Comments Add Comment

मनै लोभ्याउने जोरपोखरीको प्राकृतिक सौन्दर्य (फोटो फिचर)

२६ पुस, ताप्लेजुङ । मेची राजमार्गको छेवैमा अवस्थित पाँचथरको जोर पोखरीमा त्यहाँ पुग्ने हरेकको मन लोभ्याउँछ ।

आफ्नो सवारीसाधन लिएर मेचीका जिल्ला दौडनेहरु केही समय यो स्थानमा विताएर नै गन्तव्य प्रस्थान गर्छन् । पछिल्लो समय जेरपोखरी क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय क्षेत्रको रुपमा पनि क्रमशः विकास हुँदै गएको छ ।

पाँचथर सदरमुकाम फिदिमबाट करि २७ किलोमिटरको दूरीमा रहेको जोरपोखरी मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकको छेवैमा पर्दछ । ‘भाले’ र ‘पोथी’ पोखरीको नामले परिचित यी पोखरीहरुमा ढकमक्क कमल फूल्दा अति नै सुन्दर देखिन्छ ।

वरिपरी डाँडा, पात्लेको जङ्गल, ऐसेलु, काफलका बोट, विविध जडिबुटीको सुगन्ध, चिसो मौसम र चराचुरुङ्गीको आवाजले यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउँछ ।

सडक यातायातको माध्यमबाट ताप्लेजुङको पाथिभरा, कञ्चनजङ्घा, कुम्भकर्ण जाने धर्मावलम्बी तथा पर्यटकहरु पनि यस क्षेत्रमा केही समय रोकिएर जोरपोखरीको दृश्यावलोकन गरेर मात्रै अगाडि बढ्छन् ।

प्राचीन कालदेखि नै जोरपोखरीको धार्मिक महत्व रहेको स्थानीय बताउँछन् । यहाँ स्थापित शिवालय मन्दिर र धेरै पहिलेदेखि चल्दै आएको गुरुकूल शिक्षा यहाँको धार्मिक विषेशता हो । पाँचथरको साविक सुभाङ, पञ्चमी, भारपा र एकतीन गाविसको संगम स्थलमा रहेको यो पवित्र क्षेत्रमा विभिन्न समयमा धार्मिक अनुष्ठानहरु पनि हुने गर्दछन् ।

हरेक वर्षको श्रावण १ गते लगभग २ घण्टाको दूरीमा रहेको तमोर नदीबाट जल ल्याई शिवजीलाई चढाउने प्रचलन छ । त्यसको लागि सबै गाविसका इच्छुक व्यक्तिहरुलाई समावेश गर्नेगरी तालिका बनाई पानी ल्याउने र शिवलिङ्गमा चढाउने गरिन्छ ।

यहाँका स्थानीयहरु आफूले तमोरबाट पानी ल्याई उक्त शिवालय मन्दिरमा चढाउन पाउँदा पुन्य प्राप्ति गरेको महशुस गर्छन् । यो क्रम साउन महिनाभर चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment