Comments Add Comment

कतारमा विदेशी लगानीकर्ताले सतप्रतिशत स्वामित्वमा कम्पनी खोल्न सक्ने

दोहा । कतारले अर्थतन्त्रका अधिकांश क्षेत्रमा विदेशी लगानीकर्ताहरुलाई सतप्रतिशत स्वामित्वको अनुमति दिने गरी विधेयक पारित गरेको छ । उर्जा बाहेकको आयमा बढोत्तरी गर्ने उद्देश्यले यो कदम चालिएको सरकारी अधिकारीले बताएका छन् ।

सात महिनादेखि कतार छिमेकी राष्ट्रहरुको आर्थिक तथा कुटनीतिक बहिष्कारमा परेसँगै खाडीमा राजनीतिक संकट चुलिएकोे समयमा यस्तो समाचार आएको हो । यसलाई खाडीको तेस्रो ठूलो अर्थतन्त्र कतारले सन् २०१४ को मध्येदेखि तेलको मूल्यमा आएको गिरावटका कारण उत्पन्न भएको बजेट घाटालाई पूर्ति गर्न नयाँ आम्दानी सिर्जना गर्न गरेको प्रयासका रुपमा पनि हेरिएको छ ।

विदेशी लगानीकर्ताहरु अब लगभग सबै आर्थिक क्षेत्रहरुमा आफ्नो पूर्ण स्वामित्वको व्यवसाय सञ्चालन गर्न सक्नेछन् तर उनीहरुलाई रियलस्टेट खरिद गर्न वा फ्रेन्चाइजीहरुको स्वामित्व लिन अनुमति नहुने अर्थ तथा व्यापार मन्त्रालयले जनाएको छ ।

बैंकिङ र इन्स्योरेन्स क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरुले सरकारबाट विशेष अनुमति प्राप्त गर्नुपर्ने विधेयकमा उल्लेख छ । हाल सन् २०१४ मा पारित भएको कानूनअनुसार कतारको स्टक एक्सचेन्जमा दर्ता भएका कम्पनीहरुको ४९ प्रतिशतसम्म स्वामित्व विदेशी लगानीकर्ताहरुले पाउन सक्ने व्यवस्था छ ।

नयाँ कानूनलाई बुधबार मन्त्रिपरिषद्को साप्ताहिक वैठकले पारित गरेको थियो ।

‘कानूनको मस्यौदाले राजश्व आम्दानी बढाउने, विदेशी र स्थानीय लगानीकर्ताको संरक्षण गर्ने तथा विश्वव्यापी आर्थिक सूचकहरुमा कतारको हैसियत प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो कानून कहिलेबाट कार्यान्वयनमा आउँछ भन्ने चाहिँ प्रष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment