+
+
Shares

रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !

पटक-पटकको सूचना अटेर गर्दै ठूला करदाता

सुवास भट्ट सुवास भट्ट
२०७४ पुष २५ गते १०:२६

२५ पुस, काठमाडौं । राज्यले उठाउनुपर्ने कर बक्यौता ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्रिय ढुकुटी रित्तिँदै गएकामा चिन्ता व्यक्त भइरहँदा उक्त परिमाणको कर बक्यौता देखिएको हो ।

ठूला करदाता कार्यालयका अनुसार ठूला र्फमबाट उठ्नुपर्ने आयकरको बक्यौता ७८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशूल्कको यस्तो बक्यौता ९४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो गत मंसिरसम्मको आँकडा हो ।

बक्यौता बढेपछि कर तिर्न कार्यालयले पटक-पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । तर, अधिकांश र्फमले अटेर गर्दै आएका छन् ।

कार्यालयले गत कात्तिक अन्तिम साता एक र पुसमा दुई पटक सूचना जारी गरिसकेको छ । गत कात्तिकमा कर नतिर्ने २७, पुसमा एक पटक १६ र अर्कोपटक एनसेललाई कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

तीनै पटक बक्यौता दाखिला गर्न १५ दिने म्याद दिइएको थियो । तर, अधिकांश करदाताले अझै पनि बुझाएका छैनन् ।

आन्तरिक राजश्व विभागमातहतको उक्त कार्यालयअन्तर्गत् १२ सय ३४ ठूला करदाता छन् । कार्यालयले वस्तुको हकमा ४० करोड र सेवाको हकमा २५ करोड रुपैयाँमाथिको कर असुल गर्छ ।

बक्यौता उठ्न बाँकी रहेका र्फमको सूचीमा रहेका करदातामध्ये केही राजश्व न्यायाधीकरण र केही सर्वोच्च अदालतमा पुगेका छन् । राजश्व कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेमा प्रशासकीय पुनरावलोकन, राजश्व न्यायाधीकरण र सर्वोच्च अदालतमा करदाता जान पाउने कानूनी व्यवस्था छ ।

सम्बन्धित निकायबाट समयमा न्याय निरुपण नहुँदा पनि बक्यौता उठाउन नसकिएको कार्यालयको भनाइ छ । करिब पाँच सय करदाता न्यायिक मामिलामा अल्झेका छन् ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ (संशोधनसहित)मा तोकिएको अवधिभित्र कर रकम दाखिला नगरिए करदाताको सम्पत्तिमाथिको दाबी, त्यसको लिलाम, बिक्री तथा नेपालबाहिर लैजान रोक लगाइने, भुक्तानी लिने र खाता रोक्का गरी बक्यौता असुल्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?