+
+
Shares

भूकम्प पीडितका दुःख- शीत र तुसारोमा भिजेर रात कट्छ

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ पुष २५ गते १२:०८

२५ पुस, काभ्रे । अत्यधिक चिसोका कारण काभ्रेका भूकम्पपीडितहरुको बिचल्ली भएको छ । पीडितहरुले शीत र तुसारोमा भिज्दै चिसो रात काट्नुपरेको गुनासो गरेका छन् ।

मन्डन देउपुर नयाँगाउँकी धनमाया तामाङले मंसिरदेखि चिसोकै कारण रातभर निन्द्रा नपरेको दुखेसो पोखिन् । उनले भनिन्, ‘रातभरि निन्द्रा पर्दैन, म कहिले आगो तापेर अगेनामा बस्छु, कहिले नातिनातिना निदाए की छैनन् भनेर हेर्न जान्छु ।’

पाँचखालका इन्द्रबहादुर दनुवारको पीडा पनि उस्तै छ । जस्ताको टहराबाट चुहिने शीतका कारण रातभर आगो बालेर जाग्राम बस्ने गरेको उनी बताउँछन् । ‘निद्रा नपर्दा रातभर आगो बालेर बस्नुको विकल्प भएन,’ उनले भने, ‘यो जाडो कटाउनै मुस्किल छ ।’

बनेपा कार्की गाउँकी लक्ष्मीकुमारी कार्कीले भनिन्, ‘विहान उठ्दा सबै जिउ शीतले भिजेको हुन्छ । विदा मनाउन आएको चार वर्षको नातीले सुत्ने बेला आमा यहाँ कसरी पानी पर्‍यो भनेर सोध्छ, भक्कानो छुटेर आउँछ, बरु मर्न पाए हुन्थ्यो ।’

०७२ सालको गोर्खा भूकम्पबाट बास गुमाएका सबै भूकम्प पीडितहरुले अझैसम्म पनि भरपर्दो ओत पाएका छैनन् । २ वर्ष ८ महिना बितिसक्दा पनि धेरैजसो भूकम्प पीडितहरु अझै पनि जस्ताकै टहरोमा बस्न बाध्य छन् । वर्षे झरी, टन्टलापुर घाम र पुस-माघको जाडो पनि जस्ताको जिर्ण टहरोमा बिताउन बाध्य भएका कारण अनेकखालका स्वास्थ्य समस्या देखिने गरेको छ । जस्ताको टहराबाट तपतप आउने शीतका थोपाले चिसो हुँदा ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या भएको बनेपा-६ की हिरा थापामगरले बताइन् ।

भूकम्पले बस्ने बास नै गुमाएकाहरुको पीडा जब जाडो मौसम सुरु हुन्छ, तब झन् थेगिनसक्नु हुन्छ । जाडो मौसममा वृद्धा, वृद्ध, सुत्केरी, बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन् ।

१२ वैशाख ०७२ को विनासकारी भूकम्पका कारण बस्ने बास नै गुमाएकाहरुले राजनीतिक खिचातानी र सरकारको लापरवाहीका कारण आफूहरुको बिजोग भएको गुनासो गर्दछन् । पनौती नगरपालिका ९ का हरिबहादुर खत्रीले भने, ‘हाम्रो संवेदनामा नराम्रोसँग खेलिएको छ । ठूला मान्छेहरुका दुई-चार भोट र नोटका स्वार्थले गर्दा आजसम्म पनि हामीले सरकारी अनुदान पाउन सकेका छैनौं ।’

बनेपा-६ का रामकुमार कार्कीको आक्रोश पनि त्यसै छ । उनी भन्छन्, ‘हाम्रा यी भत्केका घरमा धेरै राजनीति भैरहेको छ, डलर झरिरहेको होला, हामीलाई चाहिँ तुसारो र शीतमा भिज्दै बस्नुपरेको छ ।

काभ्रे जिल्लामा लाभग्राही संख्या ७२ हजार ४ सय १७ मध्ये ६५ हजार २ परिवारले अनुदान सम्झौता गरी पहिलो किस्ता अन्तर्गतको ५० हजार रुपैयाँ लिएका छन् । ११ हजार ५० परिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् ।

कतिपय भूकम्प पीडितको नाम नै पीडितको सूचीमा परेको छैन । सरकारी तथा गैरसरकारी निकायको अनुदानबाट जिल्लाभर २१ सय ३१ परिवारले आवास निर्माण गरिसकेका आवास पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन इकाइका प्रमुख लोकनाथ रेग्मीले बताए । उनले भने, ‘भूकम्पपछि पुनरनिर्माण जताजता अलमलिएको भएपनि पछिल्लो ६ महिनामा पुनरर्निर्माणको गति धेरै नै अगाडि बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?