पाकिस्तानमा क्रिकेटरबाट नेता बनेका इमरान खानको विवाहबारे फैलिएको हल्लाबारे उनको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का प्रवक्ताले स्पष्टीकरण दिएका छन् ।
पार्टीका प्रवक्ताले स्वीकार गरेका छन् कि इमरान खानले बुसरा मनेका नामकी एक महिलासँग विवाहको प्रस्ताव गरेका छन् तर, जवाफ अहिलेसम्म आएको छैन ।
आइतबार बिहान एक बिज्ञप्ति जारी गरी प्रवक्ताले भनेका छन्, ‘मिस्टर खानले बुसरा मनेकासँग विवाहको प्रस्ताव गरेका छन्, तर यसमा जवाफ दिनका लागि मनेकाले समय मागेकी छन्, उनी आफ्नो परिवार र बच्चासँग कुरा गरेपछि यसबारे फैसला गर्नेछिन् ।’
बिज्ञप्तिमा बुसरा मनेकाबारे मात्रै यति भनिएको छ कि उनी सार्वजनिक जीवनमा छैनन् र उनी निकै निजी जीवन व्यतित् गरिरहेकी छन् ।
पार्टीले यसलाई इमरान खान र बुसरा मनेकाको निजी मामला भएको बताउँदै सार्वजनिक जीवनमा यसबारे भइरहेको चर्चालाई लिएर दुःख व्यक्त गरेको छ ।
बक्तव्यका अनुसार, ‘निकै निजी र संवेदनशील बिषयमा भ्रम फैलाउने खालको अड्कलवाजी गर्नु निकै दुःखद हो । यसले मिस मनेका र मिस्टर खानका बच्चाहरुमा अस्वभाविक बोझ थोपरिएको छ, जसले यसबारेमा मिडियाबाटै थाहा पाएका थिए ।’
पार्टीले यो पनि भनेको छ कि यदि मनेका विवाहको प्रस्ताव स्वीकार्छिन् भने इमरान आफैंले यसबारे सार्वजनिक सूचना दिनेछन् ।
बिज्ञप्तिअनुसार, ‘अहिलेसम्म हामी सञ्चारमाध्यमलाई यो अनुरोध गर्छौं कि दुवै परिवार र खासगरी बच्चाको निजताको सम्मान गरियोस् ।’
गत साता एक अखबारले दावी गरेको थियो कि इमरान खानले नयाँ वर्षको अवसरमा तेस्रो विवाह गरेका छन् । यद्यपि पीटीआईका केही नेताले समाचारको खण्डन गर्दै यो उनको निजी मामला भएको बताएका थिए ।
इमरान खानले पहिलो विवाह जेमिमा गोल्डस्मिथसँग गरेका थिए । उनीहरुका दुई छोरा छन् । जेमिमा र इमरानबीच सन् २००४ मा बिछोड भएको थियो ।
जेमिमा बेलायती उद्योगपति गोल्ड स्मिथकी छोरी हुन् । सम्वन्ध विच्छेदपछि उनले घोषणा गरेकी थिइन् कि उनी अब आफ्नो थर ‘गोल्डस्मिथ’ मात्र लेख्नेछिन् ।
सन् २०१४ मा इमरानले टिभी प्रस्तोता रेहाम खानसँग दोस्रो विवाह गरे । रेहाम खानका मातापिता पाकिस्तानी हुन् र उनको जन्म लिवियामा भएको हो ।
उनको धेरैजसो पढाइ बेलायतमा भएको थियो । रेहाम पेशाले पत्रकार हुन् । उनको वेबसाइटका अनुसार उनले आफ्नो करिअर सन् २००६ मा सुरु गरेकी थिइन् । उनले सन् २००८ मा बीबीसीमा काम गरेकी थिइन् । बीबीसीमा उनी मौसमको समाचार प्रस्तुत गर्थिन् । पछि उनी डन न्युजसँग पनि जोडिएकी थिइन् ।
प्रतिक्रिया 4