Comments Add Comment

सेतो धातुको कालो कारोबारः नेपालको चाँदी भारततिर तस्करी

आयात दोब्बर बढ्यो, खपत पुरानै दरमा


२६ पुस, काठमाडौं । नेपालमा चाँदी आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षका चार महिनामा गत वर्षको तुलनामा करिब शतप्रतिशतको बढोत्तरी पाइएको छ ।

नेपालबाट चाँदीको तस्करी मौलाइरहेको आशंकालाई यसबाट बल मिल्ने सुनचाँदी व्यवसायीहरु नै बताउँछन् । नेेपालमा औसतमा चाँदीको बजार २५ प्रतिशत मात्रै बढ्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । मौसमी हिसाबबाट पनि त्यसभन्दा बढी खपत नहुने उनको भनाइ छ ।

यो सिजनमा सुनको आयात पनि २५ प्रतिशतले बढेको छ, जसलाई व्यवसायी स्वाभाविक र प्राकृतिक मान्छन् ।

तर, चाँदीको आयात शतप्रतिशत बढ्नुले आशंका जन्माएको व्यवसायीको भनाइ छ । ‘चाँदीको खपत औसत २५ प्रतिशतले बढ्छ, जुन स्वाभाविक हुन्छ । आयात पनि त्यही दरमा बढ्नुपर्ने हो,’ शाक्य भन्छन्, ‘खपत अस्वाभाविक रुपमा बढेको छैन, आयात मात्र बढेको छ । यस्तो अवस्थाले तस्करी बढेको बलियो आधार दिन्छ ।’

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म चार अर्ब ५७ करोड रुपैयाँको चाँदी आयात भएको छ । गत वर्ष यही अवधिमा दुई अर्ब २९ करोडबराबरको चाँदी भित्रिएको थियो ।

यस वर्षको आयात गत वर्षको तुलनामा ९९ दशमलव तीन प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा चाँदी आयात २३ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

दुई वर्षयता चाँदीको अन्तर्राष्ट्रिय मूल्यमा ठूलो उतारचढाव आएको छैन । यही अवस्थामा पैठारी दोब्बर बढ्नुले शंकाको सुविधा दिएको व्यवसायीहरुको दाबी छ ।

धमाधम पक्राउ पर्दै

यस वर्ष चाँदी तस्करीका क्रममा पक्राउ र बरामदका केही घटना भएका छन् । ती घटनाले शतप्रतिशत बढेको आयात कता खपत भइरहेको छ भन्ने पुष्टी गर्छन् ।

गत असोज अन्तिम साता जनकपुरबाट खरिद गरी भारततिर लैजाँदै गरेको १५ किलो चाँदीसहित भारत विहारको सिर्सियाका मुकेशकुमार महतो पक्राउ परे । भारतीय नम्बर प्लेटको गाडीबाट १० लाख रुपैयाँबराबरको उक्त चाँदी महोत्तरी प्रहरीले बरामद गरेको थियो ।

गत कात्तिकमा महोत्तरीको बर्दिवासबाट नौ किलो चार सय ग्राम चाँदी बरामद भएको थियो । त्यसलाई भारततर्फ पुर्‍याउने तयारीमा रहेका कैलालीको टीकापुर-१ का विश्राज तिवारी र कालिकोट तिलकनगर-९ का लक्ष्मी कोइराला स्थानीय होटेल शिशमहलबाट पक्राउ परेका थिए ।

 भारतीय मुद्राको साटो चाँदीमा भुक्तानी गर्ने चलन व्यापक, भारततर्फ तस्करीमा संलग्नहरु पनि समातिँदै

यस्तै, गत जेठमा मोरङ प्रहरीको भारत कटाउन लागिएको ४० किलो चाँदीसहित एक दम्पत्तीलाई विराटनगरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विराटनगर-१३ शान्तिचोकका ३८ वषर्ीय सञ्जय अग्रवाल र उनकी पत्नी सीमा थिए ।

तस्करीका घटनामा पनि भारतीय नम्बरप्लेटकै गाडीको प्रयोग भएको पाइएको छ । यसले पनि भारततर्फ हुने चाँदीको तस्करीलाई पुष्टी गर्ने प्रहरीको भनाइ छ ।

ट्रान्जिट नेपाल

नेपालमा दुबई, हङकङ र चीनबाट चाँदी आयात हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने चाँदी अहिले अनौपचारिक तवरमा भारततर्फ तस्करी हुने गरेको छ ।

भारतमा नोटबन्दीपछि नेपालमा भारतीय मुद्राको अभाव छ । भारतीय बजारबाट भन्सार नतिरी सामान तस्करी गर्नेहरुले भुक्तानीको माध्यम चाँदीलाई बनाइरहेका छन् । सोही कारण नेपाल राष्ट्र बैंकले दुई वर्षअघि केही समयका लागि बैंकमार्फत् हुने चाँदी आयात रोकेको थियो ।

पछि प्रतिव्यापारी दैनिक एक किलो मात्रै चाँदी बिक्री गर्ने सीमा राखेर खुला गरियो । बैंकबाट हुने कारोबारलाई नियमन गरिए पनि व्यापारीले आयात गर्ने चाँदी कहाँ र कसरी खपत हुन्छ भन्ने नियामक निकायलाई जानकारी छैन ।

अहिले ठूलो परिमाणमा ‘प्राइवेट पार्टी’मार्फत् चाँदी आयात भइरहेको छ । त्यसमध्ये आधाभन्दा बढी हिस्सा भारतमै पैसाको साटो भुक्तानी भइरहेको दाबी व्यापारीहरुको छ ।

चाँदीमा सरकारले सुनमा जस्तो दैनिक कोटा तोकेको छैन । चाँदी आयातमा सीमा नराखिएपछि औपचारिक बजारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् आयात गर्दै कालोबजारमा पुर्‍याउने क्रम बढेको छ ।

यसबाट राष्ट्रिय अर्थतन्त्रलाई पनि असन्तुलनमा धकेल्न भूमिका निर्वाह गरेको जानकारहरुको भनाइ छ ।

चाँदीको खपत औसत २५ प्रतिशतले बढ्छ, जुन स्वाभाविक हुन्छ । तर, खपत नभई आयात मात्र अस्वाभाविक बढेको छ र त्यसले तस्करी बढेको बलियो आधार दिन्छ

औपचारिक च्यानलबाट डलर भुक्तानी गरेर भित्र्याएको चाँदी भारतबाट नेपालतर्फ हुने तस्करीमा प्रयोग हुनु चिन्ताको विषय भएको एक भन्सार अधिकारी बताउँछन् ।

उनका अनुसार चाँदीलाई नै तस्करीका लागि भारुको साटो प्रयोग गरिँदा त्यसले औपचारिक अर्थतन्त्रलाई अनौपचारिकमा रुपान्तरण गरिरहेको छ । त्यसको नकारात्मक असर विदेशी मुद्रा सञ्चितिमा परिरहेको छ । डलरको भुक्तानी बढ्दै जाँदा राष्ट्रिय अर्थतन्त्रलाई पनि नकारात्मक असर पारिरहेको छ ।

निकम्मा नियामक निकाय

आवश्यकताभन्दा बढी माग बजारमा रहेको देखिँदा देखिँदै नियामक निकायहरु मौन देखिन्छन् । व्यवसायी आफैंले आयातमा अस्वाभाविक वृद्धि भएको बताइरहँदा सरकारी निकायले त्यसको अन्तर्यमा पुग्ने गरी कुनै विश्लेषण गर्न आवश्यक ठानेका छैनन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना चाँदी ‘स्टि्रक्टेड कमोडिटी’ नभएको बताउँछन् । यसको आयातमा कडाइ नहुने भएकाले अघिल्ला वर्षहरुमा पैठारीको अवस्था विश्लेषण नगरी तस्करी भएको निश्कर्ष निकाल्न नहुने उनको भनाइ छ ।

‘कुनै अवस्थामा गत वर्ष आयात प्रभावित भएको थियो कि ? वा सिजनल रुपमा मात्रै बढ्यो कि ? त्यो नहेरी निष्कर्षमा पुग्न सकिँदैन,’ ढुंगाना भन्छन्, ‘तर, ठूलो दरमा वृद्धि भएको भए कतै भुक्तानीमा त्यसको प्रयोग गरियो कि भनेर सचेत हुनुपर्छ ।’

नेपाल र भारतमा चाँदीको मूल्यमा खासै अन्तर छैन । नेपालमा प्रतिकिलो करिब ६२ हजार रुपैयाँ छ भने भारतमा ६४ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

अर्थतन्त्रमा प्रभाव

भुक्तानी माध्यमका रुपमा चाँदीको प्रयोग भारतीय नाकाबन्दीपछि बढेर गएको हो । भारतमा नोटबन्दी भएपछि चाँदीमै भुक्तानी दिने चलनले अझ व्यापकता पायो ।

नेपालमा भारु पाउन मुस्किल हुन थालेपछि भारतबाट भन्सार नतिरी सामान ल्याउने गिरोहले चाँदीलाई नै भुक्तानीको माध्यम बनाएका छन् । संगठित रुपमै चाँदीलाई पैसाका रुपमा प्रयोगमा ल्याउँदा सरकार भने बेखबरजस्तो बनेको छ ।

अनुत्पादक मानिने सुनचाँदीमाथि भएको डलर लगानीलाई यसले अनौपचारिक अर्थतन्त्रमा धकेलिदिएको छ । र, एकै व्यक्ति वा समूहले अर्बौं रुपैयाँको चाँदीको ‘होल्ड’ गर्ने गर्दा मुद्राको प्रवाहमा दबाब परिरहेको छ ।

अर्थ-राजनीति विश्लेषक अच्युत वाग्ले चाँदीभन्दा बढी सुन नै भुक्तानीका लागि सजिलो माध्यमका रुपमा विकास भएको बताउँछन् ।

‘एक लाख रुपैयाँको चाँदी एक झोलै हुन्छ । त्यसैले तस्करी गरेर त्यसलाई पेमेन्टमा प्रयोग गर्न सजिलो छैन,’ वाग्ले भन्छन्, ‘चाँदीको आयात बढ्नुले तस्करी नै भयो भन्न सकिँदैन । जीवनस्तरमा परिवर्तन हुँदा चाँदीका भाँडाकुँडा नै बनाएर घरमा राख्ने क्रम पनि बढेको छ । हस्तकलाकै सामग्रीमा पनि यसको प्रयोग बढेको छ ।’

चाँदीभन्दा सुन नै भुक्तानीका लागि प्रयोग गर्ने ‘ट्रेन्ड’ बढेको उनको तर्क छ ।

पछिल्लो समयमा लगानीको माध्यमका रुपमा चाँदीलाई राख्ने क्रम बढेकाले पनि आयात वृद्धि भएको हिमालय क्लियरिङ कर्पोरेसनका सञ्चालक निरव पुडासैनी बताउँछन् ।

तर, तराईमा भुक्तानीको माध्यमका रुपमा चाँदीको प्रयोगले व्यापकता पाएको लगानीकर्ता र अर्थ विज्ञहरु नकार्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment