Comments Add Comment

चितवनमा धान उत्पादन घट्यो, जग्गा खण्डीकरण र बाढी मुख्य कारण

२७ पुस, चितवन । अन्नको भण्डार मानिने चितवनमा धानको उत्पादन घट्दै जान थालेको छ । जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङका कारण खुम्चिँदै गएको धान उत्पादनमा यस बर्ष आएको बाढीले थप असर गरेको छ ।

यस बर्ष २९ हजार हेक्टरमा वर्र्षे धान खेती लगाइएकोमा ९७ हजार ४ सय ४० मेटि्रक टन मात्रैं धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामराज पौडेलले जानकारी दिए ।

यो उत्पादन अघिल्लो बर्षको तुलनामा ४ हजार ८ सय मेटि्रक टन कम हो । गएको साउन २८ र २९ गते आएको बाढीले चितवनको अधिकांश क्षेत्रमा लगाइएको धानबाली डुवानमा पारेको थियो । केही क्षेत्रमा धानखेत नै बगाएका कारणले उत्पादन घटेको र कतै रोग किरासमेत लागेर उत्पादनमा कमी आएको सूचना अधिकृत पौडेलले बताए ।

यस बर्ष जिल्लामा धानको टुप्पो र गाँज मर्ने रोग पनि लागेको प्राविधिकहरुले बताउँछन् ।

गत वर्ष २९ हजार २०० हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो भने यो वर्ष बाढीले २०० हेक्टर क्षेत्रफल जमिनमा क्षति पुर्‍याएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बाढीले सबैभन्दा बढी माडी क्षेत्रका खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठका अनुसार माडी क्षेत्रमा मात्रै करिब १०० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ । बाँकी १०० हेक्टर क्षेत्रफल पूर्वी चितवन तथा पश्चिम चितवनका खेतियोग्य जमिन रहेको उनले बताए ।

पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी उत्पादन हुने गर्छ । यो क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सिचाईको राम्रो सुविधा छ ।

पश्चिम चितवनमा धान खेती गर्ने क्षेत्र भए पनि सिचाईको सुविधा उपलब्ध नहुँदा एक सिजन मात्रै आकाशे पानीको भरमा खेती गर्नेपर्ने वाध्यता छ ।

नजिकै नारायणी नदी बगेपनि त्यहाँको पानी किसानहरुले प्रयोग गर्न पाएका छैनन् ।

चितवनको धान उत्पादनले चितवनसहित विभिन्न पहाडी जिल्लाहरूलाई पनि धानेको छ ।

चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसपछि राधा-४, हदीनाथ-१, सावा मन्सुली, रामधान (वार)लगायतका धान पनि उत्पादन हुँदै आएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिए ।

धान फल्ने खेत मासेर अनियन्त्रित प्लटिङ

धान वा अन्य खेतीबाट भन्दा जग्गा प्लटिङ गरेर मनग्ये आम्दानी गर्न सक्ने भएपछि पछिल्ला बर्षहरुमा चितवनमा जथाभावी प्लटिङको अभियान नै चलेको छ ।

तर, भरतपुर महानगरपालिकाले खेती योग्य जमिन प्लटिङका लागि ठोस योजना नल्याउँदा त्यसको मार खेती योग्य जमिनमा परेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले खेतीयोग्य जमिन माँसिदै जाँदा उत्पादन पनि घट्दै गएको बताए ।

कति जग्गा खण्डिकरण भयो भन्ने तथ्याङक महानगरपालिकासँग छैन । अत्यान्तै घोलखेत र वर्षाको समयमा पूरै डुवान हुने क्षेत्रमा समेत पछिल्लो समयमा प्लटिङ गर्न थालिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामराज पौंडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment