Comments Add Comment

श्वेताको धपेडीः कान्छीदेखि कफीसम्म

श्वेता खड्का अलि धपेडीमा थिइन् । दरबारमार्गस्थित राइजिङ मलको ग्राउन्ड फ्लोरस्थित आफ्नै कफी हाउस (हिमालयन जाभा)मा, मध्यान्हतिर ।

पत्रकारसँग अनौपचारिक भेटघाट गरिरहेकी रहिछन्, फिल्म ‘कान्छी’को गीत रिलिज गर्ने मेसोमा ।

पत्रकारको घेराबाट बाहिरिएपछि पनि उनलाई व्यस्तताले छाडेन । बारम्बार फोनको घण्टी बज्यो । म्यासेज हेर्न भ्याइनन् । धेरैतिरको काम मिलाउँदा-मिलाउँदै उनलाई बस्ने फुर्सद थिएन । यस्तै व्यस्तताबीच उनी हामीसँग कुराकानी गर्न तयार भइन् । एकदमै सौहार्द्धपूर्ण रुपमा । भर्खर उठेजस्ता चंगा आँखा । विनयी भाव र मधुर मुस्कान ।

हामीले उनको दैनिकीबारे चासो राख्यौं । अब उनी स्थिर भइन् । र, आफ्नो यन्त्रिक दैनिकीबारे यसरी बताइन् ।

सुत्ने-उठ्ने तालिका

श्वेता उठ्दा बिहानको घाम कोठाभित्र छिरिसकेको हुन्छ । घडीका काँटा साढे ६ वा ७ बजेको रेखामा दौडिरहेका हुन्छन् । बिहान चाँडै उठ्ने बानी छैन । साँझ अबेर सुत्ने भएकाले पनि होला । राति ओछ्यानमा पस्ने बेला ११ बजिसकेको हुन्छ । धेरैजसो त १२ बजेतिर हो । दिनभरको कामको थकान हुन्छ । घर पुगेपछि सानोतिनो काम गर्दागर्दै समय गुज्रन्छ ।

प्रायः सुत्ने र उठ्ने तालिका एकै किसिमको छ । औसत सात घण्टा सुत्छिन् ।

ओछ्यान छाड्न उनलाईर् अलि समय लाग्छ । उठिसकेपछि भने बाथरुम जान्छिन् । फ्रेस नभएसम्म केही गर्न जाँगर चल्दैन । फ्रेस हुन्छिन् । पानी पिउँछिन् ।

हायातमा वर्कआउट

बिहानको कर्म सिध्याइसकेपछि श्वेता बौद्धतिर लाग्छिन् । हायात रिजेन्सीमा । त्यहाँ उनी जिममा समय बिताउँछन् । जिम श्वेताको नियमित दिनचर्याकै पाटो हो ।

जिममा एकाध घण्टा बित्छ । यसबीचमा उनले कार्डियो, स्ट्रेचिङ भ्याइसकेकी हुन्छिन् । ‘जिम गइएन भने के छुटाइयो भन्ने लागिरहन्छ,’ श्वेता भन्छिन्, ‘बानी नै परिसक्यो ।’

फिजिकल फिटनेसका लागि जिम धाउन थालेको धेरै भइसक्यो । दिनभरको कार्यव्यस्तताबीच उनले आफ्ना लागि खर्च गर्ने भनेकै यही समय हो । ‘आफ्नो शरीरको पनि माया गर्नुपर्‍यो नि होइन ?’ यसो भन्दै उनी पूर्ववत् शैलीमा मुस्कुराइन् ।

घरमा योग र ध्यानको अभ्यास पनि गर्ने गर्थिन्, अहिले छुटेको छ । डेढ/दुई महिना भयो, ‘कान्छी’ फिल्म निर्माणको धपेडीबीच योग गर्ने फुर्सद मिलेको छैन ।

गाडीमै ब्रेकफास्ट

वर्कआउटपछि त्यही प्रोटिन सेक लिने गरेकी छन् । त्यसो त, उनी बेलाबेलामा ड्राइ फ्रुट्स चपाइरहिन्छन् । फलफूल खाइरहेकी हुन्छिन् । गाडीमै यी सबैको व्यवस्था छ । गाडी ड्राइभ गरिरहेकै बेला पनि उनले केही न केही खाइरहेकी हुन्छिन् ।

‘थोरै-थोरै खानेकुरा खाइरहेकी हुन्छु,’ श्वेता भन्छिन्, ‘त्यही मेरो ब्रेकफास्ट हो ।’

गाँसमै मासु

वर्कआउटपछि उनी आफ्नो कार्यथलो पुगिसकेकी हुन्छिन् । उनको निम्ति त्यही खाना पाक्छ । खाना अक्सर दाल, भात, तरकारी, अचार नै हो । खानामा उनलाई मासु नभई हुन्न । खासगरी चिकेन ।

‘खसीको मासु मन पर्दैन,’ श्वेता भन्छिन्, ‘तर, चिकेनचाहीं हरेक छाकमा चाहिन्छ ।’

उनलाई मासुबिनाको खाना, खानाजस्तो लाग्दैन । उनी भरपेट खान्छिन् । स्लिम हुने चक्करमा खानामा कटौती गर्दिनन् । ‘म त मस्त खाइदिन्छु,’ श्वेता भन्छिन्, ‘हेर्नु न, त्यही भएर ज्यान घटेको छैन ।’

कहिलेकाहीं घरबाट पनि उनलाई खाना आइपुग्छ । मुड चलेमा आफैं घर पुग्छिन् । मध्यान्ह १ बजे खाना खाइसकेपछि एकै पटक राति हो, खाना खाने ।

साँझ ६ वा ७ बजेभित्र उनी घर पुगिसकेकी हुन्छिन् । त्यसबेला घरमा खाना पाकिसकेको हुन्छ । परिवारका सदस्य एकसाथ बसेर खाना खाँदा माहौल रमाइलो हुन्छ । ‘मेरो घरमा सबै रमाइला छन्,’ श्वेता भन्छिन्, ‘ख्यालठट्टा गरिरहने ।’ खासगरी, भाइ-बुहारी । उनीहरुलाई हाँसोठट्टा गरिरहनुपर्छ ।

श्वेता माछा-मासुसँगै सागपात पनि रुचाउँछिन् । सकेसम्म सन्तुलित खाना नै खाने गरेकी छन् । पेयमा भने उनलाई कफी नभई हुन्न । कफी लभर भएरै होला, राइजिङ मलमा आफ्नै कफी हाउस चलाएकी । त्यसो त, उनी दिनमा एक पटक गि्रन टी पिउँछिन् । दिनभरमा कम्तीमा दुई लिटर पानी पिउने गरेकी छन् ।

आफ्नो स्किनलाई कसरी मेन्टेन गर्नुहुन्छ भनी सोधिएको प्रश्नमा पनि उनले आफ्नो खानपान र सन्तुलित जीवनलाई जस दिइन् । साथै, नियमित व्यायाम, व्यस्त दैनिकीले यसमा सघाएको उनको विश्वास छ ।

भाँडावर्तन माझ्न जाँगर चल्छ

श्वेतालाई भान्साको काममा अल्छी लाग्दैन । फुर्सद भएमा उनी भान्सामा गएर खानेकुरा बनाउँछिन् । तर, उनको ढंग भने पुग्दैन । ‘घरि के पोखाउने, घरि के फुटाउने हुन्छ,’ श्वेता भन्छिन्, ‘त्यसैले मलाई भान्साको काम गर्न दिनुहुन्न ।’

भान्सामा काम नगरे पनि उनी त्यहाँ बसेर गफ गर्छिन् । त्यति नै घर परिवारका लागि काफी हुन्छ ।

श्वेताले पकाउने मीठो परिकार भनेको खसीको मासु हो । उनले पकाएको मासु अरुले स्वाद मानेर खान्छन् । भाँडावर्तन माझ्न पनि श्वेतालाई अल्छी लाग्दैन । राति घर पुग्न अबेर भयो भने आफूले खाएको जुठो उनैले माझ्नुपर्छ ।

घरमा उनलाई सबै कुरा चिटिक्क एवं सफाचट हुनुपर्छ, व्यवस्थित र मिलेको । एउटा सामान थोरै तलमाथि भयो भने पनि उनलाई तनाव हुन्छ रे । ‘एकदमै व्यवस्थित चाहिन्छ,’ श्वेता भन्छिन्, ‘जे जहाँ हुनुपर्ने, जसरी मिलाइएको हुनुपर्ने, त्यसरी नै राखिएको हुनुपर्छ ।’

 सेमी क्याजुअल पहिरन

श्वेता पहिरनमा उस्तो सौखिन होइनन् । आफूलाई फेसनेबल पनि मान्दिनन् । यद्यपि, कहाँ, कसरी, कस्तो पहिरन लगाउने भन्ने हेक्का छ । कार्यक्रमअनुसारको गेटअपमा पेश हुने गरेकी छन् । पहिरनलाई एकदमै जतनसाथ प्रयोग गर्छिन् । भन्छिन्, ‘लुगालाई हामीले माया गर्‍यौं भने त्यसले पनि इज्जत दिने हो ।’

उनीसँग वर्षौंअघिको लुगा पनि सुरक्षित हुन्छ । धेरै भएको लुगा बाँड्ने गरेकी छन् । बाँकी आफैं राख्छिन् ।

घरमा कपडाहरु सकेसम्म आफैं मिलाउँछिन् । काम गर्ने दिदी छिन्, उनले भने सबै कुरा व्यवस्थित गरिदिने श्वेता बताउँछिन् । ‘उहाँ घरकै परिवारजस्तो हुनुहुन्छ,’ श्वेता भन्छिन्, ‘मेरो लुगाफाटो सबै उहाँले मिलाइदिने हो ।’

अक्सर उनी कार्यलयमा खटिएकी हुन्छिन् । त्यस्तो बेला उनलाई सेमी क्याजुअल पहिरन ठीक लाग्छ । पूरै र्फमल पनि होइन, पूरै क्याजुअल पनि होइन । दुवैको फ्युजन ।

लुगा लगाउन भने उनलाई त्यस्तो समय लाग्दैन । ‘१० मिनटमै रेडी हुन्छु,’ श्वेता भन्छिन्, ‘धेरै अलमल हुँदैन ।’ नयाँ लुगा लगाइसकेपछि भने उनले घरका परिवारलाई सोध्छिन्, ‘कति सुहायो ?’

भाइ-बुहारीले उनको पहिरनमा टीका-टिप्पणी गरिरहेका हुन्छन् । सुझाव पनि दिइरहेकै हुन्छन् । उनीहरुकै सुझावलाई शिरोधार्य गर्छिन् ।

सपिङमा अल्छी

अक्सर उनका साथीहरु किनमेलमा रमाउँछन् । महिलाहरुको साझा प्रवृत्ति पनि हो यो । धेरैजसो सपिङमा हुरुक्कै हुन्छन् । अपवाद हुन्, श्वेता । उनलाई पसल चहार्दै किनमेल गर्नु झण्झट लाग्छ । ‘साथीहरु यो पसल, त्यो पसल भन्दै हिँड्छन्,’ श्वेता भन्छिन्, ‘मलाईचाहीं त्यसमा जाँगर चल्दैन ।’

मन परेको सामग्री उठाइहाल्ने बानी छ । चाहे त्यो सामान्य पसलको होस् वा ब्रान्डेड ।

कपडा किनमेल गर्न उनी दरबारमार्गको पसलमा पुग्छिन् । कहिले बाटोमा हिँडदा हिँड्दै कुनै लुगाले ध्यान खिच्न सक्छ । उनी तुरुन्तै खरिद गर्छिन् ।

रेडिमेड लुगाबाहेक उनी बुटिक पनि प्रयोग गर्छिन् । केही डिजाइनरले उनका लागि लुगा तयार गरिदिन्छन् ।

कान्छीको कुरा

निजी कुराहरु खोतलिरहँदा उनलाई मोबाइलमा आउने रिङटोनले लखेटिरह्यो । बेलाबेला उनले फोन उठाउँदै कामको मेलोमेसो मिलाइरहिन् । कसलाई के अह्राउनुपर्ने, कसलाई के खटाउनुपर्ने । अनेकतिरको झमेलाबीच उनी फिल्मको प्रमोसन गर्न पनि भ्याइरहेकी थिइन् ।

‘कान्छी’ फिल्म बनाएदेखि उनको धपेडी थप बढेको रहेछ । माघमा सार्वजनिक हुने फिल्मको प्रमोसनदेखि ट्रेलर रिलिजसम्मको काम थाती नै छ । अघिल्लो फिल्म ‘कोहिनूर’को सफलतासँगै उनले ‘कान्छी’ बनाउने निर्णय गरेकी थिइन् । अहिले त्यसको लगभग सबै काम सकिएको छ । मनोरञ्जनात्मक फिल्मले सबै वर्गका दर्शकलाई आकषिर्त गर्नेमा उनी ढुक्क देखिइन् ।

कुराकानीकै क्रममा उनको फोन आयो । उनी केही अत्तालिइन् । हतास भइन् । ‘अस्पताल जानुपर्ने भयो,’ उनले हतारमा भनिन्, ‘श्रीदाइकी ठूलो ममी सिकिस्त हुनुभएछ ।’

एकातिर फिल्म प्रोडक्सनको काम, अर्कोतिर निर्माणको । चौतर्फी कामसँगै उनलाई पारिवारिक जिम्मेवारीले पनि पछ्याउँछ । घर, परिवार, आफन्त, इष्टमित्र सबैतिर उनले भ्याउनु परेको छ ।

‘अस्पताल जान्छु है’ हतारमै उनी बाहिरिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment