Comments Add Comment

दक्षिण एसियाली हस्तकला महोत्सव भोलिदेखि सुरु

२७ पुस, काठमाडौं । गरीबी निवारण कोषको आयोजनामा पुस अन्तिम साता काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव सुरु हुने भएको छ ।

२८ देखि ३० गतेसम्म हुने महोत्सवको मुख्य आकर्षण ‘नेपाल–को’ ब्राण्ड हुनेछ । नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल–को’ ब्राण्ड दिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागिएको हो ।

काठमाडौं, दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिनेछन् ।

कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरुका लागि बजार निर्माण परियोजना’ अन्तर्गत संगठित हुँदै विभिन्न सीप सिक्ने र आफ्नो उत्पादनको बजारलाई विस्तार गर्ने अवसर पाएका नेपाली कालीगढहरूको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो ।

द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्नेछ ।

कोषका कार्यकारी निर्देशक नहकुल केसी भने, ‘हस्तकला बजारमा ग्रामीण, विपन्न, भूमिहीन र द्व्रन्द्व–प्रभावित समुदायका कालीगढहरुको उत्पादनको हिस्सा बढाउनु हाम्रो उद्देश्य हो ।’

जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खा जिल्लामा सञ्चालित यो परियोजनामा समेटिएका कालीगढहरुले आप्mनो आय बढाउने र जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर पाएका छन् ।

यो परियोजनाअन्तर्गत कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत ७,५०० भन्दा बढी कालीगढको उत्पादनलाई बजारस“ग जोड्दै तिनको जीवनस्तरमा सुधार गरेको छ । हरेक समूहमा २० देखि २५ कालीगढ आवद्ध छन् र तिनले आ–आफ्नो क्षेत्रमा उद्यम गरेका छन् । उनीहरुलाई मद्दत गर्न कोषले १० वटा साझा सेवा केन्द्र पनि सञ्चालन गरेको छ ।

परियोजनाको सहयोगप्राप्त कालीगढको सिर्जनाको प्रदर्शनीसँगै बिक्री पनि गरिनेछ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्वारा उद्घाटित हुने महोत्सवमा अल्लो, लोक्ता, ऊन, ढाका र माटोका सामाग्रीस“गै मिथिला चित्रकला पनि प्रदर्शन गरिनेछ ।

आफ्नो कलात्मक हस्तकलाको प्रवद्र्धन र बिक्रीका लागि महोत्सवमा सहभागी हुन आउने कालीगढहरुसँग भेट्ने र तिनको अनुभव सुन्ने अवसर पनि महोत्सवले जुराउनेछ ।

साथै, ग्रामीण अर्थतन्त्र, महिला उद्दमशीलता, सांस्कृतिक उद्योग र सम्भावनाबारे अन्तरसंवाद पनि महोत्सवको अर्को महत्वपूर्ण हिस्सा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment