बिहीबार, ३ साउन, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

५१ वर्षमै मृत्युवरण गरेका पृथ्वीनारायणका भित्री कुरा

'खान, खस, बाहुन, मगर, गुरुङ र ठकुरी बलिया सिपाही'

Suzuki
डा. रमेश ढुंगेल


पृथ्वीनारायण शाहले पूर्वको टिष्टासम्म आधुनिक नेपालको साँध तयार पारिसकेका थिए । पश्चिममा बाँकी थियो । बाइसे, चौबीसे राज्यहरु भित्र पनि सामन्त, दान र बकस दिएका राज्यहरु थिए । आधुनिक नेपालको सरहद बाहिर ठूला साम्राज्यहरुबीच प्रतिस्पर्धा चलिरहेको थियो । डचहरु आइरहेका थिए । र स्पेनिस, डच र फ्रेन्चहरुबीच लडाईं चलिरहेको थियो ।

यस क्षेत्रमा सबैभन्दा शक्तिशाली मुगलहरु थिए, त्यसबेला । उनीहरुलाई परास्त गर्दै नाविक शक्तिले जित्दै थियो । नाविक शक्ति भनेको युरोपली मुलुक थिए ।

नेपालमा मुगल अथवा टर्किसहरुले गर्ने जस्तो शक्तिको अभ्यास खसहरुले थालेका थिए । तिनै खसहरुका उत्तराधिकारीका रुपमा पृथ्वीनारायण शाह उदाए । त्यतिबेला अहिलेको भारतमा ६ सयभन्दा बढी ‘पि्रन्स्ली स्टेट’हरु थिए । कुनै कसैको मातहतमा थिए, कुनै स्वतन्त्र ।

नाविक शक्तिले तिनीहरुलाई आपसमा जुधायो र कब्जामा लियो । र, शक्ति केन्दि्रकृत गर्‍यो ।

त्यस्तो अवस्थामा यहाँका मान्छेको विचार जित्नु थियो, पृथ्वीनारायण शाहलाई । र, त्यो लडाइँबाट मात्र सम्भव थिएन । लडाईंको पनि सामरिक व्यवस्थापन र मानिसको मनोविज्ञान जित्नु थियो । मानिसको मनोविज्ञान जित्नमा पृथ्वीनारायण शाहको मुख्य योगदान रह्यो ।

त्यसलाई अहिले अपव्याख्या गरिएको छ । र, विदेशी लेखकहरुले बढी अपव्याख्या गरेका छन् । हाम्रो आन्तरिक अपव्याख्याको त खेती नै छन् ।

खासगरी, पहाडी क्षेत्रमा बढी असुरक्षा थियो, त्यतिबेला । आन्तरिक शक्ति केन्दि्रकृत नहुँदाको असुरक्षा पहिलो थियो । बलियो अस्तित्व निर्माण नहुँदाको अर्को असुरक्षा थियो । र, त्यसैमा खेलेर बाह्य आक्रमणको सम्भावना थियो ।

भक्तपुरले कान्तिपुरलाई कतिबेला आक्रमण गर्ने हो, पाटनले कोसँग मिलेर कसलाई खत्तम पार्ने हो भन्ने त्रासको भावना थियो । चौदण्डी, विजयपुर, तनहुँ, लमजुङ, गोरखा, पर्वत, जुम्लालगायत सबै राज्यबीच हानाहानको अवस्था थियो ।

मध्य बर्खामा खेती लगाइरहेका बेला कुनै राज्यले आक्रमण गरेर सखाप बनाइदिन्छ । कहिले बाली उठाउने बेलामा डढेलो लगाएर खत्तम पारिदिने ।

त्यही भएर शक्ति केन्दि्रकृत हुनु आवश्यक देखे, पृथ्वीनारायण शाहले । भारतका सबै राज्यहरु अंग्रेजले धमाधम निल्दै गरेको अवस्थामा उनी उदाएका थिए ।

पृथ्वीनारायण शाहको नीति नै थियो, स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने । त्यसका लागि जोगीहरुको मण्डलीलाई आफ्नो हातमा लिए । अनि, गोरखाली राजाले चलाएको अभियानका रुपमा गाउँ-गाउँमा प्रचार गराए ।

गन्धर्वहरुलाई पनि प्रयोग गरे, त्यसक्रममा । जोगी र गन्धर्वले गाउँ-गाउँ पुगेर गोरखाको गीत गाए । अब गोरखा जागेको छ, राजाको शक्ति जागेको छ, गोरखनाथले आशिर्वाद दिनु भएको छ इत्यादि ।

र, धर्म र सामरिक रक्षाको युग आउँदै गरेको आभाष दिलाए, जन-जनमा । भुरेभारे राज्यहरु नटिक्ने सन्देश दिए । र, एउटै गोरखा राज्य निर्माण हुने विश्वास दिलाए ।

त्यतिबेलाका सञ्चारमाध्यम बने, जोगी र गन्धर्वहरु । र, धर्म, संस्कृति, आदर्श र पारस्परिक सुरक्षाको मनोबल खडा गरे ।

‘जाई कटक नगर्नु, झिकी कटक गर्नु’ यसो भनेर कूटनीतिक चातुर्यको माध्यमबाट सकेसम्म राज्यहरुलाई आफूमा गाभ्ने र नगाभिने या आक्रमण गर्न तम्सिनेलाई सैन्य प्रयोगद्वारा आफूमा मिलाउने नीति लिए ।

जब अरुण पारि तर्नुपर्‍याे, पृथ्वीनारायणले त्यतिबेलाका १० हाङहरुलाई पत्र लेखे । र, उनीहरुलाई ‘तुतुतुम्यााङ याङ्थुहाङका बडा सन्तान’ बताउँदै मुक्तकण्ठले प्रशंसा गरे

उनले भनेका छन्, ‘मैले जयप्रकाशको स्थिति सुधार हेरेँ । राम शाह, महेन्द्र मल्लको हेरे, पढेँ । म पनि केही गरी जाँला भन्ने थियो । तर, मलाई रोग लाग्यो ।’

५१ वर्षको उमेरमा लडाईं लड्दा लड्दै उनको निधन भयो ।

राज्यहरु माथि विजय पाउन दुईथरि नीति अपनाए । एउटा, पहिले आह्वान गर्ने र नमानेमा आक्रमण गर्ने ।

युद्धका क्रममा भोगेका अनुभवहरु जोड्दै निर्देशिका बनाउन थाले । दिव्योपदेश त्यस्तै दस्तावेज हो । ‘सबैलाई चेतना भया’ वाक्यांशको उल्टो अर्थ लगाइयो अहिले । सबैले यो कुरा बुझेदेखि राज्य बलियो हुने उनको आशय थियो । ‘भया’ अर्थ भएदेखि हो, आदेशात्मक शब्द होइन ।

उनले नेपाललाई चार वर्ण, ३६ जातको फूलबारी भनेका छन् । अर्थात्, सबै जातजाति र वर्णको साझा हो भनेका छन् । साझा संस्कृतिमा जोड दिएका छन् । सबैलाई चेतना भएदेखि सबैको फूलबारी हो भनेका छन् ।

उनले आ-आफ्नो कुलधर्म नछाड्नु भनेका छन् । विगतदेखि जसले जस्तो परम्परा मान्दै आएको छ, त्यसलाई निरन्तरता दिनु भनेको हो त्यो । र, अंग्रेजलाई पस्न नदिनु भनेका छन् । विदेशी साहु, महाजन पसे भने देशलाई कंगाल पार्ने बताएका छन् ।

एकीकरणपछि पनि आफू मुल राजा हुने र अरु राज्यको अस्तित्व स्वीकार्ने बताएका छन् । र, अधिनमा आएका राज्यहरुको जस्ताको तस्तै रक्षा हुने बताएका छन् । उनीहरुका थिति स्वीकारेका छन् ।

जब मगरात क्षेत्रमा शक्ति केन्दि्रत गर्न थाले, मगरहरुको राजा आफू नै भएको बताए । नेपाललाई असली हिन्दुस्थान र प्रकृतिले बनाएको किल्लाका रुपमा व्याख्या गरे ।

१९ वटा ठूला युद्धपछि उपत्यकामा विजय गरे । तर, कान्तिपुरलाई कब्जामा लिँदै गर्दा कुमारीको हातबाट तिलक नलगाएसम्म राजाज्ञा जारी गरेनन् ।

त्यसैले पृथ्वीनारायणले राजनीतिक र सामरिक जित गरे । तर, सांस्कृतिक रुपमा आत्मसमर्पण गरे ।

बृद्ध धर्मावलम्बी वाणाकी छोरी कुमारीको गोडामा ढोगेर अब आफूलाई नै जयप्रकास मल्लको रुपमा देख्दै रक्षा गरिदिन आशिर्वाद मागे ।

र, उपत्यकाको लोक संस्कृति ग्रहण गर्न सबैलाई अह्राए । हालको भारतमा प्रचलनमा रहेको मुजुरा नाचको साटो नेवारी झाँकीहरुमा रमाउन भावी शासकहरुलाई सचेत गराए ।

भुटानबाट लामा झिकाएर राजगुरुको दर्जा दिए । र, २० वटा गुम्बालाई राजकीय गुम्बा बनाए । लामाहरुलाई लालमोहर दिएर बुद्ध धर्मलाई सन्तान, दरसन्तानसम्म चलाउन आग्रह गरे । त्यो उनको सबैलाई संरक्षण गर्ने नीति थियो ।

कहीं कतै झैझगडा भए पुरानो थिति बुझेर फैसला लिन अह्राए । त्यसबाट पनि नभएमा मात्र प्रमाणहरु बटुलेर राज्यलाई पठाउन आदेश दिए ।

त्यसो हुनाले लोकधर्म, लोकसंस्कृति, लोकपरम्परा, स्थानीय धर्म, स्थानीय मान्यता, स्थानीय सीप, स्थानीय उत्पादनमा जोड दिए ।

माझकिराँतमा सबैभन्दा ठूलो लडाईं भयो । तर, त्यो क्षेत्रलाई किराँतीहरुले नभई सेनहरुले कजाएका थिए । सेनहरु पृथ्वीनारायण शाहकै सुसुराली खलक थिए । आफ्नै ससुरालीलाई जितेका थिए, उनले ।

मकवानपुरका राजा हेमकर्ण सेनको छोरी बिहे गरेका थिए । आफ्नै जेठान दिगबन्धन सेन अंग्रेजसँग मिल्न गए भनेर मकवानपुर विजयपछि छिँडीमा थुनेरै देहत्याग गर्न बाध्य बनाए ।

कुनै राज्य अंग्रेजसँग मिलेको थाहा पाए १/२ महिनामै कब्जा गरिसक्ने उनको रणनीति देखिन्छ । अहिलेसम्म पश्चिमा इसाईहरुले पृथ्वीनारायण शाहमाथि दागा धरिरहनुको कारण पनि त्यही हो ।

विजयपुर राज्यमा बुद्धिकर्ण राय राजा थिए । उनी पनि दिगबन्धन सेनकै जस्तो अंग्रेजसँग मिल्न गए । त्यसैले उनीविरुद्ध सैन्य प्रयोग गरेको देखिन्छ, पृथ्वीनारायण शाहले ।

जयप्रकाश मल्ललाई सहयोग गर्न आएको अंग्रेज फौजलाई सिन्धुलीगढीमा ढुकेर सखाप बनाइदिए ।

जब अरुण पारि तर्नुपर्‍यो, पृथ्वीनारायणले त्यतिबेलाका १० हाङहरुलाई पत्र लेखे । र, उनीहरुलाई ‘तुतुतुम्यााङ याङ्थुहाङका बडा सन्तान’ बताउँदै मुक्तकण्ठले प्रशंसा गरे । उनीहरुलाई कहिल्यै नमास्नु भनेका छन्, उनले । र, फकाई फुल्याई आफ्नो बनाउने नीति लिएका छन् ।

उनीहरुलाई कब्जामा लिँदा आश्रति राज्यका रुपमा स्वीकारेका छन् ।

मगरहरुलाई विचारी बनाउन नछुटाउनु, गुरुङहरुलाई उमराओ बनाउन नछुटाउनु, खान, खस, बाहुन, मगर, गुरुङ र ठकुरीहरुलाई आफ्ना बलिया सिपाही बताएका छन् । उनीहरुलाई मास्नु हुँदैन भनेका छन् । ठाउँ-ठाउँमा जिमिन्दारी दिँदै जित्दै गए किरातहरुलाई ।

त्यसैले स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने मुख्य श्रेय पनि पृथ्वीनारायण शाहलाई नै जान्छ ।

(संस्कृतिविद् डा. ढुंगेलसँगको कुराकानीमा आधारित)

२०७४ पुष २७ गते १०:२२ मा प्रकाशित (२०७४ पुष २८ गते १२:२६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Dileep Raj लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते ११:५८

    सुन्दैमा कती गर्ब लाग्छ !

    14
    9
    Share

  • झिल खिम्बुले राई किरात प्रदेश भोजपुर, लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १२:२२

    पंक्तिकारको विश्लेषण वस्तुगत नभई भावानात्मक कपोलकल्पित र एकल जातीय अर्थात नश्लिय प्रवृतिलाई उकार पुकार गर्ने सुनियोजित रचाहिता मात्र होl जसले बहुजातीय बहुभाषिक नेपाल भन्ने मुलुकमा आपसी सद्भाव भाइचारा गास्ने भन्दा विधसा मच्च्याउने प्रवृति पुनर्जीवित भएको पाइयो यो दृष्टिकोण प्रति आम उत्पीडित समुदायको एक मुस्ट खेप प्रकट छ lकथित एकिकरण को नाममा गर्व को बच्चालाई शत्रुता पूर्ण ब्याबहार गरि मार्ने नाक कान काटेर भाग लगाउने पसुगत दुराचार गर्ने व्यक्ति कसरि एकताको नायक भयो पंक्तिकार ज्यु?आदिवासी दलित महिला मधेशी मुस्लिम समुदायको लागि शाह नायक नभई खलनायक पात्र हुन् l

    17
    66
    Share

  • sanak raj लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १४:५९

    Kirtipur basi ko nakh kateko sete ho hoena? yathartha praman sahit lekhna saknu hunch?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this