Comments Add Comment

सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

राजधानीको मुद्दामा आन्दोलित नहुन एमाले नेताको निर्देशन

२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ ।

सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । तर, गठबन्धनले विवादबाट बच्न र भोलि आफू अनुकुल प्रदेश प्रमुख नियुक्त गर्ने बाटो खुला राख्न सहमति जनाएन ।

यो सरकारको काम हो भन्दै गठबन्धन पन्छिएपछि सरकारले पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तर, अस्थायी मुकाम नतोक्ने नीति लिएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाइनेछ ।

तर, एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेशको अस्थायी मुकाम नतोक्नु सरकारको अक्षमता हुने बताए । एमाले नेता ज्ञवालीले अनलाइनखबरसँग भने, ‘प्रदेशसभाबाट चुनिएका सदस्यहरुलाई काठमाडौंमा सपथ गराउनु भन्दा ठूलो जग हँसाइ के हुन्छ ?’

समस्याबाट पन्छिने नाममा सरकारले संघीयताको मर्म विपरीत काम गर्न खोजेको उनले बताए ।

साथै ज्ञवालीले यदि प्रदेशको अस्थायी राजधानी नतोक्ने हो भने प्रदेश प्रमुख पनि नियुक्त नगर्न सरकारलाई सुझाव दिए । ‘गर्न नहुने सबै गर्ने तर, गर्नुपर्ने कुराचाहिँ नगर्ने ?’ उनले भने, ‘त्यसो भए राष्ट्रपतिसँगै सपथ गराए भयो, प्रदेश प्रमुख किन तोक्ने ?’

अहिले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखलाई नयाँ सरकारले स्वीकार नगर्ने संकेत गर्दै ज्ञवालीले भने, उहाँहरुले सहमति गर्नुहुन्न, सहमति नगरेपछि प्रदेश प्रमुखको आयु डेढ/दुई महिना होला । किनभने त्यो निर्णयप्रति हामी जवाफदेही हुँदैनौं ।’

एमाले सचिव ज्ञवालीले अघि भने, त्यसो भए बाधा अड्काउ फुकाएर उच्च अदालतका मुख्य न्यायाधीशलाई रिपोर्ट -निर्वाचन परिणाम) बुझाउने र सपथ गराउन प्रवन्ध मिलाउन सकिन्छ ।’

तर, सरकारले अहिले अस्थायी मुकाम नतोक्ने र भोलि प्रदेशसभाले निर्णय गरेपछि जहाँजहाँ असन्तुष्टि देखिन्छ, त्यहाँ खेल्ने ‘छुद्र राजनीति’ गर्न खोजेको ज्ञवालीको आशंका छ ।

राजधानीको मुद्दामा आन्दोलित नहुन निर्देशन

वाम गठबन्धनका प्रभावशाली नेता ज्ञवालीले प्रदेशको अस्थायी मुकामलाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न अपील गरेका छन् । सरकारले एमालेले औपचारिक रुपमै कार्यकर्तालाई आह्वान गर्न लागेको समेत उनले जानकारी दिए ।

प्रदेश नम्बर ४ र ६ बाहेक अन्य प्रदेशको राजधानीलाई लिएर विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ । यो आन्दोलनमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादीका नेता कार्यकर्ताका साथै सांसद र प्रदेशसभा सदस्यसमेत सहभागी भएका छन् ।

तर, एमाले सचिव प्रदीप ज्ञवालीले अस्थायी राजधानीलाई लिएर तरंगित नहुन अपील गरेका छन् । अहिले भइरहेको आन्दोलन रोक्न अपील गर्दै उनले भने, ”अस्थायी केन्द्र तोक्ने कुरा नितान्त अस्थायी प्रवन्ध हो । यसमा तरंगित नहुनुस् ।’

प्रदेशको नाम र राजधानी प्रदेशसभाले दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था छ । यद्यपि प्रदेशसभाको पहिलो बैठकका लागि सरकारले अस्थायी मुकाम तोक्नुपर्ने हुन्छ ।

‘एउटै पार्टी वा गठबन्धनको दुई तिहाइ नै होला तर, विभिन्न ठाउँबाट चुनिएर आएका प्रदेशसभा सदस्यहरु छन् । विराटनगरबाट पनि चुनिएर आएका छन्, धनकुटाबाट पनि छन् । दाङबाट पनि चुनिएर आएका छन्, बुटवलबाट पनि छन्’ एमाले सचिव ज्ञवालीले अनलाइनखअबरसँग भने, दुबैतर्फको चित्त नबुझाई केन्द्र तोक्नै सकिँदैन । भोलि सहमति गर्ने ठाउँ छ र तपाईहरुले नै चुनेका प्रतिनिधिले टुंगो लगाउने हो । त्यसैले अहिले तरंगित नहुनुस् ।’

ज्ञवालीका अनुसार एमालेले आफ्नो आन्तरिक च्यानलमा पनि यही आग्रह गरेको छ ।

आवश्यक पर्‍यो भने पार्टीले संस्थागत रुपमा नै पनि अपील गर्न सक्ने बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने, ‘आन्तरिक च्यानलमा भनेका छौं, दुबै ठाउँका जनताले हामीलाई मत दिएका छन् । विराटनगर भर्सेस धनकुटा वा दाङ भर्सेस बुटवल गर्न जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment