वीरगञ्जको धराशायी हुने तर राजधानी जनकपुर हुने ? यो कदापी हुन सक्दैन ।’ नेता गुप्ताले भने ‘एमाले पार्टी वीरगञ्जलाई राजधानी बनाउनुहुँदैन भनेर भन्छ भने पार्टी छोड्न तयार छु तर वीरगञ्ज राजधानी हुनुपर्छ भन्ने अडानबाट पछि हट्दिन ।’

वीरगञ्ज प्रदेश नं २ को मात्रै नभएर देशकै राजधानी हुन सक्ने हैसियत राख्ने ठाउँ भएको उनको तर्क छ । कोणसभामा बोल्दै एमाले नेता शम्भु गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, युवा नेता ओम प्रकाश सर्राफ लगायतले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

यसअघि विहीबार नै नेकपा एमाले पर्साले पत्रकार सम्मेलन गरी वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानी नबनाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वीरगञ्जको ऐतिहासिक महिमा र भौतिक पूर्वाधारको तुलना अन्य ठाउँसँग गर्न नमिल्ने भन्दै एमालेले प्रदेश नं २ को राजधानी वीरगञ्ज नै हुनुपर्ने दावी गरेको हो ।

प्रेस चौतारी नेपाल पर्साले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका जिल्ला संयोजक प्रभु हजराले प्रदेशका अन्य शहर भन्दा बीरगन्ज हरेक कुरामा अब्बल रहेको बताए । ‘रैतीलाई प्र्रजा र प्रजालाई नागरिक बनाउने आन्दोलनको शंखनाद तथा मधेश आन्दोलनलाई अन्तर्राष्ट्रियकरण पनि बीरगञ्जबाटै भएको हो, मध्य तराईको विकासको लागि पनि वीरगञ्ज राजधानी हुनुपर्छ ।’ संयोजक हजराले भने

वीरगञ्जलाई राजधानी बनाउने आन्दोलनको पक्षमा एमालेको सिंगो पार्टी पंक्तिकोसमर्थन रहने संयोजक हजराको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment