Comments Add Comment

प्रचण्ड बालकोटमा, दुई नेताले कार्यदललाई निर्देशन दिने

बैठक सकाएर ओली १२ बजे थाइल्यान्ड जाने

२६ पुस, काठमाडौं । उपचारका लागि बुधबार थाइल्यान्ड जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । पार्टी एकता संयोजन समितिको बैठक बसेको भोलिपल्टै दुई पार्टीका अध्यक्षबीच छलफल भएकाे हाे ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई पार्टीका अध्यक्षबीच बिहान ९ बजे भेटवार्ता हुने र त्यसपछि कार्यदल सदस्यलाई निर्देशन दिने कार्यक्रम रहेकाे जानकारी दिए ।

एमाले–माओवादी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सम्मिलित कार्यदल गठन गरेको थियो ।

यही कार्यदललाई  ओली र प्रचण्डले बुधबार निर्देशन दिन लागेका हुन् ।

१२ बजे ओली थाइल्यान्ड प्रस्थान गर्ने

यसैबीच, एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्ड जाने भएका छन् ।

बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेको जानकारी उनको सचिवालयले दिएको छ ।

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment