Comments Add Comment

उपेन्द्र सुब्बाको ‘हरियो ढुंगा’मा पुँजीवादी विम्ब

‘भुटानमा छँदा मेरा २० वटा गाईवस्तु थिए । घर, जग्गा, साथीभाइ, इष्टमित्र सबै उतै छुटे । यो भुटानको नागरिकता हो । नागरिकता त छ नि, देशै खोसियो, अब कहाँ जाने ?’

नागरिकका लागि आफ्नो मातृभूमि अर्थात् देश प्राणभन्दा  पनि प्यारो हुन्छ । देशका निम्ति आइपरे ऊ ज्यान दिन पनि तयार हुन्छ । तर, त्यही नागरिक कुनै बहानामा देशबाट लखेटिनु पर्‍यो भने ? हातमा नागरिकता बोकेर देशविहीन हुनु पर्‍यो भने उसको अवस्था के होला ?

शिल्पी थिएटरमा चलिरहेको नाटक ‘हरियो ढुंगा’का पात्र कर्साङले त्यही भोगाइलाई अभिव्यक्त गर्दा दर्शकले पीडालाई नजिकबाट महशुस गर्छन् । केही वर्षअघि उपेन्द्र सुब्बाले भुटानी शरणार्थीमाथि लेखेको कथा हो, ‘हरियो ढुंगा’ । सोही कथालाई निर्देशक सुनिल पोखरेलले मञ्चमा उतारेका हुन् ।

आफ्नै माटोमा फर्किन पाउनुपर्छ भन्ने आन्दोलनबाट शुरु भएको नाटक त्यो सपना क्षतविक्षत भएको अवस्थामा टुंगिन्छ । यो अढाइ दशकमा भुटानी शरणार्थीले देश फिर्तीको माग राख्दै लामो लडाईं लडे । नाटकमा लडाईंको विम्बात्मक प्रस्तुति देख्न सकिन्छ ।

नाटकमा पुँजीवादले कसरी सीमान्त मानिसको सपनाको विखण्डन गर्छ भन्ने देख्न सकिन्छ । एउटा परिवार तहसनहस पार्न के के कुराको भूमिका हुन्छ ? नाटकमा मुख्य पात्र निचुले र उसको पारिवारिक विखण्डनको कथा छ ।

नाटकले शरणार्थी जीवनको कथा भन्दै पुँजीवादले कसरी आम श्रमजीवी जनतालाई सपनाच्यूत बनाउँदै लगेको छ भन्नेतर्फ झक्झक्याएको छ

‘हरियो ढुंगा’ पुँजीवादको एउटा माध्यम बजार र उपभोक्तावादले शरणार्थी समाजमा पारेको प्रभावको विम्ब हो । बोल्न नसक्ने पात्र निचुलेले खोलामा गिटी कुट्ने क्रममा एक दिन हरियो ढुंगा फेला पार्छ । त्यो बहुमुल्य पत्थर बेचेको पैसाले उसकी पत्नी निचुलेनी कान्छी साडी किन्छे । छोरी सक्कलीले स्यान्डल जोड्छे ।

शिविरमा बत्ति थिएन, ब्याट्री ल्याएर भए पनि टेलिभिजन किन्नु पर्‍यो । आवाजहीन निचुले बगरमा गिटी कुटिरहन्छ । तर, उसका स्वास्नी, छोराछोरी ढुंगा बेचेर आएको पैसा उत्पादनमुलक वा सिर्जनात्मक काममा लगानी गर्ने वा जोहो गर्नेतिर लाग्दैनन्, उनीहरुमा बजार र विज्ञापनको जो प्रभाव छ ।

टीभीको ब्याट्री बेचेर हल्दारे घडी किन्छ । अरुभन्दा हाम्रोस्तर माथि उठ्यो भन्ने दम्भ निचुलेबाहेक उसका परिवारका सदस्यमा चढ्छ । त्यो घडी, साडी र स्यान्डल आखिर कसरी पारिवारिक विखण्डनको माध्यम बन्छ ? उस्तै समस्या र दुःख भोगिरहेको समाजमा पुँजीवादले कसरी फाटो ल्याइदिन्छ ? त्यस्ता सुक्ष्म माध्यमबाट कसरी उनीहरुबीचको एकता र आन्दोलनलाई भत्काइदिन्छ ? नाटकमा त्यो विम्ब निकै सशक्त रुपमा उतारिएको छ ।

‘इम्प्रोभाइज्ड’ नाटक

आरोहण गुरुकुलमार्फत् नेपाली रंगमञ्चलाई बलियो स्थापत्य दिएका निर्देशक पोखरेलले नाट्यआलेखबिनै यो नाटक तयार पारेका हुन् । शरणार्थीमाथि नै इन्द्रबहादुर राईले लेखेको कथा ‘जयमाया आफू मात्रै लेखापानी आइपुगी’लाई नाट्य रुपान्तरण गर्दा पनि उनले आलेख लेखेनन् ।

प्राविधिक कारणवश गुरुकुल भत्कियो तर नाटक गर्ने उनको सपना भत्किएन । ‘ज्ञ-डिस्कर योरसेल्फ’ नामक नयाँ प्लेटर्फम शुरु गरेर उनले नयाँ पुस्तालाई नाट्य प्रशिक्षण दिइरहेका छन् । उनको तीन महिने प्रशिक्षणबाट उत्पादित विद्यार्थी नै ‘हरियो ढुंगा’का कलाकार हुन् । मुख्य कलाकार निचुले कान्छोको भूमिकामा रहेका विपिन कार्की गुरुकुलकै कलाकार हुन् ।

निर्देशक पोखरेल आफ्नो चरित्र खोज्न कलाकारलाई नै मौका दिन्छन् । त्यसैले कथामा नभएका संवाद पनि नाटकमा राखिएको छ । ती कलाकार स्वयंले बनाएका हुन् ।

‘कथालाई कलाकारसँग बसेर धेरैपल्ट रिडिङ गर्छौं । त्यसपछि आफ्नो भूमिका बनाउन कलाकारलाई छोडिदिन्छु,’ पोखरेल भन्छन्, ‘दृष्य तयार गर्न कलाकारलाई नै दिन्छु, केही ठाउँमा म मिलाउँछु ।’

अनि, कलाकारले आफ्ना शब्द राख्छन्, पोखरेलले संयोजन गरिदिन्छन् । कहाँ, कुन संवाद ठीक वा बेठीक छ, कुन दृष्य राख्ने वा बढी भयो या पुगेन, कुन दृष्य कहाँ शुरु गरेर टुंग्याउने, पछि मात्र भन्छन् पोखरेलले । कलाकारले एकदम स्वतन्त्र रुपमा काम गर्न पाउँछन् ।

नाटकमा अनिल सुब्बाको भूमिकाको कथा छैन । सुब्बालाई निर्देशकले कथामा आफ्नो भूमिका आफैं खोज्न भनेका थिए । कलाकार सुब्बा भुटानी शरणार्थी शिविर छेउमै बस्थे । शरणार्थीको जीवन नजिकबाट बुझेका थिए । शिविरमै भएको एक वास्तविक चरित्रलाई नाटकमा उनले उतारेका छन् ।

त्यस्तै, ‘सुस्ते’ पात्रको भूमिका निर्वाह गरेकी सुनिशा बजगाईंले पनि आफ्नो भूमिका आफैंले निर्माण गरेकी हुन् । बाघचालको दृष्य पनि कलाकारले थपेका हुन् । भुटानी शरणार्थीको संवेदनाको पृष्ठभूमि निर्माण गर्न यसरी थपिएको कथाले काम गरेको छ ।

मञ्चको सेटिङ र पात्रहरुको जीवन्त गतिविधिले दर्शकलाई शिविरमै पुुगेको अनुभूति गराउँछ ।

यसरी ‘इम्प्रोभाइजेसन’ गर्न दिँदा कलाकार बलियो बन्ने सुनिल बताउँछन् । यसले नाटकमा कलाकार आफैं सचेत हुने गरेको उनको अनुभव छ । ‘एउटा मान्छेको आइडिया सीमित हुन्छ । सबै कलाकार जब आइडिया लगाउँछन्, त्यसबेला नाटकमा आफूले नसोचेका ढोकाहरु खुल्छन्,’ उनी भन्छन्, ‘वास्तवमा निर्देशकको काम अह्राउनेभन्दा पनि संयोजन गर्ने, प्राविधिक रुपमा मिलाउने र नाटकलाई एउटा लय दिने हो । मलाई यसरी काम गर्नु नै ठीक लाग्छ ।’

‘हेभी टेक्स्ट’मा आधारित नाटक निर्देशकको परिचय बनाएका छन्, पोखरेलले । त्यसका लागि अनुभवी कलाकार आवश्यक पर्ने उनको अनुभव छ । गुरुकुलमा दुई वर्षे प्रशिक्षण लिएका कलाकार भएका कारण उनलाई त्यसरी काम गर्न सहज थियो ।

त्यसैले थोरै अवधिको प्रशिक्षण लिएका कलाकारबाट काम लिन उनले ‘इम्प्रोभाइजेसन’ शैली अपनाएका छन् । त्यसले कलाकारलाई नाटकप्रति अपनत्व विकास गराउन पनि सहयोग पुर्‍याइरहेको उनी बताउँछन् । भन्छन्, ‘विद्यार्थीसँग काम गर्दा यही शैलीमा गर्नु उत्तम हुन्छ । त्यसो त, म गुरुकुलकै शैलीका नाटक पनि नगर्ने होइन ।’

नाटकको अभावमा कथा

नेपाली साहित्यमा अन्य विधामा धेरै कृति आए पनि नाटक लेखिन छाडेको छ । राम्रा नाटकको अभाव भएपछि पोखरेल आफैंले स्थापित लेखकहरुलाई नाटक लेखिदिन अनुरोध नगरेका होइनन् । तर, अपेक्षाकृत नाटक लेखिन सकेका छैनन् ।

त्यसको कारणबारे घोत्लिँदै उनी भन्छन्, ‘उपन्यास, कथाभन्दा विधागत रुपमा फरक र प्राविधिक रुपमा अप्ठ्यारो पनि छ । त्यो भएर पनि कति साहित्यकारले नाटक नलेखेका होलान् ।’

त्यही अभाव पूर्ति गर्न उनीचाहिँ कथा मञ्चन गरिरहेका छन् । भन्छन्, ‘कथामा आफू स्वतन्त्र भएर चल्न पाइन्छ, मात्रै कथा मर्नु भएन ।’

पोखरेलले मञ्चनका लागि छानेको कथा ‘हरियो ढुंगा’ पद्मश्री पुरस्कारप्राप्त कृति ‘लाटो पहाड’बाट लिइएको हो । कथाकार उपेन्द्र सुब्बाले भुटानी शरणार्थीमाथि बनेको सिनेमा ‘देश खोज्दै जाँदा’को छायांकनका क्रममा बेलडाँगीमा सुनेको कथालाई यसमा उतारेका हुन् ।

त्यसलाई नाट्यस्वरुपमा ल्याउँदा पोखरेलले ‘देश खोज्दै जाँदा’ सिनेमा नहेर्ने दर्शकलाई पनि सम्बोधन हुनेगरी कथा विस्तार गरिदिएका छन् ।

हास्यमा यौन-ठट्टाको भर

कथाको विषय मार्मिक छ, नाटक हेर्दा दर्शक भावुकताले किचिन्छन् नै । त्यसैले नाटकमा केही हास्य खोजिनु स्वाभाविकै हो । त्यसो त, कथाकार सुब्बाले कथामै पनि केही यौनजन्य ठट्टा राखेका छन् । त्यसमाथि नाटकमा थप मसला घोलिएको छ ।

लिम्बू समाजमा त्यतिको ठट्टालाई एकदम सामान्य मानिने हुँदा पनि राखिएको निर्देशकको जिकिर छ ।

‘एकाध कुरा कलाकारले पनि थपे । अहिलेको समयमा जीवनमै पचाउँछौं भने नाटकमा पनि पचाउनु पर्छजस्तो लाग्छ । तर, एउटा सीमासम्म । म यहाँभन्दा परतिरचाहिँ जाँदिन,’ उनी भन्छन् ।

तर, यस्तो प्रयोगले दर्शकलाई भद्दा मनोरञ्जनमा रमाउन अभ्यस्त बनाउँदै त छैन ? प्रश्न गर्ने ठाउँ उनले छाडेका छन् । पछिल्लो समय नेपाली सिनेमामा मात्रै नभई रंगमञ्चमा पनि दर्शक हसाउन नांगो यौन ठट्टा पस्किने शैली हाबी हुँदै गएको छ । यसलाई निर्देशक पोखरेलले निरुत्साहित गरिदिएको भए नाटकको गहनता अझै चुलिने थियो ।

शरणार्थी कथाको विश्व सन्दर्भ

एउटा समुदाय वा राज्यले अर्को अल्पसंख्यक समुदायलाई बसिखान नदिएपछि शरणार्थी हुन्छन् । भाषा, परिस्थिति त फरक होला तर समस्या विश्वव्यापी रुपमा उस्तै हो । लगभग सबै शरणार्थीको पीडा एकै हुन्छ ।

यतिबेला मध्यपूर्वलगायत धेरै देश जाति, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक स्वार्थका कारण द्वन्द्वग्रस्त छन् । द्वन्द्वका कारण लाखौंलाख मानिस देशबाट लखेटिएका छन् । ती सुरक्षित जीवनका लागि अनिश्चित यात्रामा भौंतारिरहेका छन् ।

भूमध्य सागरमा डुब्दै छन्, हराउँदै छन् । बाँचेकाहरु गन्तव्यहीन हुँदै विभिन्न देशलाई उभिने धर्तीका लागि याचना गरिरहेका छन् । ती आँसु, करुण आवाजले भरिएका अनुहार र लेख्न बिर्सिइएका जीवन कथा मानव सभ्यताकै सबैभन्दा कहालीलाग्दो सत्य बन्दै आएको छ ।

सन् १९९० को दशकमा जिग्मे सरकारको दमनसँग देश निकाला गरिएका नेपालीभाषी भुटानीहरु त्यही अत्यासलाग्दो कथाका पात्र बने । नागरिकतासम्बन्धि समस्या देखाएर सरकारले नेपालीभाषी भुटानीको बहिष्करण शुरु गरेको थियो ।

उनीहरु शासनका लागि बाधक हुने सम्भावना देखेपछि तत्कालीन सरकारले निर्ममतापूर्वक लखेट्यो । घर, देश छोड्न नचाहनेहरु त्यहीं मारिए, कैद गरिए । लखेटिनेहरु आफ्नो सारा सम्पत्ति, घरबास, थातथलो छाडेर भागे । भागेर भारत पसेका ती शरणार्थीलाई भारत सरकारले मेची पुलमा ल्याएर छाडिदियो ।

यसरी उनीहरु भाषा, संस्कृति मिल्ने देश नेपालको शरणमा आइपुगे । झापा र मोरङका सात वटा शिविरमा नेपाल सरकारले दिएको रासनबाट गुजारा गर्न बाध्य भए । नेपाल पसेको केही समयपछिदेखि संयुक्त राष्ट्र संघले उनीहरुको रेखदेखमा पहल गर्दै आयो ।

त्यसरी आएका मध्ये अघिल्लो पुस्ताका कैयौं मानिस भुटानको गाउँमा आफूले फुलाएको तोरीबारी, केराघारी, आफ्नो आँगन, गोठ, पानी पँधेरा, छुटेका आफन्तकै सम्झनाले बिथोलिएर देह त्यागे । बाँचेका र बाँकी पुस्ताले देश र्फकन लामो लडाईं गरे ।

नेपाल सरकारले बेला-बेला बोलेको मधुरो आवाज कहीँ सुनिएन । भुटानी शरणार्थीलाई भारत सरकारले मेचीपारि तर्न कहिल्यै दिएन । थिम्पूको जिग्मे सरकारको कान धेरै पहिले बहिरो भइसकेको थियो । उसले आजसम्म पनि उनीहरुको देश फिर्तीसम्बन्धि अनुरोध सुन्न चाहेन ।

तिनको पछिल्लो पुस्ता शिविरकै चुहिने छानोमुनि जन्मिए, हुर्किए । जन्मँदै शरणार्थी हुन बाध्य ती केटाकेटीका लागि न त जन्मेको देश आफ्नो थियो, न त आमा-बुबाको देश टेक्न पाउने आशा नै बाँकी थियो । धर्तीकै आँचलमा जन्मेर ती विराना हुर्किंदै आए ।

भुटानी शरणार्थी समस्या विश्वकै इतिहासमा यति धेरै वर्षसम्म बल्भिmरह्यो । २६ वर्षदेखि नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरु भुटान र्फकने वातावरण नबनेपछि उनीहरु अहिले तेस्रो देश पुनर्वासमा गए ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग -यूएनएचसीआर)ले शरणार्थी समस्या समाधानका लागि सन् २००७ मा तेस्रो देश पुनर्वासको विकल्प ल्याएको हो ।

त्यसो त, स्वदेश फिर्ती र स्थानीयकरणको विकल्प पनि तिनैमध्ये थिए । तर, ती कार्यान्वयनमा ल्याउन सकेन ।

तेस्रो मुलुक पुनर्वासको निर्णय देशविहीन ती मानिसका लागि ठूलो उपलब्धि थियो । तर, गहिरो अर्थमा हेर्दा यसले आफ्नो देश फिर्तीका लागि उनीहरुले गर्दै आएको आन्दोलन तुहाइदिएको छ । पुँजीवादको चक्रले देश हराइरहेका मानिसको सपनाले बाटो बिरायो ।

शरणार्थीलाई शरण लिने देशले निकै सस्तोमा श्रमिक पाएको छ । अब कहिल्यै आफ्नो देश र्फकन नपाउने गरी ती धर्तीको अर्को गोलार्धतिर भासिएका छन् । भलै नयाँ पुस्ता ती विकसित मुलुकको भौतिक सुखको मोहले थोरै बाँधिएका होलान् । तर, तिनको मनमा कहीँ न कहीँ देश र्फकन नपाएको पीडा छचल्किन्छ ।

पुनर्वासमा भेटिएका भुटानीको आँखामा त्यो पीडा देखेपछि निर्देशक पोखरेललाई यो नाटक गर्नुपर्छ भन्ने लागेको थियो । ‘भुटानी शरणार्थी हाम्रो समयको एउटा त्रासद कालखण्ड नै थियो । हामी यो समयको साक्षी हौं । इतिहासलाई बिर्सन हुँदैन भन्ने लाग्यो र यो कथा छानें,’ उनी भन्छन् ।

जे होस्, नाटकले शरणार्थी जीवनको कथा भन्दै पुँजीवादले कसरी आम श्रमजीवी जनतालाई सपनाच्यूत बनाउँदै लगेको छ भन्नेतर्फ झक्झक्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment